RSS

नयाँ वर्षको सुभकामना राष्ट्रपति देखि पुर्व राजा सम्म सवैको आ आफनै तर्क

14 Apr

समाधानको एकमात्र अचूक सूत्र आपसी एकता र मेलमिलाप नै हो : राष्ट्रपति
काठमाडौं, वैशाख १ – राष्ट्रपति रामवरण यादवले सन्देशमा संवादलाई जोड दिएका छन्। उनले चुनौति र समस्याहरुलाई खुल्ला टेबुलमा फिंजाएर सम्वादको माध्यमबाट समाधानका उपाया पहिल्याउने प्रयास गरिनुपर्ने जरुरी रहेको बताएका छन्।
विक्रम सम्बत २०६७ को अबसरमा दिएको शुभकामना सन्देशमा यादवले अहिलेको खाँचो आपसी मेल र राष्ट्रिय एकता हो भने बेमेल अस्वस्थ्य प्रतिस्पर्धा चुनौति भएको बताएका छन्।
‘अन्तरिम संविधानले तोकेको समय र मान्यताभित्र रहेर नयाँ संविधान बनाई लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नु पर्ने नयाँ नेपालको दुरगामी यात्रा बीचबाटोमै अल्मलिने हो कि भन्ने आशंकाले आम नेपालीलाई पिरोलीरहेको छ’, यादवले भनेका छन्।
नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई गन्तव्यसम्म पुर्‍याउने कार्यमा अपेक्षित सफलता हासिल हुन नसके तापनि त्यस सन्दर्भमा कयौं महत्वपूर्ण कार्यहरु सम्पन्न भएको सन्देशमा उल्लेख छ। राजनीतिक संवदहरु निरन्तर रहेकाले त्यसलाई उनले सकरात्मक भएको उल्लेख गरेका छन्।’जनआन्दोलनको महान उपलब्धिका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रको महत्वलाई सही ढंगबाट आत्मसात् गर्न सकेको खण्डमा मुलुक सामु विद्यमान राजनीति संकटको निकास पहिल्याउने कठिन हुने छैन’, यादवले भनेका छन्- ‘त्यस निम्ति, हाम्रा चुनौति र समस्याहरुलाई खुल्ला टेबुलमा फिँजाएर सम्वादको माध्यमबाट सामाधानका उपायहरु पहिल्याउने प्रयास गरिनु जरुरी छ। समाधानको एकमात्र अचूक सूत्र आपसी एकता र मेलमिलाप नै हो।’

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण अंश-
शुभकामना सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू †

हामीले आजदेखि विक्रम सम्बत् २०६६ साललाई विदा गरी २०६७ सालमा प्रवेश गरेका छौँ। नव वर्षको यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। नयाँ वर्ष हामी सबैको जीवनमा सुख, समृद्धि र उज्याला सम्भावनाहरू बोकेर प्रवेश गर्न सकोस् भन्ने कामना गर्दछु।
हामी ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात संविधानसभामार्फत देशमा दिगो शान्तिको स्थापना गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अग्रसर छौँ। हामीले नयाँ वर्षमा प्रवेश गरे पनि हाम्रा कतिपय महत्वपूर्ण कार्यभारहरू पूरा गर्न बाँकी छ। शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याई नयाँ संविधान जारी गर्न डेढ महिना मात्र बाँकी छ। यस्तो अवस्थ्ाामा आफ्ना सामु रहेका कार्यभारहरू सफलताका साथ पूरा गर्न दलहरूका बीचमा उच्चस्तरको जिम्मेवारीबोध, सहमति र सहकार्यको आवश्यकता छ। हाम्रा सामु रहेका राष्ट्रिय कार्यभार पूरा गर्दै मुलुकलाई निर्धारित गन्तव्यमा पुर्‍याउने कार्यमा आ-आफ्नो ठाउँबाट योगदान गर्न म सम्पूर्ण जनसमुदायलाई आह्वान गर्दछु।
हामी सबैलाई थाहा छ- नयाँ संविधान निर्माणका लागि सर्वप्रथम शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनुपर्दछ। विस्तृत शान्ति सम्झौता र त्यसका आधारमा भएका सहमति-सम्झौता अनुरूप इमानदारीका साथ अघि बढ्ने हो भने हामी यो काम सम्पन्न गर्न सक्दछौँ। अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनःस्थापना नगरी शान्ति प्रक्रियालाई टुङ्ग्याउन सकिँदैन। त्यसका लागि विशेष समितिमा कार्ययोजनासमेत पेस भइसकेको छ। सम्बन्धित पक्षले यसलाई गम्भीर रूपमा लिई तदारुकताका साथ काम गर्ने हो भने समायोजन र पुनःस्थापनाको काम छोटो समयमै पूरा गर्न सकिन्छ भन्नेमा म आशावादी छु।
संविधान निर्माणका लागि सार्वभौम संविधानसभा क्रियाशील छ। तर, दलहरूका बीचमा राज्यको पुःनसंरचना, शासकीय स्वरूप, शासन प्रणालीजस्ता प्रश्नहरूमा सहमति कायम नभएका कारण संविधान निर्माणको प्रक्रियाले गति लिन सकिरहेको छैन। म यसतर्फ गम्भीर भएर आ-आफन्ो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु। यस सन्दर्भमा आवश्यक भूमिका निर्वाह गर्न सरकार सधैँ तयार रहेको कुरा स्पष्ट पार्न चाहन्छु।
ल्ाोकतन्त्र, शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणको यात्रा हामी आफैँले तय गरेका हौँ। शान्ति प्रक्रियाका लागि हामीले विगतमा अनेक जोखिम मोलेका थियौँ। यो प्रक्रिया आरम्भ गर्नेमध्येका एक गिरिजाप्रसाद कोइराला अहिले हामीबीच हुनुहुन्न। आज यसलाई सार्थक निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पनि हाम्रै हो। इमानदारीका साथ खुलस्त भएर एउटै टेबुलमा बस्ने हो भने आपसी अविश्वास हटाउन सकिन्छ, एक-अर्काका कुरामा सहमत हुन सकिन्छ र नयाँ निष्कर्ष निकाल्न सकिन्छ। तर, त्यसका लागि सबैले आ-आफ्नो हठ र सङ्कीर्ण स्वार्थबाट माथि उठ्नैपर्दछ।
सहमति र सहकार्यको कुनै विकल्प छैन। विगतमा विपरीत ध्रुवमा उभिएका राजनीतिक दलहरू लोकतन्त्र र बृहत्तर राष्ट्रिय हितका लागि एउटै मोर्चामा गोलबन्द हुन तयार भएकै कारण एकता, सहमति र सहकार्य भएको थियो। जतिबेला दलहरूका बीचमा सहमति र सहकार्य हुन्छ, त्यतिबेला नेपाली जनताले निकै ठूला उपलब्धिहरू हासिल गरेका छन्। तर, दलहरूका बीचमा बेमेल र द्वन्द्व भएको बेला जनताले हारेका छन्, जनविरोधी तत्वले जितेका छन्। यही यथार्थलाई आत्मसात् गर्दै आउनुहोस्, देश र जनताका लागि फेरि सबै मिलेर साझा निष्कर्ष निकालौँ, साझा सङ्कल्प गरौँ र सहमतिका साथ अघि बढौँ। संविधानको सर्वोच्चता, कानुनको शासन, समावेशी र न्यायपूर्ण सामाजिक-राजनीतिक पद्दतिको स्थापना, संघात्मक शासन प्रणाली, धर्मनिरपेक्षता, बहुलवाद, न्यायपालिकाको स्वायत्तता, प्रेस स्वतन्त्रता, नियन्त्रण र सन्तुलनको सिद्धान्तप्रतिको दृढ प्रतिबद्धताका सवालमा साझा सहमति कायम गर्दै अगाडि बढ्न म सम्पूर्ण राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्दछु।
मुलुकमा विकसित नयाँ परिस्थितिमा एउटा सरकारले सत्ता छोडेपछि नयाँ सरकार बन्ने नितान्त नियमित र स्वाभाविक संवैधानिक प्रक्रिया अन्तर्गत म २२ राजनीतिक दलको सहमति र समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको हुँ। मुलुक मुठभेडमा जान सक्ने खतरा रहेको अवस्थामा मैले जिम्मेवारी सम्हाल्नुपरेको थियो। यसबीचमा अनेकौँ जटिल अवस्थाको सामना गर्दै मैले मुलुकलाई मुठभेडमा जानबाट रोक्न र सहमतिको तोडिएको शृङ्खलालाई पुनः जोड्नका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस गर्दै आएको छु। सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसद्बाट निर्वाचित सरकारलाई अनेक किसिमले लाञ्छित गर्दा र व्यक्तिगत रूपमा आफूमाथि अनेक प्रकारका आक्षेपहरू लगाइँदा पनि संयम र धैर्य गुमाउनु हुन्न भन्ने मान्यताका साथ मैले सहमतिका लागि अधिकतम लचकता प्रदर्शन गर्न कुनै कसर बाँकी राखेको छैन। म विश्वास दिलाउन चाहन्छु- खुला हृदयका साथ एउटै ठाउँमा बस्दा निस्किने सहमतिपूर्ण निष्कर्षलाई आत्मसात् गर्न म सदैव तत्पर छु। तर, यसको अर्थ अतिवादका सामु घुँडा टेकेर आत्मसमर्पण गर्नुपर्दछ भन्ने कदापि हुन सक्दैन। सबैखाले अतिवादलाई परास्त गरेर नै शान्ति, लोकतन्त्र र अग्रगमनलाई सुनिश्चित गर्न सकिन्छ भन्नेमा म दृढ छु।
नागरिकको जीउ-धनको सुरक्षा, सुशासनको प्रबर्द्धन, भ्रष्टाचार नियन्त्रण, ढिलासुस्तीको अन्त्य, कानुनको पूर्ण पालना, मानवअधिकारको रक्षा जस्ता आफ्ना जिम्मेवारीहरू दृढतापूर्वक पूरा गर्न म निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सम्पूर्ण राष्ट्रसेवकहरूलाई आह्वान गर्दछु। जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताको रक्षा गर्नु सरकारको दायित्व हो। यस दायित्वबाट सरकार कदाचित विमुख हुन सक्दैन। सङ्क्रमणकालीन यस अवस्थामा अझ बढी जिम्मेवारीबोध, इमानदारी, कर्तव्यपरायणता र समर्पणका साथ जनताको सेवामा जुट्न म सबैसँग आग्रह गर्दछु।
नयाँ वर्ष २०६७ मा हामी सबैले सबल, समृद्ध, शान्त र स्वाभिमानपूर्ण नेपालको निर्माण गर्न अग्रगामी मार्गमा पाइला चाल्न सकौँ, महत्वपूर्ण राष्ट्रिय कार्यभारहरू पूरा गर्न पुनः एक ठाउँमा उभिन सकौँ र मुलुकको सार्वभौमसत्ता, अखण्डता र अक्षुण्णताको रक्षाका लागि एउटै निष्कर्ष निकाल्न सकौँ।
हामी आशा तथा विश्वास गरौँ- नयाँ वर्षमाः
• दलहरुका बीचको सहमति र सहकार्यलाई निरन्तरता दिइनेछ।
• शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याइनेछ।
• जनचाहना अनुरुपको नयाँ संविधान निर्माण गरिनेछ।
• राष्ट्रिय अर्थतन्त्रलाई पुनःजीवन प्रदान गरिनेछ।
• द्वन्द्वको तिक्तता र कटुतालाई मेलमिलापयुक्त सामाजिक पद्दतिमा रुपान्तरण गरिनेछ।
• द्वन्द्वपीडितहरुलाई राहत र न्यायको अनुभूति दिलाइनेछ।
• समृद्ध र सबल नेपालको जग निर्माण गरिनेछ।

व्यापक राष्ट्रिय सहमति, सहकार्य र एकताका लागि सम्पूर्ण राजनीतिक दल, विभिन्न समुदाय र आमजनतालाई अपिल गर्दै पुनः सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना दिन चाहन्छु।
धन्यवाद †
माधवकुमार नेपाल
२०६७ वैशाख १
नेपाली जनताको मनोकांक्षा अनुरुप राज्य प्रणाली बनोस ज्ञानेन्द्र
काठमाडौं, वैशाख १ – पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनता जसबाट राजी हुन्छ त्यसैमा रहनु सनातनी धर्म र आदर्श भएको बताएका छन्।
नयाँ वर्ष २०६७ को अवसरमा शुभकामना सन्देश दिंदै नेपालीले मौलिक मानवी स्वतन्त्रता राख्न पाउनु पर्ने नै प्रजातन्त्रको सुन्दर अलंकार भएको शाहले बताएका छन्। ‘नयाँ वर्षको विहानीले हामीलाई विगतको अनुभव संगालेर भएका कमी कमजोरीलाई सच्चाई अघिबढ्ने अवसर प्रदान गर्दछ। राष्ट्र निर्माण एवं राष्ट्रहितमा मेरो पूर्खाबाट भए गरेका कार्यहरुबाट आम नेपाली लाभान्वित भएकै हुनुपर्दछ’, उनले भनेका छन्- ‘समग्र नेपाल एक होस्, सम्पूर्ण नेपालीको समन्वय माला आपस्तमा गाँसियोस, सुन्दर शान्त नेपाल सृजना होस र नेपाली जनताको मनोकांक्षा अनुरुप राज्य प्रणाली बनोस भन्ने नै मेरो सदाशयता हो।’

प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई परास्त गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न नयाँ वर्ष २०६७ ले सबैमा थप प्रेरणा प्रदान गर्ने : दाहाल
काठमाडौँ, वैशाख १ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वास्तविक शान्तिको कामना गरेका छन्। दाहालले शुभकामना सन्देश दिंदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सेना समायोजनसहितको वास्तविक शान्ति र जनपक्षीय संविधानको सुनिश्चितताको लागि सबैखाले प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई परास्त गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न नयाँ वर्ष २०६७ ले सबैमा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताएका छन्।
लोकतन्त्र साकार होस् : पौडेल
त्यसैगरी कांग्रेस उप-सभापति रामचन्द्र पौडेलले नयाँ वर्षले नयाँ संविधान निर्माण गरी दिगो शान्ति र लोकतन्त्र साकार पार्न सबैलाई प्रेरणा मिलोस भनि शुभकामना व्यक्त गरेका छन्।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: