RSS

राजसंस्था अन्त्य जनचाहनाले होइन, विदेशी खेलबाट पूर्वयुवराज पारस

25 Aug

नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?

हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।

पछिल्लो समयमा देश र जनताले चाहेजस्तो अवस्था नहुनुमा वैदेशिक चलखेल वा हस्तक्षेप नै हो भन्ने यहाँहरूको बुझाइ हो?

हो। यस्तो परिस्थति सिर्जना गरेपछि उनीहरूले आफ्नो स्वार्थका लागि त केही गर्छन्-गर्छन्।

गणतन्त्र स्थापना र राजतन्त्र अन्त्यमा पनि वैदेशिक चलखेल, हस्तक्षेप थियो भनेर बुझ्न सकिन्छ?

अवश्य।

यसको मतलब जनता राजतन्त्र अन्त्य भएको हेर्न चाहँदैनथे भन्ने बुझौं?

म के भन्न चाहन्छु भने नेपालीलाई, नेपाली समाजलाई एकातिर लगियो त्यसबेला। नेपालीले एउटा परिवर्तन त चाहेका थिए, तर कुन प्रकारको र कस्तो परिवर्तन भन्ने नेपालीलाई नै थाहा थिएन।

जनताले चाहेर राजसंस्था अन्त्य भएको होइन भन्नुभएको?

होइन, जनताले त्यसबेला परिवर्तन चाहेका थिए, तर जनचाहनाले होइन, विदेशी खेलबाट त्यो परिवर्तन भएको हो।

राजतन्त्रकालमा पनि वैदेशिक चलखेलको अवस्था यस्तै थियो त?

०४६ सालबाट यहाँ विदेशी चलखेलको प्रवृत्ति बढेको हो, जब यहाँ एनजिओ/आइएनजिओ आउन थाले। मैले जानेको-सुनेको नेपालमा ४ हजार गाविस छन् तर एनजिओको संख्या १ लाख ६५ हजारभन्दा माथि छ। यी सबै विदेशीबाट चलेका हुन् र उनीहरूकै स्वार्थका लागि काम गरिरहेका हुन्छन्। यो त तपाईंहरू पनि बु‰न सक्नुहुन्छ, कुन एनजिओले जनताका लागि के गरिरहेका छन्।

एनजिओ, आइएनजिओले वैदेशिक हस्तक्षेपको वातावरण सिर्जना गरिदिएका हुन् र?

सुरुवात त्यहीँबाट भएको हो। विदेशीहरू नेपालमा एनजिओ, आइएनजिओबाटै छिरेका हुन्।

यो परिस्थिति अन्त्य हुने सम्भावना देख्नुहुन्न?

नेपाली एकजुट हुनुपर्‍यो, नेपालीले नै नेपाल हाँक्नुपर्‍यो, किन हुँदैन? विदेशीको दान लिएर चल्ने प्रवृत्ति नेपालका लागि सबभन्दा हानिकारक छ।

वैदेशिक हस्तक्षेप कसले निम्त्याएको हो त? कुन दल वा कसले?

अस्ति पनि मैले भनेँ (राजधानीको एक कार्यक्रममा सहभागी हुँदा) जुन प्रजातान्त्रिक प्रणाली हामीले छानेका छौँ, यसमा यस्तै हुन्छ। तर, हाम्रोजस्तो अविकसित, अशिक्षित राष्ट्रमा कस्तो हुन्छ भने एनजिओ अर्थात् विदेशी आएपछि यिनीहरू राम्रो गर्न आयो भन्ठान्छौँ। तर, उनीहरूको पनि स्वार्थ हुन्छ भन्ने हामीले बु‰नुपर्छ।
ल मैले मानेँ, मान्छेहरूले पहिला बुझेनन्। अब त २०/२५ वर्ष भइसक्यो। हाम्रो जेनेरेसनले सबै बु‰या छ

(एनजिओ, आइएनजिओहरू) किन आ’का छन् भनेर। तपाईंले पनि बुझ्नु भा’ छ, होइन र? (हाँसो)।

दल वा कसको कारणले यस्तो भइरहेको छजस्तो लाग्छ?

यी दल भनेर दोष लगाउन चाहन्नँ। हेर्नुस्, दलहरूमा यो प्रवृत्तिमा परिवर्तन ल्याउन जेनेरेसन चेन्ज नभई हुँदैन। हाम्रो जनेरेसन नआई हुँदैन।

प्रसंग बदलौँ, फेरि राजसंस्था पुनर्स्थापना हुन्छ भन्ने चर्चा छ, यहाँलाई पनि त्यस्तो लाग्छ?
त्यो त जनताको कुरा हो। जनताले चाहे देशमा जे पनि हुन्छ। बुबाले राजगद्दी छाडिबक्सेको जनताकै लागि हो। यस्तो पहिले पनि भइसक्या थियो। राजसंस्थाले जनताको चाहनाबमोजिम पहिला पनि छाडेकै हो। जनताको चाहनाअनुसार फेरि फर्केको छ। यस्तो हुन सक्दैन भनेर म भन्नि सक्दिनँ।

यहाँहरूको बुझाइमा जनताको चाहना अहिले राजसंस्थातर्फ ढल्केको छ कि हिजोजस्तै निरपेक्ष छ?
यो परिस्थितले गर्दा भएको हो, हाम्रो खुबीले होइन। परिस्थितिले गर्दा फेरि नेपालीहरू राजसंस्थाप्रति आस्थावान हुन थालेका छन्।

त्यसो भए त्यो सम्भावना देख्नुहुन्छ?
मैले भन्ने कुरा होइन। जनताबाट आउनुपर्छ। जनताले चाहे सम्भव हुन्छ। तर म के भन्न चाहन्छु भने राजसंस्था पनि अलिकति परिवर्तन हुनुपर्छ। पहिलेजस्तो जुन संस्कृति र रीतिरिवाजमा चलिरहेको थियो, त्यसबाट अलिकति निस्कनुपर्छ। हेर्नुस्, हामी सन् २०१० मा छौं अहिले, त्यहीअनुसार हुनुपर्‍यो।

राजसंस्थाको हिजोको शैली र संस्कार बदलिएर आउनुपर्छ भन्नुभएको?
हो। यसमा अपडेट हुनुपर्छ। प्रोग्राम त्यही हो, अपडेट गर्नुपर्‍यो। यसको २०१० भर्सन चाहियो हामीलाई।

हिजोको राजसंस्था समयअनुसार परिवर्तन हुन सकेको थिएन?

हजुर, डेफिनेट्ली। त्यही हो।

राजसंस्था फर्कियो भने तपाईं आफूलाई सम्भावित राजा ठान्नुहुन्छ?
हिजो पनि भनिसकेँ, मेरो व्यक्तिगत चाहना छैन। तर मुलुकको आवश्यकता छ भने हामी जे पनि गर्न तयार छौँ।

हिजो युवराज रहँदा र आज नागरिक जीवनमा यहाँले कस्तो फरक अनुभव गर्नुभयो?
व्यक्तिगत रूपमा भन्नुपर्दा, राजसंस्थाले घेरेर राख्ने, कतै जाँदा घेरेरै जानुपर्ने मलाई त्यस्तो मन पर्दैन। मलाई जहाँ जान मन लाग्छ, म आफैँ जान्छु। आफैँ मान्छे भेट्छु, आफैँ कुरा गर्छु। मलाई कोही चाहिँदैन। नेपालीबीचमा मलाई घेरेर नलगिदिनोस्। मैले भन्न खोजेको त्यत्ति हो।

हिजोको शान, मान र आजको जीवनयापनमा फरक त पक्कै आएको होला नि?
राजसंस्था हुँदा र नहुँदा मलाई केही फरक भएको छैन। हिजो राजसंस्था हुँदा पनि म लन्डनमा एक्लै सात वर्ष बसेर आएको हुँ। त्यसअघि यहीँ बुढानीलकण्ठ स्कुलमा नागरिकझैँ सबैसँग बसेर पढेको हुँ।
तपाईंहरू मलाई जस्तो ठान्नुहुन्छ, म त्यस्तोचाहिँ छैन। मलाई त्यस्तो चाहिएको पनि छैन।

अर्को प्रसंग, युवराज हुनुअघि र त्यसपछि पनि यहाँलाई धेरै आरोप लागे। त्यसमा केही सत्यता पनि थियो कि आरोपमात्रै?

आफ्नो कमजोरी नभई अरूले आरोपै लगाउन सक्दैन। मेरा पनि केही कमजोरी थिए होलान्, म मान्छु। मैले जनतासँग माफी पनि मागिसकेँ, यस्तो थियो भने माफी दिनोस् भनेर। केही कमजोरी थियो होला, अनि ममाथि यी कुरा निस्किए होलान्। म यत्ति भन्न चाहन्छु।

दरबार हत्याकाण्डपछि यहाँलाई जोडेर अनेकौँ कुरा बाहिर आए नि?
हेर्नुस्, जनताले दोष दिए भनेर रिसाउँदिनँ। म आफैँ देखेको मान्छेले त पत्याउन सक्दिनँ भने तपाईंहरू कसरी पत्याउनुहुन्छ? के भएको हो भनेर देख्ने मान्छे म हुँ तर मैले नै पत्याउन सकेको छैन।

तपाईं पार्टी खोलेर राजनीतिमा आउने चर्चा छ नि?
मैले त्यसबेला सिंगापुरमा अन्तर्वार्ता दिँदा जे हुन्छ, ब्यालेटबक्सबाटै हुन्छ भनेको थिएँ। मेरो भनाइ लाई अलिकति घुमाएर राजनीतिपट्टि लगिएको हो।

राजसंस्थाको अन्त्य जसरी भयो, त्यो नभई जनमतसंग्रहबाट जानुपर्ने थियो?

म तपाईंलाई नै सोध्छु, जुन तरिकाले यो झिकियो, त्यही तरिकाले राख्न मिल्छ कि मिल्दैन? कि जनमतसंग्रहमै जानुपर्छ?

राजसंस्थाको अन्त्य राजनीतिक शैलीअनुसार भएन भन्ने हो?
यो राजनीतिक निर्णयबाट भयो, कानुनी वा संविधानसभाबाट भएको होइन। अब यही राजनीतिक निर्णयबाटै फेरि राजसंस्था पुनर्स्थापित हुन्छ कि हुँदैन? तपाईं भन्नुस् मलाई। कि जनमतसंग्रहमै जानुपर्छ?

राजनीतिक निर्णयकै आधारमा भएकाले फेरि यस्तै निर्णयबाट यो परिस्थिति (राजसंस्था फर्कन) सिर्जना हुन सक्छ?

सक्छ।

एकीकृत माओवादी र यहाँहरूबीच हिजो द्वन्द्वका बेला र अहिले पनि एकखालको सम्बन्ध छ भनेर चर्चा गरिन्छ। यसमा सत्यता छजस्तो लाग्छ?

हेर्नुस्, द्वन्द्वका बेला म भन्न सक्दिनँ। तर, एकचोटि प्रधानमन्त्री बनिसकेको व्यक्तिलाई आमनागरिकले भेट्न पाउने कि नपाउने? तपार्इंहरू पाइन्न भन्नुहुन्छ भने म भेटि्दनँ (हाँसो)।

धर्मनिरपेक्ष राष्ट्रबारे यहाँ के भन्नुहुन्छ?

नेपालमा हिन्दुमात्र होइन, अरू धेरै धर्म छन्। तर हिन्दु राजा भन्नेबित्तिकै हिन्दुका मात्र राजा भनेर पोलिटिकल इस्सु बनाइयो यसलाई।

पछिल्लो समयमा यहाँहरूको भ्रमणलाई फरक रूपमा लिने गरिन्छ। यहाँको भनाइ के छ?

अब हेर्नुस्, कोही जनताले मलाई बोलाए भने म त्यहाँ जान्छु। अस्ति खड्गी समाजले बोलायो, म गएँ। वीरगन्जमा बोलाए, गएँ। यसमा पोलिटिकल एंगल छैन भन्न सक्दिनँ। डेफिनेट्ली केही न केही पोलिटिकल एंगल त भइहाल्छ, हैन? नपार्न खोजे पनि त्यो देखिइहाल्छ। तर हाम्रो इन्टेन्सन त्यो होइन। तपाईं पनि बोलाउनुस्, म आइदिन्छु।

यही अवस्थामा यहाँहरूले कुनै भूमिका निर्वाह गर्ने कुरा हुन्छ कि हुँदैन?

जनताबाटै आउनुपर्छ। हामी एक्लै आफैं बढेर गर्नसक्ने कुरा होइन। जनताले चाहे हुन सक्छ।

पछिल्लो समयमा यहाँका भ्रमणमा जनताको ठूलो सहभागिता हुने गर्छ। यसले जनता राजसंस्थाको प्रतीक्षामा छन् भन्ने बुझौँ?

(हाँसो)। म त्यसो भन्न सक्दिनँ। म जहाँ जान्छु, त्यहाँ जनताको खुसी त्यस्तै हुन्छ। मेरो बुबा जहाँ सवारी हुन्छ, त्यत्तिकै हुन्छ। हामी भित्रै केही न केही त फिल गर्छौं। अब यसलाई कसरी पोलिटिकल एंगल दिने, कसरी पोलिटिकल्ली इस्सु बनाएर लैजाने, त्यो मलाई थाहा छैन। आई एम नट अ पोलिटिकल म्यान।

जनताको भिड देख्दा यसलाई राजनीतीकरण गरेर जाँदा राजसंस्थाको पुनः उदय हुने यहाँहरूको अपेक्षा हो?
संकेत मिलेको छ।

यो संकेतलाई सफल पार्न यहाँहरूको के भूमिका हुन्छ?

हामी राजनीतिज्ञ होइनौँ। जनताको यो आवाज उठाउने कोही एउटा राजनीतिज्ञ वा राजनीतिक संस्था चाहियो। अनि हुन सक्छ।
कुनै राजनीतिक दलको साथ मिल्यो भने …?
सम्भावना प्रशस्त छ, प्रशस्त छ।

पछिल्लो समय यहाँहरूलाई एकीकृत माओवादीसँग जोडेर हेरिएको छ। यस्तो सम्भावना (माओवादीको साथबाट राजसंस्थाको पुनरावृत्ति) कत्तिको छ?

एउटा मात्र पार्टीले गरेर हुने कुरा होइन। देशलाई आवश्यकता हो भने सबै मिलेर जानुपर्‍यो।

दलहरूको समर्थन पाउने आशा कत्तिको छ त?

जनताले भने त दलहरूले गर्नैपर्‍यो नि समर्थन। त्यही भएर म आफ्ना कुरा जनतासँग भन्छु। जनताले चाहे भने हुन्छ। हिजो जनताले चाहेको एउटा कुरा पूरा गर्न नसकेर राजसंस्था गएको हो।

कस्तो चाहना?

हामीलाई घेरेर राख्ने प्रवृत्ति छ, त्यो भित्ताले गर्दा हामी पनि तपाईंहरूसमक्ष आउन सकेनौँ, तपाईंहरू पनि हामीसम्म आउन सक्नुभएन। त्यो भित्ता भनेको के हो भने जसजसले हामीलाई घेरेर राखेका छन्, उनीहरूको स्वार्थ। उनीहरूकहाँ नपुगी तपाईंहरू हामीकहाँ आउन सक्नुहुन्न। हामीलाई जनतामा जान र जनतालाई हामीकहाँ आउन दुवैतिरै रोकियो।

अहिले यहाँहरू जनतामा जाने र जनता आउने भइरहेको छ?
प्रयास त्यही हो। यसमा कति सफल हुन्छौं, हेर्न बाँकी छ।

अहिले सांस्कृतिक राजाको कुरा पनि आएको छ, यो यहाँहरूलाई स्विकार्य छ?

मैले अस्ति पनि भनेँ, काम दिने हो भने कामको विवरण प्रस्ट हुनुपर्‍यो। सांस्कृतिक राजा भनेको के हो, प्रस्ट भएको छैन।
भूमिकाविहीन हुनु हुँदैन भन्ने हो यहाँको कुरा?

राजसंस्था भूमिकाविहीन हुनु हुँदैन। सेरेमोनियल भने पनि कल्चरल भने पनि एकपटक राजसंस्था आएपछि संविधानमै रहने भयो नि। राजसंस्थाको भूमिका के हुने भन्ने संविधानमा लेखिनुपर्छ।

यो संविधानसभाबाट नयाँ संविधान बन्ने देख्नुहुन्छ?

विदेशीले देश चलाउञ्जेल संविधान लेखिन गाह्रो छ। नेपाली मिलेर लेख्ने हो भने एकदम सजिलो छ। नेपालीहरुले केही न केही रूपमा राजसंस्था चाहिन्छ भन्ने बुझेका छन्।

राजसंस्थाको इतिहास पुनर्जीवित गराउन सिंगापुरबाट नेपाल फर्किएर भ्रमण गर्न थाल्नुभएको हो?
त्यसो पनि भन्न सक्नुहुन्छ।

यहाँको जवाफबाट के बुझिन्छ भने यहाँहरू राजसंस्था फर्काउने अभियानमा हुनुहुन्छ। त्यसमा जनताले पनि साथ दिँदै गएका छन्, हो?

अभियानै त नभनौँ। आवश्यकता भनौँ न। आवश्यकता देखेर हामी अगाडि आएका हौँ।

(पूर्वयुवराज पारस शाहसँग माछापुच्छे्र एफएमका लागि सन्तोष अधिकारीले लिएको अन्तर्वार्ताको सम्पादित रूप। पोखरास्थित फिस्टेल लजमा सोमबार अपराह्न लिइएको यो अन्तर्वार्ता उक्त एफएमले त्यही दिन राति प्रसारण गरेको थियो।)

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: