RSS

कुस्तीमा हस्तीहरू

01 Dec


अग्लो कदका नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र होचो कदका प्रधानमन्त्री माधवकुमार नेपालबीच कुनकुन कुरामा समानता छ ? जवाफ हो, खासगरी तीनवटा कुरामा मात्रै। पहिलो, दुवैले चार दशक लामो राजनीतिक जीवन बिताएका छन्। उनीहरू दुवै तत्कालीन नेकपा मालेका संस्थापक हुन्, यो दोस्रो समानता हो भने दुवै नेता उमेरमा दाँैतरी पनि हुन्, जुन तेस्रो र अन्तिम समानता हो। यी तीनबाहेक खनाल र नेपालबीच उल्लेख गर्नलायक अर्को समानता देखिन्न।
दुवैबीचको अर्को समानतालाई पनि गन्न सकिन्छ। दुवैलेे जागिरे जीवनको पनि अनुभव चाखेका छन्। जस्तो, खनाल माध्यमिक विद्यालयका शिक्षक र नेपालले राष्ट्रिय वाणिज्य बैँकको खजान्ची भएर जागिरे जीवनका मोटामसिना कुरा थाहा पाएका छन्। भनिन्छ, उनीहरूको आनीबानी पनि यी दुई भिन्न विषयबीचको फरकजस्तै छ। यतिबेला खनाल-नेपाल सम्बन्धको अवस्था जम्काभेटमा हुने उनीहरूको हात मिलाइमा मात्रै सीमित छ। यतिसम्म कि चाहेका बेला भेटघाट र छलफल गर्ने अवस्थामा पनि छैनन् उनीहरू। एमालेका पोलिटब्युरो सदस्य प्रदीप नेपाल निकै समयदेखि उनीहरूबीच मधुर सम्बन्ध नरहेको बताउँछन्। भन्छन्, “सम्बन्ध चिसो भएको कुरा दुनियाँलाई थाहा छ।”
अध्यक्ष खनाल र प्रधानमन्त्री नेपालबीच बिग्रँदो सम्बन्धको पछिल्लो संस्करण बन्यो, ४ मंसिरमा प्रस्तुत बजेट। कामचलाउ सरकारले पूरक बजेट ल्याउन नपाउने अडानमा माओवादीसँगै एमाले संस्थापन पक्ष पनि एकढिक्का भएर उभिएको थियो। अध्यक्ष खनालले सहमतिबिना बजेट ल्याउन हुँदैन भन्ने तर्क गर्दै हिँडेपछि सम्बन्ध झनै चिसिएको थियो। प्रत्युत्तरमा प्रधानमन्त्री नेपालले सहमति नभए पनि कात्तिकभित्रै बजेट ल्याउने बताइदिएका थिए। उनीहरूको जुहारीमा सरकारी आवाज मधुरो हुँदै जाँदा अर्का नेता केपी ओलीले छक्याएर भए पनि बजेट ल्याउने धम्की दिए।
बजेट आएपछि पास हुन्छ र पास हुनु भनेको सरकारले बहुमत पाउनुसरह हो भन्ने बुझाइमा माओवादी मात्रै होइन, एमाले संस्थापन पनि रहेको एमालेनिकटका विश्लेषकहरूको भनाइ छ। यस्तो बुभनेमा एमाले अध्यक्ष खनाल नै सबैभन्दा अगाडि थिए भन्ने पनि उनीहरू ठान्छन्। बजेटकै प्रसंगमा राष्ट्रपतिलाई शासन सुम्पने प्रधानमन्त्रीको धम्कीका बाछिटा पनि सुकेका छैनन्। पार्टीभित्र कुनै पनि बेला यो सन्दर्भ गम्भीर रूपमा उठ्ने संकेत दिन्छन्, एक पोलिटब्युरो सदस्य। प्रधानमन्त्रीको अर्को भनाइ पनि साँचेर राखेको छ, पार्टी संस्थापनले। त्यो हो, गणतन्त्रको। ‘गणतन्त्र माओवादीलाई खुसी पार्न मात्र मानेका हौँ’ भन्ने नेपालको भनाइले पनि मूल्य चुकाउनुपर्ने ती पोलिटब्युरो सदस्यको बुझाइ रहेको छ।
पार्टीबाट विवेक लिन सरकारले कञ्जुस्याइँ नगरेको भए सम्बन्ध यत्तिसारो गएगुजि्रएको नहुने संस्थापनको ठहर छ। एमाले संसदीय दलका मुख्य सचेतक भीम आचार्यका अनुसार, सरकार र पार्टीको सम्बन्ध सुमधुर नहुँदाका परण्िााम देशले नै भोग्दैछ। तर, उनी प्रधानमन्त्री र पार्टी अध्यक्षबीचको मतान्तर व्यावहारकि कम र सैद्धान्तिक बढी हो भन्न छुटाउँदैनन्। भन्छन्, “यसको समाधान सैद्धान्तिक ढंगले नै सम्भव छ।”

एमालेका यी दुई नेतामा जति असमानता देखिएको छ, त्यसभन्दा धेरै गुना बढी फरक सोच, रहनसहन र दैनिकी छ। स्वभाव, जीवनशैली र आचारविचारको सवालमा खनाल र नेपाल भिन्न ध्रुवमा उभिएको ठोकुवा गर्न हच्किनु पर्दैन। राजनीतिक हैसियत जे-जस्तो भए पनि विश्लेषकहरूमाझ यी दुईको भिन्न छवि छ, आनीबानी हेर्दा। जस्तो ः खनाल ढिलो कुरा बुझ्छन् र सहमत भइसकेपछि सजिलै कुरा फेर्दैनन्। नेपाल भने छिटो कुरा बुझ्छन् तर कुनै पनि बेला अडान बिर्सन सक्छन्। वर्तमान र पूर्व पार्टीप्रमुखहरूको यही आनीबानीलाई पार्टीको छविसँग गाँसेर पटकपटक ठट्टा पनि चल्ने गर्छ।
सुटेटबुटेड, आकर्षक व्यक्तित्व र बौद्धिक छवि अध्यक्ष खनालको पुरानै परचिय हो। अध्ययन उनको अर्को पुरानो बानी हो। अहिले आएर अडान पनि उनको परचियमा थपिन लागेको छ। उनमा साहित्यिक सुझबुझ पनि छ। यसैगरी, सन्तुलनकारी, गतिशील, कार्यकर्ताको पहुँचमा रहने, अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा खनालभन्दा प्रधानमन्त्री नेपाल नै अगाडि मानिन्छन्। केही समान र केही भिन्न गुणहरूले नै यी नेतालाई राजनीतिको केन्द्रमा राख्न सहयोग गरेको उनीहरूलाई नजिकबाट चिन्नेहरूको ठम्याइ छ। खनालको नजरमा नेपाल एमालेभित्रका कांग्रेस हुन्, जसमा अब प्रगतिशील सोचको अंश पनि बाँकी छैन। नेपालका नजरमा खनाल एमालेभित्रका माओवादी हुन्, त्यसैले उनी आवश्यकताभन्दा बढी क्रान्तिकारी खरानी घस्ने गर्छन्। खनाल-नेपाल सम्बन्ध इतिहासमा पनि सुमधुर थिएन। पार्टीका पुराना नेताहरू सुरुदेखि नै उनीहरूबीच औपचारकि सम्बन्ध मात्र रहेको बताउँछन्। तर पनि, ०३२ सालमा स्थापित को-अर्डिनेसन कमिटीदेखि उनीहरू सँगसँगै छन्। ०४६ अघि खनाल पार्टी महासचिव हुँदा नेपाल उनका सहयोगी थिए। तर, पहिलो जनआन्दोलनपछि महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको पक्ष र विपक्षमा हात उठाउने प्रश्नमा उनीहरूको बाटो भिन्न भयो। तत्कालीन महासचिव भण्डारीका कट्टर हिमायती भएर उभिए नेपाल। खनालचाहिँ तत्कालीन पोलिटब्युरो सदस्य सीपी मैनालीले प्रस्तुत गरेको नौलो जनवादको प्रवक्ता बने। नौलो जनवादको हारसँगै पाँचौँ महाधिवेशनमा खनाल केन्द्रीय सदस्यमा सीमित भए। नेपाल भने भण्डारीपछिका नेता बने। नेपाल १५ वर्ष महासचिव हुँदासम्म खनाल निणर्ायक हुन सकेनन्।तर, यसअघि गाँड कोराकोरको अवस्थामा पनि पुगेका थिएनन् उनीहरू। विशेष गरी नेपालले सरकारको नेतृत्व सम्हालेपछि दुई नेताबीच सम्बन्धमा चिसोपन बढेको हो। अध्यक्षले सरकारविरोधी अभिव्यक्ति दिइरहने र प्रधानमन्त्रीले पनि पार्टी अध्यक्षलाई छिर्के हान्ने उपक्रम चलिरहेकै छ। पार्टीको निर्देशन वा सल्लाह मान्दैनन् प्रधानमन्त्री भन्ने खनालको गुनासो छ। र, सरकारका काम-कारबाहीलाई सकारात्मक रूपमा लिँदैनन् पार्टी अध्यक्ष भन्ने नेपालको भनाइ। अझ खनालले वर्तमान सरकार असफल रहेको समेत सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। उल्लेख्य पक्ष के हो भने यही विषयले अहिले यी दुईबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्रीको दौडमा समेत खनाल-नेपालबीच सम्बन्ध सुधि्रन सकेन। खनालको पोल्टामा दुईतिहाइ बहुमत पुग्ने सम्भावना देखिए पनि नेपालले उम्मेदवारी प्रस्ताव खिचेको तीतो अनुभव बोकेर बसेको छ, संस्थापन पक्ष। त्यसो त यावत् समस्यामा प्रधानमन्त्री नेपालसँग पाँैठेजोरी खेलिरहेको संस्थापन नेपाललाई प्रमुख प्रतिद्वन्द्वी मान्दैन। एक पोलिटब्युरो सदस्यका शब्दमा, अब उनी आफैँमा प्रमुख नेता होइनन्। यो भनाइको संकेत हो, उनी पार्टीमा स्थापित दुई धारमध्ये कतैको पनि नेतृत्व गर्दैनन्। यस भनाइले पार्टीमा नेपालको पकड दह्रो छैन भन्ने पनि संकेत गर्छ।
आफ्नै सरकारलाई पार्टीले सहयोग नगरेको नेपाल पक्षको गुनासो पुरानो होइन। त्यसैगरी पार्टीसँग आपनो कुनै नाता छैन भन्ने भाव दिँदै सरकार चलेको छ भन्न पछि पर्दैनन् संस्थापन पक्षधरहरू। दुई धारमा बाँडिएका एमाले कार्यकर्ताको आरोप-प्रत्यारोप चलिरहेकै छ, कहिले तीव्र कहिले मन्द। विवादका लागि कुनै मौका छोड्दैनन् दुवै पक्ष। जस्तो कि, प्रधानमन्त्री बाघ सम्मेलनमा रुस जाने कुरा पनि विवादकै विषय बन्यो। अर्थमन्त्रीलगायतका संस्थापन पक्षधरहरूले प्रधानमन्त्रीको रुस भ्रमण स्थगित गर्न भनेका थिए। सरकारको कामचलाउ हैसियत र मुलुकको जटिल राजनीतिक अवस्थालाई उनीहरूले रुस जान नहुने तर्कको आधार बनाएका थिए। एमाले दोस्रो पुस्ताका एक नेता प्रश्न गर्छन्, “यस्तो बेलामा बाघ बचाउने सम्मेलन गर्ने कि देश ?” स्रोतका अनुसार, प्रधानमन्त्री मंसिरमा मात्रै थप दुई देशको भ्रमणमा निस्कने छन्। संस्थापन पक्ष प्रधानमन्त्रीको यस्तो सक्रियताप्रति हैरान त छ नै, यसलाई पार्टी नेतृत्व खिलाफको व्यवहार पनि ठान्छ।खनाल र नेपालको भेट प्रायः अकस्मात् हुने गर्छ। तर, प्रायोजित रूपमा पनि उनीहरूले भेट गर्दै आएका छन्, सहजकर्ताको ढिपी अस्वीकार गर्न नसकेर। पछिल्लो दुई महिनामा प्रधानमन्त्री निवासमा यसरी खनाल र नेपालले तीनपटक मात्र भेट गरेका छन्। ती भेट सहजकर्ताहरूको पहलमा भएका थिए।
वरष्िठ नेता केपी ओली पक्षसँग संस्थापनको सम्बन्ध चिसो भइरहने प्रमुख कारक नै प्रधानमन्त्री नेपाललाई ठान्छन्, खनालका समर्थकहरू। कुनैबेला पार्टीभित्र सन्तुलनकारीको छवि बनाएका उनले आठौँ महाधिवेशनपछि खनाल पक्षबाट यस्तो आरोप खेप्दै आएका छन्। दुई पक्षलाई भिडाएर फाइदा लिने सवालमा माहिर छन् भन्ने अर्को आरोप पनि नेपालमाथि लाग्ने गरेको छ। पार्टी अध्यक्ष खनाल प्रधानमन्त्रीको उम्मेदवार भएपछि नेपाल पक्षको संस्थापनविरोधी चलखेल तीव्र भएको मान्नेहरू पनि छन्। जस्तो ः एमाले संसदीय दलका मुख्य सचेतक भीम आचार्य भन्छन्, “प्रधानमन्त्रीले सहयोग गरेका भए पहिलो चुनावबाटै अध्यक्ष दुईतिहाइ मतका साथ चुनिनुहुन्थ्यो।” सिद्धान्तमा कमजोर, जता फाइदा भेट्यो उतै लाग्ने स्वभाव र पदलोलुपता संस्थापनले नेपालमाथि लगाउने थप आरोप हुन्।
राजा ज्ञानेन्द्रको ‘कू’सँगै तत्कालीन महासचिव नेपाल थुनामा परेपछि कार्यवाहक महासचिव बनेका बेला खनालले महासचिवबाट नेपाललाई हटाउने तयारी गरेको आरोप खनाल अझै खेपिरहेछन्। यस आरोपलाई खनालले भ्रामक भने पनि नेपालले यही विषय निकालेर उनीमाथि प्रहार गर्ने गरेका छन्। उता नेपाल सरकार बनेपछि भारतबाट शुभकामना दिन आएका भारतीय दूत शिवशंकर मेननलाई खनालले सरकारको आयु बढीमा तीन महिना मात्र हो भनेको कुरा पनि नेपाल पक्षको चित्तदुखाइ बनेको छ।
खनालमा प्रधानमन्त्री हुने भूत अलि बढी नै सवार भएकाले पनि समस्या आएको बताउँछन् उनका विरोधीहरू। आफ्नै पार्टीको सरकारलाई असहयोग गरेको र आफ्नै सरकार ढालेर आफैँ प्रधानमन्त्री हुन खोजेको आरोप छ उनीमाथि। खनालले माओवादीसँग स्वरमा स्वर नमिलाएका भए सरकार राजीनामा दिन बाध्य हुँदैनथ्यो भन्ने नेपाल पक्षको बुझाइलाई झूटो सावित गर्न पनि सकेको छैन खनाल पक्षले। त्यसैगरी पार्टीको सहयोग भए फेर िसरकार सक्रिय हुने सपना देख्न थालेका छन् प्रधानमन्त्री नेपाल। तर, खनाल पक्ष यसलाई केटौले सोच मान्छ।
दुई ठाउँबाट पराजित नेपाल प्रधानमन्त्री बन्नु तर संसदीय दलको नेता हुँदासमेत आफूलाई छायाँमा पारनिुलाई खनालले इखको विषय बनाएका छन्। आठौँ महाधिवेशनबाट पार्टीको अध्यक्ष चुनिँदा पनि आफूलाई सम्मान नदिएको अनुभूतिले पनि खनाललाई सताइरहन्छ। अर्कोतिर, नेपालको राजीनामापछि महासचिव बनेका खनालले बुटवल महाधिवेशनमा गडबडी गरी जितेको भन्ने आकलन र आफूलाई तल पार्न माओवादीसँग हात मिलाएको भन्ने प्रधानमन्त्री नेपालको बुझाइले पनि समझदारी दुर्लभ बनाएको ठानिन्छ।
पार्टी र सरकारप्रमुखहरूबीचको सम्बन्धमा शिथिलताले एमालेको आकारप्रकारमै असर गररिहेको प्रस्टै देख्न सकिन्छ। त्यो पार्टी अहिले पार्टी नभई मोर्चाजस्तो बनेको छ। पार्टीका मुखियाले एकथोक भन्दा सरकारका नाइकेले अर्कै भन्छन्। एकले अर्कालाई पछार्ने यो खेल टुंगिने कुनै छाँटकाँट पनि देखिन्न, बरु इबि गहिरँिदै जानेजस्तो लक्षण छ। कतै, उसै त रनभुल्ल एमाले यी दुई हस्तीको कुस्तीले आफँै बजारनिे त होइन ?

Nepal weekly

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 1, 2010 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: