RSS

कामदार फर्काउने कम्पनीलाई कालोसूचीमा राख्न सुझाव

08 Jun

नागरिक-

काठमाडौं, जेठ २५ वैदेशिक रोजगारबारे अध्ययन गर्न गठित एक उच्चस्तरीय समितिले विदेशी रोजगारदाता कम्पनीले धेरै कामदार फर्काए त्यसलाई कालोसूचीमा राख्न सरकारलाई सुझाव दिएको छ।
समितिले यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कामदार पठाउने कार्य रोक्न सुझाव दिएको हो। एउटै रोजगारदाता कम्पनीले धेरै कामदार फर्काउँदा पनि कामदार पठाउने क्रम नरोकिएपछि समितिले यो सुझाव दिएको हो। समितिले रोजगारदाता कम्पनीलाई समेत वैदेशिक रोजगार विभागमा दर्ता गर्ने कार्य सुरु गर्न सुझाव दिएको छ।
राष्ट्रिय योजना आयोगका सदस्य तीर्थ खनियाको संयोजकत्वमा फिलिपिन्समा केही महिनाअघि भ्रमण गरेर आएको उच्चस्तरीय टोलीले सरकारलाई यो सुझाव दिएको हो।अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आइओएम)का नेपालका आवासीय निर्देशक शरद दासले तयार पारेको सुझावले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित बनाउन सबै सरोकारवाला निकायको समन्वय गर्नुपर्ने सुझाव दिइएको छ।
समितिले वैदेशिक रोजगारमा गएका नेपालीलाई त्यहाँ रहेको दूतावासबाट अभिमुखीकरण तालिम दिएर काममा पठाउनुपर्ने सुझाव दिएको छ। ‘रोजगारमा गएका नेपालीलाई त्यहाँ रहेको दूतावासले अभिमुखीकरण तालिम दिएर पठाउन सके उनीहरुले दुख पाउँदैनन्,’ सुझावमा भनिएको छ।विदेश जाने अधिकांश नेपालीले अभिमुखीकरण तालिम समेत प्रभावकारी रुपमा नपाउँदा उनीहरुलाई विदेशमा विभिन्न समस्या भोग्नुपरिरहेको छ। विदेश जानुअघि दिइएको अभिमुखीकरण तालिम नाम मात्रको रहेको छ। समितिले रोजगार गन्तव्यमा सेफ हाउस (सुरक्षित आवास गृह) बनाउन सुझाव दिएको छ। कुनै कामदारले समस्या भोगेमा सुरक्षित रुपमा राखेर परामर्शको सुविधा दिन सुझाव दिएको हो।
समितिले विदेशमा गएका नेपाली कामदारको न्यूनतम तलब बढाउन सुझाव दिएको छ। ‘अन्य मुलुकको जस्तै नेपालीको न्यूनतम तलब बढाउनको लागि पहल गर्न आवश्यक छ,’ सुझावमा भनिएको छ।श्रम सहचरीलाई कामदारको मुद्दामा केन्द्रित रहेर अधिकतम रुपमा कामदारको हकहितमा प्रयोग गर्न सुझाव दिएको छ। समितिले दिएको सुझाव राष्ट्रिय योजना आयोगमा पेश हुने र यसलाई नीतिगत रुपमा कार्यान्वयनमा ल्याइने भएको छ।’आयोगमा पेश भएपछि यसलाई हामीले यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर छलफल अगाडी बढाउँछौ,’ आयोगका सदस्य गणेश गुरुङले नागरिकसँग भने, ‘ तीन वर्षे अन्तरिम योजना वा आर्थिक वर्षको बजेटमा समावेश गर्नेतर्फ पहल गरिनेछ।’उनका अनुसार विदेश नीतिमा नै आप्रवास कामदारको बारेमा स्पस्ट उल्लेख हुनुपर्ने बताउँदै विदेश नीतिमा समावेश गर्न सकिएमा वैदेशिक रोजगार सुरक्षित हुनसक्ने दाबी गरे।
‘मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको वैदेशिक रोजगारलाई विदेश नीतिमा राख्न आवश्यक छ,’ उनले भने, ‘यसरी राख्न सकिएमा मात्र रोजगारीका समस्या समाधान हुन्छन् भने रोजगारसमेत प्रवर्द्धन हुन्छ।’
समितिले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई अझ प्रभावकरी बनाउन सुझाव दिएको छ। बोर्डको भूमिका अहिले पनि प्रभावकारी नहुँदा कामदारको सुरक्षा, प्रवर्द्धन लगायतका काम प्रभावकारी बनेको छैन। बोर्डले विदेश कामका लागि जाने प्रत्येक कामदारबाट उठाएको एक हजार रुपैयाँ घुमफिरमा मात्र बढी खर्च हुने गरेको छ।
‘नयाँ रोजगार गन्तव्यको प्रवर्द्धनको लागि बोर्डको भूमिका प्रभावकारी बनाउन आवश्यक छ,’ सुझावमा भनिएको छ।’
विदेशको कमाई बैंकिङ माध्यमबाट पठाउन कामदारलाई वित्तीय चेतना जगाउन सुझाव दिइएको छ। अहिले पनि बैंकिङ माध्यमबाट रेमिट्यान्स पठाउने कार्य प्रभावकारी बन्न सकेको छैन।’बिमा कार्यक्रमका बारेमा विदेश जाने कामदारलाई जानकारी गराउन आवश्यक छ। त्यसैगरी विदेशमा कमाएको पैसा बैंकबाट पठाउन उनीहरुलाई बैकिङ चेतना जगाउनुपर्छ,’ सुझावमा भनिएको छ।नयाँ गन्तव्य खोजीका लागि बजेटमा विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। मुलुकको अर्थतन्त्र धान्ने वैदेशिक रोजगार क्षेत्रलाई निश्चित रकम प्रवर्द्धनका लागि छुट्याउन सुझाव दिएको हो।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: