RSS

चरित्र अभिनेता, द्वन्द्व निर्देशक तथा कला निर्देशक गोपाल भुटानीको निधन

23 Nov

रविन प्रसाद थपलिया

चरित्र अभिनेता, द्वन्द्व निर्देशक तथा कला निर्देशक गोपाल भुटानीको आज निधन भएको छ । राजधानीको जनमैत्रि अस्पतालको उहाँको निधन भएको हो । ७८ वर्षका भुटानी आन्द्राको क्यान्सरवाट पिडीत थिए् । केहि दिन देखि झाडा पखाला समेत लागेकाले उनि झनै विरामी भएर गलेका थिए् । स्वयम्भु स्थीत धर्मपुत्रको घरमा वस्दै आएका भुटानीको आज विहान ११ वजे निधन भएको जनमैत्रि अस्पतालले जनाएको छ । एक दर्जन भन्दा वढी नेपाली चलचित्रमा द्धन्द निर्देशक रहेर काम गरेका भुटानीले धेरै नेपाली चलचित्र तथा टेलिसिरीयलमा समेत अभिनय गरिसकेका थिए् । सन १९४० को दशकमा मुम्वइवाट फिल्मी क्षेत्रमा प्रवेश गरेका भुटानी २०२९ सालमा मनको बाघ भन्ने चलचित्रबाट अभिनय यात्रा सुरू गरेका भुटानी चलचित्र क्षेत्रमा विभिन्न विशेषणले चिनिएका छन् । हुलाकीको सानो रोलबाट अभिनय यात्रा सुरू गरेका भुटानी द्धन्द्ध निर्देशक तथा कला निर्देशकको परिचयले चलचित्र उद्योगमा परिचित थिए । ६० वर्षअघि सिनेमामा खेल्ने रहर गरेर बम्बई पुगेका भुटानीले त्यहाँ बिँडी बनाएर बेचे र सर्कसमा घोडाको तबेला सफा गर्ने काम पनि गरे। सर्कसमा काम गर्दागर्दै चिनजान भएका अँधेरीको एमएनटी फिल्म स्टुडियोका कर्मचारीले उनलाई सिनेमामा काम गर्ने चाँजो मिलाइदिएका थिए। शुरुमा द्वन्द्वका दृश्यहरूमा फाट्टफुट्ट खेल्दाखेल्दै उनी काममा मिहिनेती एवं इमान्दार भएकाले पछि राम्रा भूमिका पाउन थाले र बम्बईको फिल्म नगरीमा छोटै समयमा आफूलाई स्थापित गर्न सफल भए। दारा सिंह, राजेश खन्ना, विनोद खन्ना, राजकपुर र शशि कपुरजस्ता कलाकारसँग धेरै सिनेमामा काम गरेका भुटानीद्वारा अभिनीत हकिकत, ललकार, ए रास्ते चीनके आदि हिन्दी चलचित्र ु सुपरहिट ु भएका थिए। उनी भन्छन्, “नायक बनेर खेल्न नपाए पनि खलनायकको भूमिकामा जमेको थिएँ।
नेपालमै सिनेमा बन्न थालेपछि यतै आएका भुटानीले नेपाली सिनेमामा द्वन्द्व, कला, भेषभुषा, शृङ्गारसम्बन्धी काम गरेका थिए। सयभन्दा बढी हिन्दी र झण्डै तीन सय नेपाली सिनेमामा काम गरेका छन् ।

आन्द्रको क्यान्सरवाट ग्रस्त कलाकार गोपाल भुटानीको वारेमा दशैमा तयार पारिएको यो सामग्री

कोही आउने आशमा गोपाल भुटानीको दशै
अनुप भट्टराई
Oct 19|02:00

काठमाण्डौको स्वयम्भु नाथको दायाँ पट्टी रहेको सानो खोल्सो त्यो खोल्सो संगै रहेका करिब दर्जन सुकुम्बासी झुपडी अनि त्यो झुपडीको बीचमा एक्लो जीवन विताईरहेका नेपाली चलचित्रका इतिहास पुरूष गोपाल भुटानीको आँखामा दशैको कुनै उमङ्ग देखिएको छैन् ।

सुप समेत खान नसक्ने अवस्थामा रहेका ७८ बर्षे भुटानीको सानो कोठामा दशै नआएको बर्षौ भइसक्यो । चलचित्र क्षेत्रमा ‘गुरू बा’ भनेर चिनिने भुटानीको हातबाट दशैको आशिर्वाद थाप्न कोही चलचित्रकर्मी जादा रहेनछन्, शिवाय राजेन्द्र खड्गी र एक जना उनका साथीको भाई । द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी उनका चेला भएकाले उनी कहिले काही भुटानीलाई भेट्न त्यो झुपडीमा देउता बनेर जादा रहेछन् ।

अल्सर रोगी भुटानी आफ्नो झुप्रोमा कोही आउने आशमा दिनभर आखा ट्टयाउन्जेल बाहिर हेर्छन, तर कोही नआएपछी उनी पुनः त्यो झुपडीमा गएर नयाँ विहानीको पर्खाइमा टोलाउदा रहेछन् । उनको दाह्री र कपाल सेतै भएर फुलिसकेका छन्, आँखा पनि मलिन छ , जिउहरू सुकिसकेकाछन्, अनुहारको छाला पुरै चाउरी परेको छ तर पनि हिम्मत हारेका छैनन् भुटानीले ।
२०२९ सालमा मनको बाघ भन्ने चलचित्रबाट अभिनय यात्रा सुरू गरेका भुटानी चलचित्र क्षेत्रमा विभिन्न विशेषणले चिनिएका छन् । हुलाकीको सानो रोलबाट अभिनय यात्रा सुरू गरेका भुटानी द्धन्द्ध निर्देशक तथा कला निर्देशकको परिचयले चलचित्र उद्योगमा परिचित छन् ।

उनी एक्लो जीवन खोला किनारको सुकुम्बासी बस्तीमा विताई रहेका छन् । इन्डियन श्रीमतीसंग सम्बन्ध विच्छेद भएको ३५ बर्ष भईसकेछ भुटानीको तर पनि कुनै स्त्रीसंग बिवाह गर्ने सोच आएन उनलाई । किन विवाह नगर्नु भएको भन्ने प्रश्नमा उनी भन्छन ‘म स्त्री जातिलाई विश्वास गर्न सक्दीन ।’ जीवन गुजारा गर्न अझै पनि काम गर्न पछि नपर्ने भुटानी विरामी शरिर नभनी चलचित्रमा अझै काम गर्दा रहेछन् । उनले पछिल्लो पटक शिवजी लामिछानेको चलचित्र जलजलामा काम गरेका छन् । जलजलालाई सम्झदै उनले भने ‘सायद यो मेरो जीवनको अन्तिम चलचित्र हो ।’

सुकुम्बासी बस्ती भएपनि कोठा चिटिक्क छन् उनका नायिका जल शाह देखि उच्च चलचित्रकर्मीसंग खिचेका फोटा तथा अवार्डहरूले भरिभराउ छ त्यो झुपडी । ‘मैलै अवार्ड र प्रमाण पत्र त धेरै पाए तर त्यसलाई सम्मान गर्न सकिन्’ खाटमुनी कोचेर राखिएको सयौ सम्मान पत्र देखाउदै भुटानीले भने । उनले पाएको ती सम्मान पत्र यदि सजाएर राख्ने हो भने एउटा ठूलो घरको आवश्क्ता पर्दछ तर बिचरा त्यो एउटा कोठमा कति थोक अटाओस ?उनका साथी भन्नु नै मोबाईल र रेडियो रहेछन् । काम परेका बेला कसैलाई फोन गरिहाल्ने भर पर्दो साथी र हरेक खबर दिईरहने रेडियो उनको जीवनको सवै भन्दा प्यारो बस्तु रहेछन् ।
मुर्म्बईमा पनि विभिन्न चलचित्रमा काम गरिसकेका भुटानीलाई सिबि गुरूङ भन्ने एक ब्यक्तिले निकै सहयोग गर्दा रहेछन् । गुरूङलाई देउताको संज्ञा दिदै भुटानी भन्छन् ‘मेरो आफ्नो छोरो भई दिएको भए पनि यस्तो सेवा गर्दैनथ्यो । उ मेरो लागि भगावान सरह छ ।’ गुरूङले दैनिक २ तीन पटक भुटानीलाई फोन गर्दा रहेछन् र अप्ठयारो परेको खण्डमा मान्छे पठाएर नभए आफै उपस्थित भएर उनको सेवा गर्दा रहेछन् । चलचित्र क्षेत्रभन्दा फरक क्षेत्रका ती मानिस गोपाल भुटानीको साथीको भाई रहेछन् ।
निकै गरिब आफ्नो जीवन दानमै बाचेको बताउने भुटानी यो समय जीवन र मृत्युको दोषाधमा छन् । उनी केही खान सक्ने अवस्थामा छैनन् । एक प्याकेट चाउचाउको सुप सक्न पनि उनलाई चार टाईम लाग्छ । अतितका दिनहरू र शुभचिन्तक सम्झदै भुटानी भन्छन् ”मलाई गुरू बा गुरू बा भन्नेहरूले आज एक कल फोन पनि गर्दैनन् ।”
उनको सम्पतीको नाममा एउटा साधारण खाट, प्लष्टिकको एउटा कुर्सी, बासको एउटा मुडा टि-टेबल एउटा, दुईवटा दराज तथा हजारको संख्यामा रछयान भएर बसेका सम्मान पत्र रहेका छन् ।
अल्सरले निकै च्यापिसकेको छ उनलाई कुनै पनि बेला सदाको लागि संसार छाड्ने अवस्थामा पुगिसकेका छन् भुटानी । उनले भात नखाएको तीन महिना भईसक्यो । शरिर भाटो जस्तो भईसकेको छ भुटानीको । पुराना कुनै पनि लुगा ठिक हुदैनन् उनलाई । दराजमा मिलाएर राखेको लुगा देखाउदै उनले भने ‘अहिले यो लुगामा तीन वटा गोपाल भुटानी अट्छ ।’
जुन सुकै बेला तेह त्यग्ने अवस्थामा रहेका भुटानी अल्सरको कारण जीवन र मृत्युको दोषाधमा छन् । सदाको लागि अस्ताउने अवस्थामा रहेका भुटानी सायद यो दशै सम्म रहन सक्छन वा सक्दैनन् केही भन्न सकिने अवस्था छैन् ।

‘हाइटले धोका दिनाले हिरो बन्न पाइनँ’ गोपाल भुटानी

विनोदविक्रम केसी


घर छैन उनको । परिवार छैन । अझ, नागरिकता नहुनुका सन्दर्भमा त, देश पनि छैन । आफ्ना दर्शक, प्रशंसक र ‘फिल्म लाइनका मान्छेहरू’को माया नै उनको ‘जेथापुँजी’ हो, सबथोक हो । दुई वर्ष अल्सरले थलिँदा उनलाई त्यही ‘जेथापुँजी’ काम लागेको थियो । सोझा, विनम्र र शालीन गोपाल भुटानीको काम भने झगडा गर्न सिकाउनु हो । नेपालका पहिलो द्वन्द्वनिर्देशक उनी । नेपाली फिल्ममा ‘सिस्टमेटिक तरिका’ले कुट्ने, कुटाइ खाने, लड्ने, पछारिने, बजारिने, भुइँमा च्यापु जोत्ने, लात/मुक्का बर्साउने कला भित्र्याउने मान्छे हुन् भुटानी । आज नेपाली फिल्म उद्योगमा द्वन्द्वनिर्देशकका रूपमा जो-जो जमेका छन्, अधिकांश उनैका चेला हुन् । राजेन्द्र खड्गी, एनबी महर्जन आदि सालिन्दै गुरुपूणिर्मामा गुरुभक्ति व्यक्त गर्न आफूकहाँ आउँदा उनी अत्यन्त भावुक हुन्छन् । ‘मलाई फिल्म लाइनका मान्छेहरूले असाध्यै माया गर्छन् । मेरो घर/ परिवार/इष्टमित्र/नातागोता जे भने पनि उनीहरू नै हुन्,’ उनी भन्छन् । अझ, द्वन्द्वकलाकार (फाइटर) हरूका लागि त ७७ वर्षीय सेतै फुलेका भुटानी भगवानै हुन् ।
घर छैन उनको । परिवार छैन । अझ, नागरिकता नहुनुका सन्दर्भमा त, देश पनि छैन । आफ्ना दर्शक, प्रशंसक र ‘फिल्म लाइनका मान्छेहरू’को माया नै उनको ‘जेथापुँजी’ हो, सबथोक हो । दुई वर्ष अल्सरले थलिँदा उनलाई त्यही ‘जेथापुँजी’ काम लागेको थियो । घरपरिवारका सवालमा उनी त्यति सुखी रहेनन् । सानैमा बाआमा खसे । बाआमाको मायाको त्यति हेक्का छैन उनलाई । वैवाहिक जीवन पनि सफल भएन उनको । गोवाकी क्रिस्चियन ‘लड्की’सँग बिहे गरेका थिए । उनीहरूका एक छोरा र एक छोरी भए । ‘इगो टक्करले हाम्रो गृहस्थी भताभुंग भयो,’ भन्छन् भुटानी । घरपरिवारको प्रसंग कतै उठ्यो भने उनलाई एकप्रकारको नरमाइलोले छोपिहाल्छ ।

***
भ्रम नपरोस्, गोपाल भुटानी भुटानमा जन्मेका होइनन् । इलामको फिक्कलमा जन्मेका हुन्, सन् १९३२ मा । अनुहारको बुनोटले व्यक्त गर्ने थोरै समानताबाहेक भुटान र भुटानीहरूसँग उनको कुनै साइनो छैन । गोपाल घिसिङ हो उनको खास नाम । बम्बई फिल्म इन्डस्ट्रीमा आफ्नो संघर्षकालमा जडेका हुन् उनले ‘भुटानी’ । ‘मेरा गुरुको नाम सतीश भुटानी थियो । उहाँको अन्डरमा हामी ५/६ जना एसिस्टेन्ट फाइट मास्टर थियौँ । हामी सबैले उहाँको ‘भुटानी’ थर सेयर गरेका थियौँ,’ भुटानी थर हुनुको कारण खुलाउँछन् उनी ।
उनको बाल्यकाल बंगलादेशमा बितेको हो । बाआमा नभएकाले काकाको रेखदेखमा ढाकामा हुर्किए उनी । किशोरावस्थामा प्रवेश गर्न नपाउँदै उनलाई फिल्मको चस्का लागि सकेको थियो । ‘सन् १९४५ तिर होला, सौकत भन्ने एकजना साथीसँगै म ढाकाबाट भागेँ । इन्डिया गएर हिरो बन्ने भूत सवार थियो ममाथि,’ विगत सम्झन्छन् भुटानी । दुई किशोर ढाकाबाट भागेर कलकत्ता पुगे । तर, कलकत्ता पुगेपछि भने उनीहरूलाई थाहा भयो- कलकत्तामा त फिल्मै नबन्ने रहेछन् । दनादन फिल्म बनाउने काम त बम्बईले गर्दारहेछ । कलकत्ताबाट अब बम्बई जाने निधो गरे उनीहरूले । घुम्दा, टहल्लिँदा, बरालिँदा गोपालले काकाको बगलीबाट उडाएको पैँतीस भारु सकियो । उनको ‘लंगौटिया यार’ सौकत बिँडी बनाउन जान्दथे । हिरो बन्ने लफडामा पर्नुभन्दा बिँडी, खैनी बेचेर दुई-चार पैसा कमाउनु बुद्धिमानी हो भन्ने ठानिसकेका थिए सौकतले । तर, हिरो बनेरै छाड्ने स्फूर्तिसहित इन्डिया पसेका भुटानीले सौकतको सूर्तीजन्य पदार्थको व्यापारमा हात बढाएनन् । ‘म बिँडी बेचेर बस्ने मान्छे हो ? म त हिरो बन्न आएको !’ उनी सौकतलाई यस्तै जवाफ दिन्थे ।

कलकत्ताबाट बम्बई पुग्न उनीहरूलाई ४० दिन लाग्यो । ‘स्टेसनैपिच्छे हामी रोकिन्थ्यौँ । विनाटिकट रेल चढ्थ्यौँ र टिटीले हामीलाई निकाल्थ्यो,’ भुटानीले विगतको यात्राप्रसंग सम्झे । जे होस्, बम्बई पुगे उनीहरू । सौकत आफ्नो धन्दामा लागे भने गोपाल आफ्नो सपनाको खोजीमा ।बम्बई टेकेको एक हप्तापछि उनी एकदिन जेमिनी सर्कस पुगे । फिल्मको नसा लागेको मान्छेलाई सर्कसको जादुमय संसार पनि कम्ती रोमाञ्चक लागेन । जेमिनी सर्कसको लाला नामको पालेलाई उनले यहाँ काम पाइँदैन ? भनेर सोधेछन् । उसले भोलि आइज भनेपछि उनी भोलिपल्ट हुर्दुराउँदै पुगे । लालाले उनलाई यामानको पहलमानकहाँ पुर्‍यायो । पहलमान जेमिनी सर्कसको मालिकको सहायक रहेछ । उसले- ए, केटा कहाँबाट आइस् भन्दा उनी चकित भए । ‘ऊ पनि नेपाली नै रहेछ । उसले मलाई के-के आउँछ, गरेर देखा भन्यो । मैले समरसल्ट (पल्टनबाजी) गरेर देखाएँ । किकसिक हानेर देखाएँ,’ भुटानी सम्झन्छन् । उनले सर्कसमा काम पाए । काम त पाए, तर हिरो बन्नका लागि सहायक सिद्ध नहुने काम पाए । ‘रिङमा घोडाले बिस्टायो भने गएर टिप्नुपर्ने । अनि, सर्कसको तबेला सफा गर्नुपर्ने । खानबस्नका टन्टै खतम हुने देखेर काम भने गरेँ ।’ हिरोका लागि आवश्यक शारीरिक तन्दुरुस्ती र मजबुती हासिल हुनेखालका अभ्यास खुब गरे उनले जेमिनी सर्कसमा । उनले काम गर्न थालेको आठ महिनापछि जेमिनी सर्कस रुस जाने भयो । तर, उनी भने गएनन् । किनभने, उनी त हिरो बन्न बम्बई गएका मान्छे, सर्कसको पुच्छर समातेर किन हिँड्थे र ?

***

अब उनको काम थियो बम्बईका स्टुडियोहरूको चक्कर लाउनु । ‘महालक्ष्मी, रन्जित, रूपतारा, श्रीसाउन्ड, एमएनटी स्टुडियोहरूको चक्कर लाउनु, स्टुडियोको गेटमा कलाकारहरू भित्र/बाहिर गरेको हेर्नु र सपना देखेर बस्नु… मेरा कामै यस्तै थिए,’ उनले भने । स्टुडियोभित्र जो पायो त्यही पस्न पाउँदैनथ्यो । अँधेरीमा रहेको एमएनटी स्टुडियोबाहिर होटेलमा फाइटरहरू बसिरहेका हुन्थे । गोपालको उनीहरूसँग दोस्ती हुन थाल्यो । पर्सा, गौली, धन्दु, हनुमान आदि फाइटरलाई उनी आफ्ना ‘कला’ देखाउन थाले । उनीहरू पनि गोपाललाई मन पराउन थालेका थिए । चिया-खाजा पनि खुवाउँथे । र, एकदिन उनीहरूले एमएनटी स्टुडियोका हेड फाइटमास्टर बुरानभाइकहाँ गोपाललाई पुर्‍याए । बुरानभाइले गोपाललाई देख्नेबित्तिकै ‘इसका हाइट छोटा है । ए कुछ नही कर पाएगा’ भनेर पहिले नै घोषणा गरिदिए । तर, उनले यौटा नरिवलको रूखमा यस्तो फुर्तीसाथ चढेर देखाइदिए कि बुरानभाइ ‘लड्के मे दम है’ भन्न बाध्य भए । त्यही दिन उनले त्यहाँ काम पाए । ‘केटीको लुगा लगाएर भित्ता फोरेर आठ/दस फिट तल खस्नुपर्ने । म तल त खसेँ, तर लड्नुपर्नेमा उभिदिएँ । अर्के टेकमा ओके गरेँ । सुटिङ स्पटमा भएका सबैले ताली बजाए,’ आफ्नो सुरुवाती सफलता सम्भिए उनले । अब उनले फाइटर र स्टन्टम्यानको काम पाउन थाले । ‘यौटा स्टन्ट गरेको सात रुपैयाँदेखि ३५ सम्म पाइन्थ्यो ।’ यौटा ग्यारेजमा बिहान तीन बजेदेखि ६ बजेसम्म गाडी धुने काम पनि गर्थे उनी । दिउँसो भने फाइट र स्टन्ट गर्न जान्थे । यस्तैमा, महालक्ष्मी फेमस स्टुडियोका प्रोड्युसर प्रकाश मेहराको गाडी पनि चलाए उनले । समी कपुर नायक भएको सिंगापुर नामको फिल्ममा एक चाइनिज पात्रको रोल पनि पाए उनले ।

***
सन् साठीको दशकमा भारतमा प्रोपागान्डिस्ट फिल्महरू बन्न थालेका थिए । ‘सारी जहाँ से अच्छा हिन्दुस्ताँ हमारा’ थिममा बन्ने यी चलचित्रमा भारतका चीरप्रतिद्वन्द्वी पाकिस्तान र चीनलाई होच्याइन्थ्यो । यस्ता केही फिल्मका चिनियाँ प्रमुख खलपात्रका भूमिकामा भुटानीलाई लिन थालियो । ‘हाइटले हिरो बन्न नदिए पनि मेन भिलेन भने बनिछाडेँ,’ भुटानी भन्छन् । हकिकत, ललकार, उडिक्का आदिमा उनी मेन भिलेन बने । केही नाम र दाम कमाउन थाले उनी । धर्मेन्द्र, विनोद मेहरा आदिसँग उनको राम्रो मित्रता हुन थाल्यो । तर, तासकन्द घोषणाले उनलाई डुबायो । सन् १९६६ मा भारत र पाकिस्तानबीच रुसको तासकन्दमा भएको शान्ति-सम्झौता हो तासकन्द घोषणा । तत्कालीन भारतीय प्रम लालबहादुर शास्त्री र पाकिस्तानी राष्ट्रपति मोहम्मद अयुब खानले तासकन्द घोषणामा हस्ताक्षर गरेपछि यी दुई देशले तत्काललाई प्रोपागान्डिस्ट फिल्म नबनाउने भए । यता, भुटानीले साइन गरिसकेका तीन राम्रा फिल्म अब नबन्ने भए । ‘लालबहादुर शास्त्रीले त मलाई चुर्लुम्मै पो पारे त, हाऊ !’ उनले हाँस्दै भने ।

***
बम्बईमा अभिनय, स्टन्ट र फाइट गरेर कमाएको पैसाले उनले जुहुबिचमा यौटा घर जोडेका थिए । त्यो घर बम्बईमा संघर्ष गर्न गएका नेपाली कलाकारको आश्रयस्थल थियो । ‘जुहुचर्च एरियामा गोपालभाइ भनेपछि नचिन्ने कोही थिएन । रवाफै बेग्लै थियो मेरो । कसैसित नदब्ने मान्छे थिएँ म । जवानीमा त एक्लैले सात-आठ जनासम्मलाई फाल्न सक्थेँ नि । रिल लाइफमा भन्या होइन, रिएल लाइफमा,’ हाँस्दै आफ्नो बहादुरी सुनाए उनले । एकचोटि, उनले सोले फिल्ममा साम्भाको भूमिकामा खेल्ने म्याकमोहनलाई कुटिदिएछन् । ‘तास खेलिरहेका थियौँ । कुरै-कुरामा उसले ‘कल तेरी जातवाली के साथ बहुत मस्ती किया’ भन्यो । मलाई यति रिस उठ्यो कि म्याकमोहनलाई बेस्कन ठटाइदिएँ,’ उनले आफ्नो झोँकको परिचय दिए ।

***
बम्बईमा उनले खासै स्टारडम हासिल नगरे पनि फिल्म निर्माणका विभिन्न पक्षका भने राम्रा जानकार भए उनी । अब आफ्नै मुलुकमा केही गर्नुपर्छ भनेर उनी नेपाल फर्किए । ‘खासमा, मलाई नेपाल ल्याउने निर्देशक प्रकाश थापा हुन्,’ आफ्नो नेपाल आगमनको कारण बताए उनले । मनको बाँधमा हुलाकीको छोटो अभिनय गरेर नेपाली चलचित्र-जगत्मा प्रवेश गरेका उनी जीवनरेखामा द्वन्द्वनिर्देशन गरेर नेपालको पहिलो द्वन्द्वनिर्देशक भए । ‘त्यतिबेला फाइटर पाउनै गाह्रो ! खाइलाग्दो जिउडाल भएको जोसुकैलाई पनि लिएर काम गरियो,’ उनले त्यतिखेरको अप्ठ्यारो सुनाए । उनले ७० वटा जति चलचित्रमा द्वन्द्वनिर्देशन र सय जतिमा कलानिर्देशन गरेका छन् ।उनलाई सोधियो- नेपाली फिल्मका फाइटरहरूको भविष्य के ? ज्यान र उमेर छउन्जेल त गोदागोद गर्लान्, लड्लान्-पड्लान्, तर त्यसपछि के त ? भुटानीका विचारमा नेपाली फाइटरहरू चलचित्रमा अनुहार देखाउने सोख पूरा गर्न मात्रै आउने हुन् । ‘नेपालका फाइटरहरू ‘लल्लुपन्जु’ छैनन् । उनीहरू आर्थिक रूपले राम्रै छन्,’ भन्छन् भुटानी । कुटाइ खानु, शरीरलाई सन्तुलनमा राखेर लड्नु ‘ग्रेट आर्ट’ हो भन्ने भुटानीका अनुसार नेपाली फिल्मका फाइटरहरूले यौटा फाइट गरेको रु. तीन हजार लिन्छन् भने द्वन्द्वनिर्देशकहरू तीन/चार लाखसम्म कमाइरहेका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 23, 2010 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: