RSS

भारतसँग ‘राष्ट्रिय युद्ध’का लागि तयारी गरौं : दाहाल, वैद्यलाई फकाउने प्रयास

24 Nov

भोजराज भाट, पालुङटार, मंसिर ८
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकबाट भारतसँग हुनसक्ने सम्भावित ‘राष्ट्रिय युद्ध’ को तयारीका लागि विस्तृत कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। पालुङटारमा चलिरहेको छैटौं विस्तारित बैठकको बन्दसत्रमा बोल्दै दाहालले राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।
विस्तारित बैठकमा माओवादी उपाध्यक्ष द्वय बाबुराम भट्टराई र मोहन वैद्यको फरक मतलाई सम्बोधन गर्नेक्रममा उनले भारत नै प्रधान शत्रु’ भएको किटानीसमेत गरे। अन्तराष्ट्रिय जनमत तयार गर्दै भारतले माओवादी पार्टी र क्रान्तिलाई सिध्याउने योजना बुनिरहेको दाहालले आरोप लगाए।
‘राजतन्तको अन्त्यसँगै प्रधानअन्तरविरोधको रुप फेरिएको छ। सम्पन दलाल, नोकरशाही र भारतीय विस्तारवाद नै हाम्रो मुख्य शस्त्रु हुन्,’ दाहालले भने, ‘अब राष्ट्रिय युद्ध तयारी गर्दै जनविद्रोहमा जानुपर्छ। यो भेलाले राष्ट्रिय प्रतिरोध गर्न सक्ने आन्दोलनको योजना बनाउनुपर्छ।’माओवादी शान्तिप्रक्रियामा आइसकेपछि भारतको सत्ता पक्षबाट अनेक षड्यन्त्र रचिएको रहस्य पाँच हजार कार्यकर्तामाझ उनले खोले। ‘रौतहट हत्याकाण्डमा भारतकै मान्छेहरु आइ गोली चलाएका हुन्, यो कुरा उपेन्द्र यादवले पनि मलाई भन्नुभएको थियो’, दाहालले अगाडि भने, ‘रुकमांगत कटुवाल कारबाही भारतकै कारण भएको हो, कांग्रेस-एमालेका कारण होइन।’
अहिलेको सरकार गठन प्रक्रिया पनि भारतकै कारण अवरुद्ध भएको दाहालको दाबी छ। ‘अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गर्नु दुई साताअघि मात्र भारतले हामीले क्यान्टोनमेन्टमा भारतीय माओवादीलाई तालिम दिएको आरोप लगायो,’ उनले भने, ‘त्यतिमात्र नभइ हामीलाई लस्कर ए तोइबाजस्ता आंतकवादी संगठनसँग जोडेर अन्तर्राष्ट्रिय जगतबाट एक्ल्याई सिध्याउने रणनीतिमा भारत छ, यसबारे हामी सचेत हुनुपर्छ।’दाहालले मंगलबार राखेको अढाई घण्टा लामो मन्तब्यमा ‘प्रधान शत्रु’ को विषयमा उनको मत वैद्यसँग मिलेको छ। वैद्यले सोमबार भारतीय संस्थापन पक्षलाई ‘न्युट्रलाईज’ गर्न त्यहाँका जनयुद्धरत माओवादी पार्टीसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए। उनले क्रान्ति सम्पन्नपछि सम्भावित भारतीय हस्क्षेपलाई त्यहाँकै अन्य शक्तिबाट रोक्न सकिने तर्क राखेका हुन्।
दाहाल र वैद्यको तर्कप्रति अर्का उपाध्यक्ष भट्टराई सहमत छैनन्। भट्टराईले अहिलेको अवस्थामा भारतलाई चिढ्याएर होइन, उसलाई न्युट्रलाईज गरेर मात्र विद्रोहको योजना बनाउनुपर्ने जिकिर गरेका थिए। भारतले हस्तक्षेप गरेकेा वेला राष्ट्संघले सघाउने खालको वातावरण नबनेसम्म क्रान्ति सफल नहुने भट्टराईको धारणा छ।राष्ट्रियता र जनवादको विषयमा भट्टराईको विश्लेषण बेठीक भएको दाहालको दाबी छ। ‘मेरो राजिनामाको ड्राफ्ट नै डा भट्टराईले गर्नु भएको हो, त्यहाँ विदेशी प्रभुको हस्तक्षेप स्वकार्ने दिन गयो भनिएको छ’, उनले भने, ‘विस्तारवादलाई विरोध गर्ने सवालमा भारतलाई छुट्टै राखेर हेर्नुपर्छ भनेर भट्टराईले भन्नुभएको छ, त्यो उहाको दृष्टिदोष हो। यसमा उहाँ क्लियर हुनुपर्छ, सच्चिनुपर्छ।’
शान्ति प्रक्रियाको चार वर्ष १० वर्षे जनयुद्धभन्दा बढी जोखिमपूर्ण रहेकेा दाहालले प्रष्टाए। उनले भने, ‘यसबीचमा पार्टीलाई जनव्यापी बनाउन सकेका छौं। यो एउटा घुम्ती हो, हामी त्यही घुम्तीमा यात्रा गरिरहेका छौं।’

वैद्यलाई फकाउने प्रयास

उजिर मगर, पालुङटार, मंसिर ८
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी विस्तारित बैठकमा मंगलबार आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई फकाउने प्रयास गरेका छन्। अर्का उपाध्यक्ष बाबुराम भट्टराईको विचारसँग भने आफू असहमत रहेको उनले प्रस्ट्याएका छन्।
‘बाबुरामजीसँग मेरो एकताभन्दा संघर्ष प्रधान भयो, किरणजीसँग संघर्षभन्दा एकताप्रधान रह्यो,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै एक सहभागीले नागरिकसँग भने, ‘यति हुँदाहुँदै पनि हामी एक भएर अघि बढ्नुको विकल्प छैन।’सोमबार आफ्ना प्रतिवेदन राख्दै उपाध्यक्षद्वय वैद्य र भट्टराई अध्यक्षप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए। दाहालले वैद्य र आफ्नो लाइनबीच कुनै भिन्नता नरहेको दाबी गर्दै उपाध्यक्षद्वयको आलोचनाको सामान्य प्रतिरक्षामात्र गरे। ‘वैद्यजीले मलाई चुनौती दिन मिल्दैन, मेरो र उहाँको लाइनमा धेरै अन्तर छैन,’ मन्तव्यको सुरुमै दाहालले भने।वैद्यलाई फकाउने क्रममा दाहालले उनका विश्वासपात्र युवानेता नेत्रविक्रम चन्दलाई समेट्न नसकेको भन्दै बारम्बार आत्मालोचनासमेत गरेका थिए।
संगठनमा पकड राख्ने वैद्यसँग आफ्नो लाइन मिलाएर पार्टीमा थप पकड जमाउने रणनीतिमा दाहाल रहेको स्रोतको दाबी छ। वैद्यनिकट युवा नेता भने यसलाई दाहालको चालाबाजीकै निरन्तरता मान्छन्।पार्टी आफ्नै लाइनअनुसार अघि बढेको भन्ने वैद्य र भट्टराईको दाबीलाई दाहालले सुरुमै प्रतिवाद गरे।
‘उहाँ (वैद्य, भट्टराई) हरूले सधैँ लाइन आफ्नो भन्नुहुन्छ, तर, पार्टीलाई यहाँसम्म ल्याउने मुख्य भूमिका मेरै हो,’ दाहालले भने, ‘त्यसकारण पूरै टिम स्पिरिटमा हामीले काम गर्‍यौँ भन्नुपर्‍यो।’भारतलाई प्रधान अन्तर्विरोध नमानेकाले भट्टराई आत्मसमर्पणवादी रहेको दाहालले आरोप लगाए। विचार र प्रधान अन्तर्विरोधमा भट्टराईसँग आफ्नो मत नमिल्ने जिकीर गर्दै उनले भने, ‘अहिले राष्ट्रिय स्वाधीनताको आन्दोलन मुख्य बनेको छ, जसका लागि भारत घुलमिल भएर आएकाले अहिलेको हाम्रो प्रधान अन्तर्विरोध उहीसँग हो।’
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष भट्टराईले आफूले पार्टीको रूपान्तरणसहित एकता चाहेको बताए। ‘अध्यक्षको लाइन प्रस्ट छैन, त्यसैले मैले फरक प्रस्ताव राख्नुपरेको हो,’ उनले भने, ‘पार्टीको रणनीतिक, सैद्धान्तिक दीर्घकालीन महŒव राख्ने विषयमा सहमत हुन सकेन भने त्यसलाई महाधिवेशनमा टुंगो लगाउँछौं।’बैठकपछि वैद्यका विश्वासपात्र चन्दले अध्यक्ष दाहालको भनाईलाई उद्धृत गर्दै भने ‘क्रान्तिमा हामी जसरी आऔं त्यसलाई कार्यन्वयन गर्ने टिमलाई सँगसँगै लिएर जानु पर्ने थियो भन्ने अध्यक्षले महसुस गर्नुभयो।’
दाहालले आफ्नो राजनीतिक प्रस्तावविरुद्ध आएका उपाध्यक्षद्वयको सामना युवा नेताको प्रशंसाबाट गरेका छन्। उनी आफूविरुद्ध आएका प्रस्तावको जवाफ दिँदै र आफ्नो प्रस्तावसमेत राख्दै झण्डै करिब १५ मिनेट पार्टीका युवा नेतामा केन्द्रित भए।
उनले खासगरी वैद्य निकट मानिने नेत्रविक्रम चन्द र बीचको केही समय बाबुराम भट्टराई नजिक रहे पनि सँधै आफूनिकटका युवा नेता वर्षमान पुनको खुलेर प्रशंसा गरे। दाहाल प्रधानमन्त्री हुँदा पुन भट्टराई निकट पुगेका थिए।आफू सरकारमा जाँदा युवा नेताहरूलाई समेट्न नसकेकोमा गल्ती महसुस गर्दै दाहालले संविधानसभामा सबैले जानु पर्थ्यो भनेका छन्। यसरी दाहालले युवा नेताको प्रशंसा र संविधानसभामा पुगेर पनि राजीनामा गर्ने आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष वैद्यको नाम नदिई उनले आलोचना गरेका छन्।

Nagarik news

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 24, 2010 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: