RSS

फेरि भेटौंला भन्दै गइन् सारा, तर, नियतिले यो बिदाइलाई नै अन्तिम बिदाइ बनायो

29 Aug

२२वषर्ीया छोरी र ५५ वषर्ीया आमाका बिदाइका हात एकसाथ हल्लिए । तर, नियतिले यो बिदाइलाई नै अन्तिम बिदाइ बनायो

‘बाई मम् ! सि यु !’ तीन छोरीकी आमा अञ्जुले पनि बिदाइ गर्दै गाडीभित्र बसेकी छोरीलाई भनिन्, ‘लुक्ला ल्यान्ड गरेपछि फोन गर है छोरी ।’

सुरज कुँवर

काठमाडौ, भाद्र १३ – झिसमिसे बिहान । घडीले ठ्याक्कै साढे ५ बजाएको थियो । एयरहोस्टेस सारा शेर्पालाई लुक्ला उडानका लागि विमानस्थल पुर्‍याउन मंगलबार अग्नि एयरको भ्यान गेटमै आयो ।
सधैंझैं बाहिरबाट गेट खोल्दै भ्यानका चालकले चकलेटी छवि भएकी सारालाई बोलाए, ‘सारा मिस, गुड मर्निङ ! म आइपुगें !’ ५ नबज्दै ओच्छ्यान छाडिसकेकी उनी एयरहोस्टेसको पोसाकमा सजिएर कोठाबाट बाहिरिन् । दैलोमा आमाको गाला चुम्दै अँगालोमा बेरिइन् , अनि भनिन्, ‘बाई मम् ! सि यु !’ तीन छोरीकी आमा अञ्जुले पनि बिदाइ गर्दै गाडीभित्र बसेकी छोरीलाई भनिन्, ‘लुक्ला ल्यान्ड गरेपछि फोन गर है छोरी ।’
‘हस् !’ २२ वषर्ीया छोरी र ५५ वषर्ीया आमाका बिदाइका हात एकसाथ हल्लिए । गल्फुटारबाट भ्यानमा बसेर हुइँकिएकी उनी कहिल्यै नआउने गरी बिदा भइन् । उनीसहित १४ जना बोकेर ७ बजे लुक्ला उडेको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना पर्‍यो । छरिती र फरासिली सारा सदाका लागि स्मृतिमात्र सरिन ।
सधैं भ्यानको नम्बर हेर्ने अञ्जुले त्यस दिन छोरीको चेहरा धपक्क देखेपछि हेर्नै बिर्सिछन् । ‘सधैं गाडीको नम्बर हेर्थे, त्यस बिहान उसको अनुहारमा धेरै खुसी देखेपछि किन होला ? भन्ने ठानेर धेरैबेर सोचिरहें,’ आँसुले गलेको अनुहार र कापिरहेका ओठ सम्हाल्दै शोकाकुल अञ्जुले भनिन्, ‘त्यो क्षण हाम्रो (आमा छोरीको) अन्तिम भेट पो रहेछ ।’
तीन छोरीमध्ये सबैभन्दा धेरै कोक्रोमा हुर्केकी कान्छी साराको मृत्युपछि उनका आँखाबाट आँसुको भेल अविरल बगिरहेको छ । शोकाकुल परिवारलाई सान्त्वना दिन आउनेहरू साराले सजाएको कोठा र उनका ल्यान्डस्केप पेन्टिङ तथा स्केच हेरेर भक्कानो छाड्छन् । ‘अति मिलनसार, जिज्ञासु र काममा सक्रिय थिई,’ अनिदोले ओभानो बनेका आँखा मिच्दै बाबु दोर्जी छिरिङ आफन्तजनलाई घरका भित्तामा छाडेर गएका उनका सिर्जना देखाउँदै भनिरहेका थिए ।
यसअघि नुवाकोटको लाङटाङ क्षेत्रमा भएको थाई एयरवेजको विमान दुर्घटनामा बैंककबाट नेपाल आउँदै गरेका भान्जी जस्मिन र भाइबुहारी तारानी वैद्य गुमाएका शेर्पा १८ वर्षपछि फेरि हवाई दुर्घटनामै छोरी सारालाई गुमाउनुपर्दाको पीडाले विक्षिप्त छन् । १८ वर्षअघिको दुर्घटना पनि यही याममा भएको थियो । अर्को संयोग झन् विरक्तलाग्दो के छ भने ‘दोर्जी छिरिङ संलग्न स्काइलाइन एयरवेज कम्पनीले ६ वर्षअघि अग्निलाई बिक्री गरेकै डोर्नियर दुर्घटनामा पर्‍यो जसमा छोरी सारा एयरहोस्टेस भएर उडेकी थिइन् । हवाई क्षेत्रको चार दशक अनुभव सँगालेका दोर्जी यसअघि आफैं सञ्चालक रहेको स्काइलाइन र लुम्बिनी एयरवेजको विमान दुर्घटनामा उद्धार र घटना छानबिनमा संलग्न थिए । अहिले छोरीलाई पनि हवाई दुर्घटनाबाटै गुमाउँदा झनै स्तब्ध छन् ।
‘भाग्यमा यस्तै लेखिएको रहेछ, के गर्नु !’ हवाई क्षेत्रका १७ वटा घटनालाई नजिकबाट नियालेका दोर्जीले भने । हवाई क्षेत्रको प्रवर्द्धन र अनुसन्धानमा संलग्न उनकी जेठी छोरी स्याराङ (हाल अमेरिका) पनि एयरहोस्टेस नै हुन् भने माइली सेरी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्दैछिन् । अंग्रेजी साहित्य, गीत, सिनेमा, फेसन, पेन्टिङ र स्केचमा औधी रुचि राख्ने सारा अन्तर्राष्ट्रिय उडानमा एयरहोस्टेसको तयारीमा थिइन् । कतार एयरवेजले आह्वान गरेको दरखास्तमा निवेदन दिने ३ सय परिचारिकामध्ये उनी तेस्रो नम्बरमा थिइन् । त्यसको भर्ना प्रक्रिया ६ महिनामा टुंगिँदै थियो । अन्तर्राष्ट्रियस्तरको बेकरी खोल्ने योजना पनि बुनेकी सारा ३ वर्षदेखि यस क्षेत्रमा थिइन् ।
बाल्यकालका दार्जिलिङको खर्साङमा पढ्दाका सहपाठीहरू यतिबेला गल्फुटार आउने क्रम जारी छ । राजधानीको राई स्कुलमा उच्च शिक्षासँगै पढेका र यती एयरमा सँगै काम गरेका सहकर्मीहरू निवासमै आएर उनको तस्बिरमा खादा ओडाइरहेका थिए । केही उनको तस्बिर छेवैमा ४९ दिनसम्म लगातार बलिरहने बत्तीमा घिउ थपेर आत्माको चिर शान्तिका लागि कामना गरिरहेका थिए । नर्सरी कक्षादेखि रोजगार थलोसम्म आर्जेका साथीको लर्को घरमा लाग्न थालेपछि शेर्पा परिवारले यसलाई छोरीले कमाएको ख्याति ठानेका छन् ।
सातामा एकपल्ट जय नेपाल, कुमारी वा बिगसिनेमा घरमा सिनेमा हेर्न नछाड्ने साराका बालसखाहरू उनले सजाएको कोठा र तस्बिर हेर्दै सुँकसुँक गरिरहेका थिए । उनी हाँसेका तस्बिरले सजिएको भित्ता मुन्तिर दियो, खादा र बत्ती बोकेर आएकाहरू मौनता र सन्नाटा चिर्दै थिए जसका आँखाका आँसुलाई अञ्जु धोतीको फेरोले विहिबार पुछ्ने प्रयास गर्दै थिइन् ।
इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा पर्यटनमा स्नातक गरिरहेकी सारा पछिल्लोपटक चालकदेखि सञ्चालकको रोजाइमा पर्थिन् । प्रधानमन्त्रीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका व्यक्तिको उडान हुने दिन एयरहोस्टेसको जिम्मेवारी उनैले सम्हाल्नुपथ्र्यो । ‘किनकि उनी सबै कुराको जानकारी भएकी स्मार्ट एयरहोस्टेस थिइन्,’ दाजु पर्ने आफन्त कुनाल श्रेष्ठले भने । अग्निअघि यती एयरमा पनि एयरहोस्टेसको अनुभव सँगालेकी उनको प्रेरणाको स्रोत हवाई क्षेत्रमै समर्पित बुवा दोर्जी थिए ।
छोरीहरूको रहर पूरा गर्न बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको गयाको तीर्थयात्राको तयारी गरिरहेको शेर्पा परिवार शोकमा परेपछि यात्रा स्थगित गरेका छन् । ललितपुरमा जन्मेकी साराको शिक्षण अस्पताल महाराजगन्जमा बुधबार टाउको पछाडिको सानो भाग भेटिएपछि त्यसैलाई शव ठानेर स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो ।
हरेक बिहान सिरकमा गुटमुटिएर सुत्ने सारालाई विमानस्थलसम्म पुर्‍याउने भ्यान चालकले ‘गुड मर्निङ ! सारा मिस म आइपुगें’ भन्ने अभिवादन अब अञ्जु र दोर्जी छिरिङका कानले कहिल्यै सुन्न नपाउने भएका छन् ।

प्रकाशित मिति: २०६७ भाद्र १३ ०९:२७

 
१ टिप्पणी

Posted by on अगस्ट 29, 2010 in Uncategorized

 

One response to “फेरि भेटौंला भन्दै गइन् सारा, तर, नियतिले यो बिदाइलाई नै अन्तिम बिदाइ बनायो

  1. Pinasa donga lhamau

    अगस्ट 29, 2010 at 4:36 अपराह्न

    Ekdamai Ekdamai dukha lageko cha, m lagayat mera s-pariwar kai tarfa bata sara ji ko aatma ko cheer shanti ko kamana gardachaun, OM MANI PEME HUNG! OM MANI PEME HUNG!OM MANI PEME HUNG!

     
 
%d bloggers like this: