RSS

तिन मुख्यदल प्रधानमन्त्रीको लागि छुट्टा छुट्टै पहल गदै , मधेसवादीदलहरुको पनि प्रधानमन्त्रीको लागि दावी

02 Jul

काठमाडौ, अषाढ १८ – प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेले भावी सरकारको नेतृत्वको आकांक्षासहित आन्तरिक गृहकार्य र आपसी वार्ता तीव्र बनाएका छन् । औपचारिक बैठक नभए पनि उनीहरूबीच अनौपचारिक लबिङ व्यापक भएको छ ।
प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकारको नेतृत्वका लागि दौडधुप सुरु भएको हो । नेतृत्व दाबी गर्दै माओवादी र कांग्रेस खुलेरै अघि बढेका छन् । एमालेले तत्काल सरकारको खुल्ला दाबी गर्न नैतिक रूपमा अप्ठ्यारो पर्ने भएकाले भित्री रूपमा पहल गर्ने रणनीति बनाएको छ । कांग्रेस र माओवादी दुवैका नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने भएकाले आफ्नो पक्षमा सहमति बन्न सक्ने एमाले संस्थापन पक्षको बुझाइ छ । ‘एमालेले अहिले नै खुलेआम नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हो,’ एक एमाले नेताले भने, ‘आन्तरिक वार्ताहरूमा एमाले आफ्नो दाबी छोड्दैन ।’
तीन दलबीच औपचारिक वार्ता सुरु नभए पनि आन्तरिक लबिङमा नेताहरू उत्रिएका छन् । उनीहरूले बिहीबार बिहानैदेखि अन्य दलका नेतासँग वार्ता थालिसकेका छन् । तीनवटै दलले मधेसी दलहरूसँग आफ्नो नेतृत्वमा समर्थन माग्ने प्रयास गरेका छन् । कांग्रेसभित्र रामचन्द्र पौडेलले संसदीय दलको नेतासमेत भएकाले आफैंलाई पदको दाबेदार रूपमा वार्ता अघि बढाएका छन् । एमालेभित्र पार्टीले औपचारिक दाबी नगरे पनि अध्यक्ष झलनाथ खनालले लबिङ थालेका छन् ।
पौडेलले एमाले अध्यक्ष खनाललाई बिहीबार टेलिफोन गरी एमालेले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । खनालले सहमतिको सरकार एमालेकै नेतृत्वमा बन्नसक्ने अवस्था रहेकोबारे प्रस्ट पारेका थिए । खनालले मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्तासँग पनि टेलिफोन वार्ताबाट समर्थन गर्न आग्रह गरेका थिए ।
उता, माओवादी र एमाले स्थायी कमिटी बैठकले सहमतीय सरकारका लागि पहल गर्ने निर्णय गरेका छन् । ‘शान्ति र संविधान निर्माण गर्नेगरी सहमतिको सरकार बन्नुपर्छ र त्यसका लागि पहल गर्ने निर्णय भयो,’ बैठकपछि एमाले सचिव युवराज ज्ञवालीले भने, ‘नेतृत्वको विषयले प्रवेश पाएको छैन ।’ एमालेको नेतृत्व बन्ने अवस्था आए पार्टी भित्रबाट स्वतः अध्यक्ष दाबेदार हुन् ।

कांग्रेसले भने कार्यवाहक सभापति सुशील कोइराला शुक्रबार स्वदेश फिर्ता भएपछि धारणा तय गर्नेछ । दलहरूले सहमतीय सरकारको कुरा गरे पनि त्यो स्थिति कमजोर रहेको नेताहरू बताउँछन् । कांग्रेसको नेतृत्व माओवादीले नस्वीकार्ने र माओवादीको नेतृत्व अन्य दलले नस्वीकार्ने अवस्था भएकाले बहुमतीयको सम्भावना रहेको उनीहरूको धारणा छ ।
माओवादीले सहमतीय नभए बहुमतको भए पनि सरकार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिले सरकार बनाउन कांग्रेस, एमालेलगायतका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । ठूलो दलको हैसियतले सरकारको नेतृत्व हुनुपर्ने दाबीसहित सरकारका लागि दलहरूसँग छलफल गर्ने निष्कर्षमा माओवादी छ । ‘माओवादीको नेतृत्वमा सरकार भएमात्र शान्ति र संविधान निष्कर्षमा पुग्ने निष्कर्ष निकालेका छौं,’ उपाध्यक्ष मोहन वैद्यले भने, ‘अन्य सबै पार्टीसँग सरकार बनाउन छलफल सुरु गर्ने कुरा भएको छ ।’
बैठकले माधव नेपाल नेतृत्वको गठबन्धन सरकार असफल भएकाले दाबी गर्दै राष्ट्रपतिले ठूलो दलको हैसियतले माओवादीलाई सरकार बनाउन आह्वान गर्नुपर्ने सुझाव दिने निर्णय गरेको थियो ।बैठकपछि एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले नयाँ ढंगबाट दलहरूसँग छलफल गर्ने बताए । ‘पार्टीको बैठक बसेर सबै राजनीतिक दलसँग नयाँ शिराबाट छलफल सुरु गर्ने र यो अवसरलाई नेपाली जनताको आवश्यकता र आकांक्षाअनुसार सफल पार्न सदुपयोग गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सकेसम्म राजनीतिक दलहरूबीच सहमति हुनुपर्छ र राष्ट्रिय सहमतिको सरकार बन्नुपर्दछ ।’
दाहालले प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ राजनीतिक परिस्थिति पैदा भएको उल्लेख गर्दै आफूले सबैलाई समेटेर सहमति गर्नखोजेको बताए । ‘संविधानसभा निर्वाचनमा व्यक्त भएको अभिमतअनुसार शान्ति प्रक्रियालाई टुंग्याउन, जनताको पक्षमा संविधान लेख्ने काम सम्पन्न गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने स्थायी समिति बैठकपछि सचिव सीपी गजुरेलले राष्ट्रिय सरकार सम्भव नभएमात्र बहुमतबाट अघि बढ्ने बताए ।
एक कार्यक्रममा उपाध्यक्ष वैद्यले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने अवस्था आएमा अध्यक्ष दाहालले नै गर्ने निर्णय कायम भएको उल्लेख गर्दै विकल्पबारेमा छलफल गर्न सकिने बताए । ‘सरकारको नेतृत्व अध्यक्षले नै गर्ने हो,’ उनले भने, ‘भएन भने विकल्पबारे छलफल गर्न पनि सकिन्छ ।’

मधेसवादीदलहरुको पनि प्रधानमन्त्रीको लागि दावी

काठमाडौ, अषाढ १८

प्रधानमन्त्रीको राजीनामासँगै आफ्नो ‘वार्गेनिङ’ शक्ति बढाउन मधेसी नेताबीच रणनीतिक बैठक तीव्र भएका छन् । सञ्चारमाध्यमलाई जानकारी नदिई गरिएका यस्ता बैठकमा चारवटै मधेसी दलको बलियो गठबन्धन बनाउने पहलसमेत भएको छ ।
मधेसी जनअधिकार फोरम र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) एउटै बैठकमा सहभागी नभए पनि बिहीबार बिहान र बेलुका भएका दुई फरक बैठकमा उनीहरू बेग्लाबेग्लै उपस्थित भएका थिए ।पहिलो बैठक फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारको घरमा बिहान भएको थियो । जसमा गच्छदारसहित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए । साँझ तमलोपा अध्यक्ष ठाकुर निवासमा भएको बैठकमा सद्भावना अध्यक्ष महतो र फोरम अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए । स्रोतका अनुसार अबको बैठक फोरम अध्यक्ष यादवको घरमा पुनः बैठक बसाउने आग्रह गरिएको छ ।’मधेसी दल निर्णायक संख्यामा छन्, सबै एउटै गठबन्धनमा रहे ‘वार्गेनिङ पावर,’ मा समेत वृद्घि हुने कुरा सबैले स्वीकारेका छन्,’ एक उच्च मधेसी नेताले कान्तिपुरलाई भने, ‘राजनीतिमा सबै जायज हुन्छ, मधेसलाई सशक्तीकरण गर्न चारै दलको गठबन्धन हुन सक्छ ।’
स्रोतका अनुसार गच्छदार र यादव एक ठाउँमा आउने नभएकाले नै फरक-फरक बैठकको व्यवस्था गरिएको हो । बिहीबारका दुवै बैठकमा चारै अध्यक्षबाहेकका अरू नेता सहभागी थिएनन् । बिहानको बैठकका आयोजक गच्छदार साँझको बैठकमा फोरम अध्यक्ष यादवलाई आउन असजिलो नहोस् भनेर गएका थिएनन् । ‘दुवै फोरमका अध्यक्षबीच अत्यन्त तनाव छ, तर यो तनावले उनीहरूको दल, मधेस र मधेसी शक्तिलाई बलियो नबनाउने उनीहरू राम्ररी जान्दछन्,’ अर्का नेताले भने, ‘तत्कालका लागि असहमतिका विन्दुहरूलाई थाँती राख्दै संविधान निर्माण, मधेस मुद्दा र आगामी सरकारमा मधेसलाई सशक्त रूपमा प्रस्तुत गर्न उनीहरू एक ठाउँमा आउन सक्छन् ।’
संविधानसभामा फोरम (लोकतान्त्रिक) को २७, फोरमको २५, तमलोपाको २० र सद्भावनाको ९ गरी मुख्य मधेसी दलका ८१ सभासद छन् । यसरी मधेसी दलहरू माओवादी वा कांग्रेस-एमालेसँग मिल्दा पनि बहुमतीय सरकार निर्माण हुन सक्छ । कांग्रेसको १ सय १४ र एमालेको १ सय ९ गरी जम्मा २ सय २३ सभासद छन् । माओवादीको २ सय ३० सभासद छन् । बहुमतीय सरकार बनाउन ३ सय १ सभासद आवश्यक पर्छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: