RSS

मध्यमार्गी सहमतिमा संविधानसभाको कार्यकाल थप ,संविधान बन्नेमा अझै आशंका

29 May

काठमाडौ, जेष्ठ १५ – प्रधानमन्त्रीको राजीनामा प्रमुख सर्त बनाएको माओवादी र प्याकेजमै समाधानको अडानमा रहेका सत्तारूढ कांग्रेस-एमालेबीच अन्ततः मध्यमार्गी सहमति भएको छ । फलस्वरूप संविधानसभाको कार्यकाल थपिएको छ ।
उनीहरूबीच शान्ति र संविधान निर्माणका बाँकी काम मिलेर अघि बढाउने र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिने सुनिश्चितता भएपछि सहमति भएको हो । वार्तामा संलग्न उच्च स्रोत भन्छ- राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले आउँदो सोमबारभित्र राजीनामा दिने सम्भावना छ । सहमतिमा पुग्न दलहरूले गरेको ढिलाइका कारण संविधानसभा विधिवत रूपमा अन्त हुन करिब १७ मिनेट बाँकी रहँदा शुक्रबार राति ११.४३ बजे संसद् बैठक बसेको थियो । म्याद थपको प्रक्रिया पूरा गर्न बसेका दुई बैठक सकिँदा १ः३० बजेको थियो ।
सदनले विधेयकमाथि छलफलका लागि ७२ घन्टा समय दिनुपर्ने कार्यव्यवस्था नियमावलीको प्रावधान निलम्बन गरी छोटो प्रक्रियाबाट संविधान संशोधन गरेको हो । अन्तरिम संविधानको धारा ६४ संशोधन भएपछि संविधानसभाको कार्यकाल २०६८ जेठ १४ सम्म थपिएको छ । त्यसपछि पनि संकटकालीन अवस्थामा ६ महिना विस्तार हुनसक्ने विशेष व्यवस्था भने कायमै छ । सदनमा उपस्थित ५ सय ८५ सभासदमध्ये संविधानसभाको कार्यकाल थप्ने पक्षमा ५ सय ८० सभासदले मतदान गरेका थिए । राप्रपा नेपालका ४ र स्वतन्त्र निर्वाचित भई तमलोपामा प्रवेश गरेका सभासद बबन सिंहले विपक्षमा मत दिए ।
संविधानसभाका तीन ठूला दल माओवादी, कांग्रेस र एमालेबीच शुक्रबार राति ११ बजेतिर संविधानसभाको म्याद थप्ने सहमति भएको थियो । सहमतिमा ऐतिहासिक जनआन्दोलनको जनादेश, अन्तरिम संविधान, लोकतन्त्र, दिगो शान्ति र विस्तृत शान्ति सम्झौताअनुरूप अघि बढ्ने तीनबुँदे प्रतिबद्धता जनाएका छन् ।
सहमतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन बाँकी कामहरू सहमति र सहकार्यका आधारमा गर्ने, संविधानसभाको कार्यकाल एक वर्ष थप्ने र राष्ट्रिय सहमतिको सरकारका लागि सहमतिका आधारमा प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहने उल्लेख छ । शान्ति प्रक्रियाअन्तर्गत शिविरमा रहेका लडाकु समायोजन र व्यवस्थापन, वाईसीएलको अर्धसैनिक संरचना अन्त, माओवादीबाट कब्जा भएको सम्पत्ति फिर्ता र विभिन्न संवैधानिक आयोगहरूको निर्माण गर्ने बैठकका सहभागीहरूले बताएका छन् ।
कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले यी कार्यका लागि माओवादीले स्पष्ट र ठोस कार्ययोजना पेस गर्नुपर्ने र त्यसका आधारमा सहमति खोजिने बताए । त्यसैगरी संविधान निर्माणका आधारभूत सिद्धान्त र विवादका विषयमा सहमति गर्नुपर्ने छ । ‘यी सबै विषयमा प्याकेजमा सहमति भएपछि मात्र राष्ट्रिय सहमतिको सरकारको ढोका खुल्छ,’ उनले संवाददाताहरूसँग भने, ‘त्यस्तो सहमति भए तीन दिनभित्रै पनि राजीनामा आउन सक्छ । बढीमा सात दिन लाग्न सक्छ ।’
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सहमतिको बाटोमा अघि बढ्ने नयाँ चक्र सुरु भएको बताए । उनले तीनको सहमतिबाट बहुमतीय प्रणाली अन्त गरी सहमतीय प्रणालीमा गएको सन्देश दिएको बताए । ‘सहमतीय प्रणालीले संविधान बन्ने सुनिश्चितता हुन्छ,’ भट्टराईले भने ।

संविधान बन्नेमा अझै आशंका

काठमाण्डौं १५ जेष्ठ । संविधानसभाको म्याद थपिन्छ कि थपिदैन भनेर आम-नागरिकलाई सताएको चिन्ता गएराति देखि हटे पनि थपिएको अवधिमा नयाँ संविधान बन्ला कि नबन्ला भन्ने आशंका सुरु भएको छ । गएराति अवेर ३ दलका विचमा भएको सहमति पछि संविधान संशोधन गरी संविधानसभाको म्याद १ वर्ष थपिएपछि एउटा चिन्ताको समाप्ति संगै अर्को आशंका सुरु भएको हो । संविधानसभाको कार्यकाल पहिलो बैठक बसेको ३ वर्ष हुने गरी अन्तरिम संविधानको धारा ६४ संशोधन पछि २०६८ साल जेष्ठ १४ गतेसम्म म्याद थपिएको छ । राति अवेरसम्म पनि आ-आफ्नै अडानमा रहेका ठुला ३ दलले राति ११ बजे ३ बुदे सहमति पत्रमा हस्ताक्षर गर्दै संविधानसभाको म्याद थपेका हुन् । ३ बुदे सहमति पत्रमा शान्ति-प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनका लागि बाकि कामहरु अबिलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणलो एतिहासिक जिम्मेवारी पुरा गर्न सहमति र सहकार्यका साथ अगाडि बढ्न ढ्रिढ रहेको उल्लेख गरिएको छ । संविधान निर्माणको काम पुरा नभएकाले एक वर्ष म्याद थप्न र राष्ट्रिय सहमतिको सरकार गठन गरी अगाडि बढ्न प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिन तत्पर रहेको लिखित सहमति सहित ३दलका शिर्ष नेताहरुले हस्ताक्षर गरेपछि संविधानसभाको म्याद थपिएको हो संविधानसभाको म्याद थप्न संसदमा पेश भएको संविधान संशोधन विद्येयक सदनबाट मतदानबाट पारित गर्नका लागि लिएको मतदानमा ६ सय १ सभासदहरु मध्ये ५ सय ८० जना सभासदहरुले संविधानसभाको म्याद थप्न मतदान गरेका थिए भने विपक्षमा ५ जनाले मतदान गरेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: