RSS

वैद्य हावी, भट्टराई सुदृढ, दाहाल कमजोर

27 Nov

पालुङटार, मंसिर ११
माओवादीभित्र चर्चित भनाइ छ, पुष्पकमल दाहाल भनेको आगोको त्यस्तो ‘प्रचण्ड’ राप हो, जोसँग ठोक्किदा कि जलेर नष्ट भइन्छ, कि विलय। ०४८ सालको एकता महाधिवेशनयता पार्टीभित्र दाहाल साँच्चिकै ‘प्रचण्ड राप’झैं देखिए। जनयुद्ध सुरु नहुँदै दाहालले रामबहादुर थापालाई सांस्कृतिक कारबाहीमा पारे। १० वर्षे जनयुद्धका क्रममा उनीसँग बाबुराम भट्टराईका आधा दर्जनभन्दा बढी वैचारिक घम्साघम्सी परे। अन्ततः उनले पनि ०६२ असोजको चुनवाङ बैठकमा आफू दाहालमा विलय भएको स्वीकारे। दाहालसँग अन्तरविरोध राख्ने कैयन नेता कि पार्टी छाडेर हिँडेका छन्, कि जिम्मेवारविहीन।
पालुङटारमा भइरहेको छैठौं विस्तारित बैठकमा दाहालविरुद्ध उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले वैचारिक मतभेद दर्ज गरेका छन्। त्यो पनि दाहाल नेतृत्वको हेडक्वार्टरलाई चर्को आलोचना गर्दै, ‘नीति तथा नेतृत्व एउटै हुनुपर्ने’ मागसहित। विस्तारित बैठकको पाँच दिनको परिदृश्य मूल्यांकन गर्दा दाहालको २० वर्षे एकाधिपत्य अन्त्य भएको छनक मिल्छ।
पार्टीको महत्त्वपूर्ण मोर्चा अन्तर्राष्ट्रिय ब्युरोबाट विस्तारित बैठकमा दाहालतर्फबाट बोल्ने प्रतिनिधि कोही भेटिएन। अन्तर्राष्ट्रिय ब्युरोबाट बेल्जियमका विष्णु भुजेलले वैद्यतिर बोले भने भट्टराईका तर्फबाट कृष्ण आचार्यले। दाहालका ‘भित्रिया’ मानिने कृष्णबहादुर महरा इन्चार्ज रहेको अन्तर्राष्ट्रिय ब्युरोबाट पक्षमा बोल्ने मान्छे नहुनु उनका लागि कम्ति लाजमर्दो भएन।
०६५ मंसिरको खरिपाटी भेलामा दाहालको पक्षमा एक्लौटी वकालत गर्ने माओवादी जनमुक्ति सेना पनि अहिलेको विस्तारित बैठकमा विभाजित देखियो। तीन नम्बर डिभिजनका एक कमान्डर रविन्द्रले खुलेयाम दाहाललाई चुनौती दिए, ‘हामी क्रान्तिको उद्देश्यले जनमुक्ति सेना बनेका हौं, दायाँ-बायाँ गर्नुभयो भने बन्दुकको नाल तपाँइहरूतिरै सोझिन्छ।”चेन अफ कमान्ड’का नाममा दाहालले आफूहरूलाई सरकार पुग्ने ‘बार्गेनिङ कार्ड’का रूपमा प्रयोग गरेको आरोपसमेत कमान्डरहरूले लगाए।त्योभन्दा बढी दाहालको टाउको दुखाइको विषय अर्को बन्यो, लडाकुले भट्टराईको पक्षमा गरेको खुलेयाम वकालत। अधिकांश लडाकुका नजरमा भट्टराई ‘भारतप्रति लचिलो’ नेताका रूपमा चिनिन्थे। भट्टराईले विस्तारित बैठकमा ल्याएको फरक दस्तावेजमा सेना समायोजनबारे स्पष्ट खाका व्याख्या गरिदिएपछि उनका पक्षमा लडाकु आकर्षित भएका हुन्।

बैठकका सहभागीबीच तीनथरि कार्यकर्ता भेटिए। पहिलो- १० वर्षे ‘जनयुद्ध’मा अहोरात्र खटिएका, सपरिवार युद्धमा होमिएका कार्यकर्ता, जो अहिले नाजुक आर्थिक अवस्थामा छन् र सांगठनिक जिम्मेवारी अरूको तुलनामा कम पाएका छन्। ‘जनयुद्ध’लाई यहाँसम्म ल्याउन यो समूहले आफ्नो सन्तान गुमाएको, घरबार विचल्ली पारेको यथार्थ माओवादीभित्र कसैले नकार्न सक्दैनन्। अहिले यही समूह वैद्य पक्षधरका रूपमा चिनिएको छ।दोस्रो- पढाइमा सधैं अब्बल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्धिक ख्याति कमाएका भट्टराईलाई आदर्श मानेर एउटा वर्ग ‘जनयुद्ध’मा होमियो। उनलाई नायक ठान्दै बौद्धिक वर्गमा पर्नेहरू पूर्णकालीन (होलटाइमर) भए। होलटाइमर हुन नसक्ने (बुद्धिजीवी, सहरीया मध्यमवर्गीय) ले पनि माओवादीलाई प्रत्यक्ष-परोक्ष सहयोग गर्दै आए, र गरिरहेका छन्। द्वन्द्वको समयमा किताबी रटानमात्रै फलाक्ने, तर प्रत्यक्ष लडाइँमा कम सहभागी हुन नसक्ने आरोप यो समूहमाथि लाग्दै आयो। भट्टराईले फरक दस्तावेज ल्याएपछि यो समूह उनका पक्षमा ज्यान फालेर लागेको देखियो।तेस्रो- माओवादी युद्धका बेला ‘हार्डलाइनर’का रूपमा चिनिएका, तर शान्ति प्रक्रियामा आएपछि विलासी जीवनमा रमाइरहेकाहरू यो समूहमा पर्छन्। वैद्यको विश्लेषणमा, ‘क्रान्तिको ब्याज खानेहरू’ पालुङटार बैठकमा दाहालतिर खुल्मखुल्ला उभिए। जनसेना र वाइसिएलका नाममा ‘युद्ध सरदार’ (वार लर्ड) बनेकाहरू आफ्नो अकुत धन जोगाउन हिजोआज ‘हेडक्वार्टर’ निकट टाँसिएको वैद्य र भट्टराई पक्षधरको आरोप छ। शान्तिप्रक्रियापछि कम्युनिस्ट धु्व्रिकरणका एजेन्डामा माओवादीमा भित्रिएका नवप्रवेशी पनि अधिकांश दाहाल पक्षधर मानिन्छन्।
खरिपाटी भेलाताका कार्यकर्ताबीच यस्तो तीन वर्ग देखिएको थिएन। त्यो भेलाको एजेन्डा बनेको थियो, ‘रेड’ र ‘एक्सपर्ट’ बीचको लडाइँ। माओवादी भाषामा यसलाई ‘लाल’ र ‘निपूर्ण’ पनि भन्ने गरिन्छ। युद्धमा घाइते, अपांग, बेपत्ता तथा सहिद भएका परिवार शान्ति प्रक्रियामा उपेक्षित हुँदै गए। अन्तरिम व्यवस्थापिका, गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकार र माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारताका पढेलेखेका, ब्युरोक्रेसी बुझेका र राष्ट्रिय-अन्तर्राष्ट्रिय माहोल ठम्याउन सक्नेहरूले धमाधम अवसर पाउन थाले। द्वन्द्वको आलो घाउ बोकेकालाई औषधोपचार गर्नसमेत आफन्तसामु ऋण माग्नुपर्ने स्थिति बन्यो। विस्तारै घरबार त्यागेका होलटाइमर शान्ति प्रक्रियापछि भत्किएको पुरानो घर निर्माणमा लागे र पार्टीलाई पार्टटाइमका रूपमा लिन थाले।
दाहाल प्रधानमन्त्री भएकै बेला पार्टीभित्रका इमानदार कार्यकर्ताले ‘निपूर्ण’ले मात्र अवसर पाएको आरोप लगाए। दाहाल र भट्टराई खरिपाटी भेलामा संयुक्त क्याम्पमा रहेकाले वैद्य पक्षधरले दुवैलाई अवसरवादी, दक्षिणपन्थी पगरी गुथाए। खरिपाटी भेलाले दाहालको शान्ति र संविधानको कार्यदिशा परिवर्तन गरेर जनविद्रोहको लाइन पारित गर्‍यो। त्यही लाइनलाई दाहालले व्यवहारमा कार्यान्वयन नगरेको आरोप अहिले वैद्य पक्षधरले लगाइरहेका छन्।खरिपाटी भेलाताकाको दाहाल-भट्टराई क्याम्प यतिखेर भत्किसकेको छ। कुनै बेलाका ‘राजनीतिक गुरु’ वैद्यले पनि फरक दस्तावेज ल्याएर आफ्नै चेला दाहाललाई चुनौतीमात्र दिएका छैनन्, उनी क्रान्तिका लागि सैद्धान्तिक र व्यवहारिक रूपमा भट्टराईभन्दा बढी हानिकारक हुने दाबीसमेत गरेका छन्।
वैद्यले दाहाललाई ‘मध्यपन्थी धार’को आरोप लगाउँदै मुखमा क्रान्ति तर व्यवहारमा दक्षिणपन्थीसँग सम्झौता गर्ने व्यक्ति भनेर चित्रित गरेका छन्। उता वैद्य र भट्टराई दुवै अतिवादी भएको र आफ्नो लाइन नै नेपाली क्रान्तिको निर्विकल्प कार्यदिशा भएको दाहालको दाबी छ।विस्तारित बैठकमा दाहालको पक्षमा बोल्ने प्रतिनिधिले ‘जनयुद्ध’को मूल्य र मान्यतालाई नबिर्सिकन क्रान्तिको कार्यदिशा पारित हुनुपर्नेमा जोड दिएका थिए। दाहाल पक्षका केही वक्ताले घुमाउरो तवरमा सैद्धान्तिक रूपमा वैद्यको कार्यदिशा सही भएको र त्यसको नेतृत्व दाहालले गर्नुपर्ने जिकिर गरेका थिए। वैद्य पक्षधरका वक्ताहरूले आर्थिक हिसाबकिताब देखाउन दाहाललाई चुनौती नै दिए।
विस्तारितमा बोल्ने नौ दर्जनजति प्रतिनिधिले सांगठनिक रूपमा कमजोर मानिएका भट्टराईको यसपटक अभूतपूर्व सफलता हासिल भयो। भूगोल र जनवर्गीय संगठनमा उनका मान्छे कमजोर ठानिए पनि भेलामा उनका पक्षमा बोल्ने सहभागीको कमी थिएन। दाहालको प्रत्यक्ष कमान्डमा चल्ने वाइसिएल र लडाकुभित्र अहिले पनि भट्टराई कमजोर देखिए। लडाकुका चार डिभिजनबाट उनका पक्षमा कमान्डरले बहस गर्नु उल्लेख्य छ।यसआधारले पनि विस्तारित बैठकमा वैद्य पक्ष हाबी, भट्टराईको पक्ष सुदृढ र दाहालको स्थिति कमजोर भएको मान्न सकिन्छ। जिज्ञासा उठ्छ, के दाहालको २५ वर्षे नेतृत्वमाथि ‘थे्रट’ भएकै हो?
‘संसारका कुनै पनि वादमा नेतृत्व एकाएक बनेको इतिहास छैन, झन् कम्युनिस्ट पार्टीमा भीषण वर्गसंघर्षबाट नेतृत्व स्थापित हुने गर्छ,’ पालुङटार भेलाको उद्घाटन क्रममा दाहालले दाबीसमेत गरे, ‘रातारात नेतृत्व परिवर्तन हुने कुरा कसैले नचिताए हुन्छ।’माओवादीलाई नजिकबाट नियाल्नेहरू भन्छन्, दुई दसकदेखि दाहाललाई वैद्यले दर्शनमा र भट्टराईले ‘जनयुद्ध’को आर्किटेक्ट गर्नमा अविरल सघाइरहेका थिए, तर अब त्यो स्थिति नहुनसक्छ। दाहालको व्यक्तित्वलाई देवत्वकरण बनाइनुपर्छ भन्ने वैद्यहरू अहिले उनको कटु आलोचनामा लागेका छन्। पार्टीभित्र र बाहिर शक्ति सन्तुलन मिलाउन खप्पिस दाहाललाई यतिखेर पार्टीभित्रैबाट विश्वास गुम्दै गएको छ। त्यस अर्थमा दाहाल पक्कै कमजोर देखिएका छन्। भलै उपाध्यक्षद्वयले उनीमाथि अहिलै नेतृत्व हड्प्ने अभिव्यक्ति दिएका छैनन्, तर यही राग बढ्दै गए आगामी सम्मेलन वा महाधिवेशनमा उनको निर्विकल्प नेतृत्व गुम्ने निश्चित छ।
Nagarik news

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 27, 2010 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: