RSS

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म दलहरुसँग वार्ता गर्दैनौँ ः गुरुङ, प्रधानमन्त्रीको राजीनामा तत्काल आउँदैन ः महासेठ, पहिला राष्ट्रिय सहमति, त्यसपछि मात्रै सहमतिको सरकार ः राणा

13 May

काठमाडौं, ३० वैशाख
माओवादी स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा आएसम्म प्रमुख दलहरुसँग औपचारिक वार्तामा नबस्ने घोषणा गरेकाछन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि लचकता देखाएको भोलिपल्ट रिपोर्टर्स क्लब नेपालद्वारा विहीवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङ्ले राजनीतिक गतिरोधको कारण छिमेकी मुलुक भारत रहेको समेत आरोप लगाएका छन् ।
‘प्रधानमन्त्रीले राजीनामा दिएर मात्रै निकासको ढोका खोल्नुपर्छ, राजीनामा नआएसम्म हामी दलहरुसँग सरकारसँग मात्रै हैन, दुई दलका शीर्ष नेताहरुसँग पनि औपचारिक वार्तामा पनि बस्दैनौँ’ गुरुङ्ले भने ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गुरुङले यही अवस्थामा संविधानसभाको म्याद थपिए पनि संविधान निर्माण सम्भव नहुने बताए । तर, बर्तमान सरकारले म्याद थपको प्रयास गरेमा उनीहरुको सहयोग हुने वा असहयोग ? स्पष्ट पारेनन् । ‘सहमति भएमा म्याद थप्न हामी तयार छौँ’ गुरुङले यतिमात्रै भने । संसदबादी प्रमुख दलहरु कांग्रेस र एमालेको चिन्तनका कारण गतिरोध लम्बिएको गुरुङको आरोप थियो । अहिलेसम्म समय अभावका कारण संविधान निर्माणमा ढिलाई नभएको दाबी गर्दै गुरुङले दलहरुबाट असान्दर्भिक बिषय र शर्त राखिएका कारण ढिलाई भएको आरोप लगाए ।
‘राष्ट्रपतिको प्रकरण पछि सत्तापक्ष र प्रतिपक्षको मान्यता थोपरिका कारण संविधान निर्माण हुन समस्या भएको हो’ गुरुङले भने, ‘दलहरु गैर जिम्मेबार भएका छन्, सहमतिय प्रणालीमा उनीहरु नआएसम्म संविधान निर्माण सम्भव छैन ।’ १४जेठपछि राष्ट्रपतिको शासनका बारे चर्चा चलिरहेका बेला नेता गुरुङले त्यसलाई प्रतिगामी चिन्तनको आरोप लगाए । ‘अन्तरिम संविधान, विगतमा भएका सहमतिहरुमा राष्ट्रपति शासनको परिकल्पना छैन, त्यस्तो शोच्नु नै प्रतिगामी चिन्तन हो’ गुरुङको भनाई थियो ।
नेकपा एमालेका नेता रघुवीर महासेठले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामाले मात्रै समस्याको समाधान नहुने जिकिर गर्दै तत्काल प्रधानमन्त्रीको राजीनामा सम्भव नभएको दाबी गरे ।
‘माओवादीको गतिविधि हेर्दा तत्कालै प्रधानमन्त्रीको राजीनामा आउन सक्दैन र राजीनामाको हठ सही पनि छैन’ सत्तारुढ दलका नेता महासेठले भने, ‘जेठ १ देखि बस्ने पार्टीको केन्द्रिय कमिटिको बैठले यस बिषयमा टुंगो लगाउँछ, अहिले मैले भने पनि झलनाथजीले भने पनि राजीनामा आउँदैन ।’
वर्तमान सरकारको निरन्तरताका पक्षमा एमाले पनि नरहे पनि प्रधानमन्त्री माधवकुमार नेपालले नै संविधानसभाको म्याद थपको प्रस्ताब गर्ने उनले खुलासा गरे । ‘तर, म्याद थप गरेर मात्रै हुँदैन, सहमति कायम हुनुपर्छ’ उनले भने । यतिबेला सरकार भएको अनुभूति आमजनतामा नभएको बताउँदै महासेठले त्यसको दोष एमाले, प्रधानमन्त्रीलाई मात्रै लगाउनु गलत भएको जिकिर गरे । तर, सहमतिको उपयुक्त वातावरण बनेपछि सरकारले निकासका लागि बाटो खुल्ला गर्नुपर्नेमा उनको जोड थियो ।
१२ बुँदे समझदारी भए यताका सबै सहमति र सम्झौताहरुको इमान्दारीपूर्वक कार्यान्वयन नभएको नेता महासेठले आरोप लगाए । ‘एमाले, कांग्रेस, माओवादी कसैले पनि सहमति र सम्झौताको पालना गरेनन्’ उनले भने, ‘त्यसकारण, सहमतिको बिकल्प छैन र माअ‍ोवादी पनि संविधानसभाको प्रक्रियाबाट सबै समस्या समाधान खोज्नका लागि तयार भएर आउनुपर्छ ।’ १४ जेठपछि राष्ट्रपति शासन कुनै पनि हालतमा सम्भव नभएको दाबी गर्दै महासेठले भने, ‘यदि त्यस्तो भएमा जनताले आमूल परिवर्तनका पक्षमा आन्दोलन गर्नेछन्, नयाँ परिस्थिति सिर्जना हुनेछ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले समयबद्ध कार्यतालिकासहितको ठोस सहमति भएपछि मात्रै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताए । ‘पहिला सहमति, त्यसपछि सरकार गठन गर्नुपर्छ भन्ने मेरो स्पष्ट दृष्टिकोण हो’ राणाले भने ।
प्रधानमन्त्री माधवकुमार नेपाल संविधानसभाको म्याद थपेर संवैधानिक रिक्तता पूरा गर्ने पक्षमा रहेको बताउँदै राणाले न्यूनतम तीन महिनाका लागि म्याद थप गरेर अघि बढ्न आफूले सुझाब दिएको बताए । प्रधानमन्त्री नेपालसँग आजै भेटवार्ता गरेका राणाले भने, ‘प्रचण्डले भनेजस्तो एकबर्षसम्म प्रधानमन्त्रीको कुर्शीमा बस्ने माधव नेपालजीको कुनै इच्छा छैन, बरु प्रचण्डजीको कुरा सुनेर त उहाँ आश्चर्यमा हुनुहुन्छ ।’
दलहरुबीच वार्ताप्रक्रिया अबरुद्ध भएमा आफूले सहमतिका लागि भूमिका निर्वाह गर्ने पनि राणाले घोषणा गरे । ‘राजसंस्था रहेका बेला पनि मैले सहमतिका लागि पहल गरेकै हुँ, राष्ट्रिय सहमतिका लागि म अहिले पनि भूमिका निर्वाह गर्न तयार छु’ राणाले भने ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राजनीतिक दलहरुबीचको सहमति र सहकार्यबाट आगामी १४ जेठपछि उत्पन्न हुने राजनीतिक जटिलताको अन्त्य गर्नुपर्ने बताए । उनले सबै दलहरु सहमतिका लागि लचक भएर प्रस्तुत हुनुपर्नेमा समेत जोड दिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: