RSS

चार नेटवर्किङ कम्पनीको इजाजत रद्द

25 May

काठमाडौ, ११, जेष्ठ -वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेटवर्क मार्केटिङ व्यवसायसम्बन्धी निर्देशिका- २०६६ खारेज गरी चार कम्पनीको इजाजत खारेज गरेको छ । वाणिज्य मन्त्रालयले समितिको सिफारिसमा हर्बो इन्टरनेसनल प्रालि, वेस्ट वल्र्ड बिजनेस लिंक, क्रिस्टल भिजन इन्टरनेसनल लिमिटेड, रोबियस इन्टरनेसनल प्रालिलाई नेटवर्किङ व्यवसाय गर्न दिएको इजाजत खारेज गरेको छ । वाणिज्य विभागले सोमबार ती कम्पनीलाई पत्र पठाई नेटवर्किङ व्यवसाय गर्न दिएको इजाजत खारेज भएको भन्दै कारोबार बन्द गर्न निर्देशन दिएको हो । ‘नेटवर्किङ व्यवसाय गर्न दिने निर्देशिका खारेज भएपछि ती कम्पनीलाई दिइएको इजाजत स्वतः खारेज भएको छ,’ वाणिज्य मन्त्रालयका सहसचिव सूर्यप्रसाद सिलवालले भने । ती कम्पनीले निर्देशिकाविपरीत सदस्यता शुल्क लिएको र नेटवर्किङ व्यवसाय गर्न दिने कानुन नभएकाले निर्देशिका र खारेज इजाजत खारेज गरिएको वाणिज्यका अधिकारीले जनाए । सहसचिव सिलवालका अनुसार ती कम्पनीले ठगी गरेको उजुरी सदस्यहरूबाट आएमा वाणिज्य विभागले कानुनबमोजिम कारबाही गर्ने र पीडितको रकम फिर्ता गर्ने कार्य गर्नेछ । ती चार कम्पनीले विभागमा २५/२५ लाख रुपैयाँ धरौटी राखेका छन् । ठगीको दाबीसहित उजुरी आए ती कम्पनीको धरौटी रोकिने र उजुरी नआए विभागले धरौटी फिर्ता गरिदिने सिलवालले जनाए ।
निर्देशिका खारेज भएका कारण नेटवर्किङ व्यवसाय गर्न इजाजत लिन अरू थप चार कम्पनीले गरिरहेको प्रयाससमेत अवरुद्ध भएको छ । इजी मल्टी ट्रेड, ओरिफ्लेम कस्मेटिक प्रालि र न्यु विवेक इन्टरप्राइजेजले आफ्नो कम्पनीको उद्देश्यमा नेटवर्किङ व्यवसाय राखी इजाजत लिने प्रक्रिया अघि बढाएका थिए । तर यी कम्पनीले नेटवर्किङ व्यवसाय भने पहिल्यैदेखि गर्दै आएका छन् । अर्को नयाँ कम्पनी क्वान्टम एक्सेल प्रालिले समेत नेटवर्किङ व्यवसाय गर्न दिन माग गर्दै वाणिज्य विभागमा आवेदन दिएको छ ।
नेटवर्किङ व्यवसायमाथि नै प्रतिबन्ध लागेका कारण अब ती चार कम्पनीले इजाजत पाउने छैनन् । विभागले तीनवटा कम्पनीलाई इजाजतअघि नै सुरु गरेको नेटवर्किङ व्यवसायसमेत बन्द गर्न निर्देशन दिने र नगरे कारबाही गर्ने जानकारी वाणिज्यका अधिकारीले दिए ।
वाणिज्य मन्त्रालयले सबै प्रकारका नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको जानकारी गराउँदै नेटवर्किङ कम्पनीहरूबाट ठगी र गैरकानुनी काम भएको पाए कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । उसले गृहलाई सोमबार पत्र पठाएर त्यस्तो आग्रह गरेको हो । वाणिज्य मन्त्रालयले कानुन नभए पनि गत माघमा निर्देशिका जारी गरी ती कम्पनीको व्यवसायलाई वैधता दिएको थियो । कानुन नभई निर्देशिकाका भरमा मात्र नेटवर्किङ व्यवसाय गर्न दिनु गैरकानुनी भएको आवाज उठेपछि वाणिज्य मन्त्रालय निर्देशिका खारेज गर्न बाध्य भएको हो ।
नेटवर्किङ व्यवसाय गर्ने इजाजत खारेज भएको हर्बो इन्टरनेसनल प्रालिमा अध्यक्ष गोकुल श्रेष्ठ, उपाध्यक्ष पुष्पराज पौडेल, निर्देशकहरूमा नेत्रपाणी बाँस्तोला, वसन्त पण्डित, पुनप्रभात सुवेदी, शम्भुकुमार छेत्री र विष्णुकुमार श्रेष्ठ छन् ।हर्बोले हर्बल चिया, साबुन, सौन्दर्य प्रसाधन बेच्दै आएको थियो । उसले इजाजत लिँदा वाणिज्य विभागमा आफ्नो जारी पुँजी १ करोड र अधिकृत पुँजी १० करोड रुपैयाँ तथा देशभर ८१ हजार सदस्य रहेको उल्लेख गरेको छ । हर्बो स्रोतका अनुसार उसका एक लाख सदस्य छन् ।
रोबियस इन्टरनेसनल प्रालिका सञ्चालकमा सन्तोष तामाङ, कुमार तामाङ, सुमन श्रेष्ठ र अम्बिका कोइराला छन् । उसले वाणिज्य विभागमा इजाजत लिँदा आफ्ना १७ हजार सदस्य रहेको र जारी पुँजी २५ लाख तथा अधिकृत पुँजी १ करोड रुपैयाँ रहेको उल्लेख गरेको छ । रोबियस स्रोतका अनुसार उसका ४० हजार सदस्य छन् । उसले आफ्ना सदस्यबीच एलोबेरा (घीउकुमारी) का विभिन्न उत्पादन बिक्री गर्दै आएको छ ।
क्रिस्टल भिजनमा एक जनामात्र सञ्चालक सुरेन्द्रकुमार कुरुङवाङ छन् । उसले इजाजत लिँदा विभागलाई दिएको जानकारीअनुसार उसका २५ हजार ५ सदस्य र जारी तथा चुक्ता पुँजी १०/१० करोड रुपैयाँ रहेको उल्लेख गरेको छ । क्रिस्टलले विभिन्न जडीबुटीका उत्पादन क्रिस्टल शक्तिप्रास, गि्रन टी, फेसियल क्रिम, टुथपेस्ट, सर्बतलगायतका सामान बिक्री गर्दै आएको छ ।
लिंक (बीडब्लूबीएल) मा रुककुमार छेत्री र हेमराज आचार्य सञ्चालक छन् । उसले विभागमा इजाजत लिँदा १६ हजार सदस्य र जारी पुँजी ४० लाख र अधिकृत पुँजी करोड रुपैयाँ रहेको उल्लेख गरेको छ । उसले आफ्ना सदस्यबीचमा फ्रिज, रेफ्रिजेरेटर, भान्साका सामान बिक्री गर्ने गरेको छ । बीडब्लूबीएल स्रोतका अनुसार उसका ८० हजार सदस्य छन् । नेटवर्किङ व्यवसाय गर्ने सानाठूला गरी ७० वटा कम्पनी छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: