RSS

माओवादीको बहुमतको सरकारमा फोरम सामेल नहुने, कम्तीमा दुई तिहाई बहुमतको सरकार चाहिन्छ ः यादव

30 Jun

काठमाडौं, असार १६
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीकै नेतृत्वमा बहुमतको सरकार बने पनि त्यसमा आफ्नो दल सहभागी नहुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले फोरम बहुमतको सरकार बनाउने र त्यसमा सहभागिता जनाउने पक्षमै नरहेको स्पष्ट पारे ।

‘शान्ति र संविधान ग्यारेन्टी हुनेगरी कम्तीमा दुई तिहाई बहुमतको सरकार बन्नुपर्छ,’ उनले भने– अहिले मुलुकलाई बहुमतीय सरकारको आवश्यकतै छैन । उनले फलानो हुनैपर्छ र फलानो हुनैहुन्न भन्ने अतिवादी सोचमा आफ्नो दल नरहेको पनि बताए ।

सरकार नैतिक रुपमा पतन, असफल र निकम्मा भएकाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने यादवको भनाइ थियो । ‘आफूले प्रधानमन्त्री भएर शान्ति र संविधान दिन नसक्ने तर अरुले सुनिश्चित गरेपछि मात्र छाड्ने भन्नु हास्यास्पद हो,’ उनले भने ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा एकीकृत माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरले माओवादीबाट प्रधानमन्त्रीमा पार्टी अध्यक्ष प्रचण्डको विकल्प खुला नगरिएको बताए । ‘माओवादी आफ्नो निर्णय अरु शक्तिकेन्द्रको दबाबबाट गराउँदैन,’ उनले भने– हामी प्रचण्डकै नेतृत्वमा सरकार बनाउने भनेका छौं । हामीले विकल्प खुला गरेका छैनौं । पोलिटब्युरोको निर्णय पनि यही हो ।

शर्माले प्रधानमन्त्रीले राजीनामा नदिइकन संसद् चल्न नदिइने बताए । ‘हामीलाई थाहा नदिएर संसद बोलाइयो, संसद् रोक्न हामी जस्तोसुकै हत्कण्डा अपनाउन तयार छौं,’ उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले आफ्नो पार्टी प्रधानमन्त्रीलाई सम्मानपूर्वक बहिर्गमनको बाटो खोल्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘प्रधानमन्त्री राजीनामा दिने मनस्थितिमै हुनुहुन्छ । सहमतिको सरकार बनाउने ग्यारेन्टी भए कांग्रेसले पनि प्रधानमन्त्रीको राजीनामा दिलाउने पहल गर्छ,’ उनले भने ।

उपाध्यायले माओवादीले बजेट अधिवेशन अवरुद्ध गर्न नहुने र सहमतिका निम्ति ठूलो पार्टी भएकाले माओवादीका अध्यक्ष प्रचण्डले नै पहल गर्नुपर्ने बताए । ‘नयाँ सरकारमा कांग्रेसको दाबा छ । रामचन्द्र पौडेललाई हामी अघि सार्छौं,’ उनले भने ।

कार्यक्रममा एमालेका प्रमुख सचेतक भीम आचार्यले शान्ति–संविधानका लागि राजीनामा दिए भन्ने ठाउँ रहनेबित्तिकै प्रधानमन्त्री छाड्न तयार भएको बताए । ‘ प्रधानमन्त्री खल्तीमा राजीनमा बोकेर हिँडिरहनुभएको छ,’ उनले भने– सबै दलले हठ र पदत्यागको मनस्थिति बनाउने हो भने २१ गतेभित्र होइन, एक घन्टामै राजीनामा आउन सक्छ । उनले यसका निम्ति दलहरुबीच कुराकानी भइरहेको पनि बताए । अहिलेसम्मका दुइटा बहुमतीय सरकार असफल भएकाले अब त्यस्तो सरकार बनाउनुको अर्थ नहुने उनको भनाइ थियो ।

मधेसी जनअधिकार फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले पार्टी अध्यक्ष विजयकुमार गच्छदारले दलहरुकहाँ गएर प्रधानमन्त्री नमागेको बताए । ‘हामी सहमतिकै पक्षमा छौं, प्रमुख तीन दल असफल भएकाले अब मधेसवादीको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले भने– मधेसवादी दल निकास दिने हैसियत राख्छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: