RSS

आफनै पार्टीका कार्यकताले नचिनेका मन्त्री

13 Apr

किरण भण्डारी, काठमाडौं, चैत ३०- बल्लतल्ल सोमबार भएको तेस्रो चरण मन्त्रिपरिषद् विस्तारमा एमालेबाट अर्थ राज्यमन्त्री बनेका डा. ल्हारक्याल लामालाई प्रायः एमाले नेता-कार्यकर्ता नै चिन्दैनन्। सहायक/राज्यमन्त्री विरलै नियुक्त हुने महत्वपूर्ण मन्त्रालयमा जिम्मेवारी पाएका यिनीबारे अहिले एमालेमै खोजीनिती छ- लामा को हुन्?

प्रधानमन्त्रीको रोजाइमा राज्यमन्त्री बनेका लामा ‘स्वतन्त्र तिब्बत अभियान’मा विवादास्पद् हुन्- प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुख
म तीन वर्ष अघिमात्र पार्टी सदस्य भएको हुँ। जन्मँदै कसैले जानेर आउने हैन, सिकेर राम्रो गरौंला भन्ने विश्वास छ- लामा

अघिल्ला तीनपटक एक्लै अर्थ हाँकेका भरतमोहन अधिकारीलाई सघाउने अवसर दिइएका लामाबारे मंगलबार दिनभर एमाले केन्द्रीय नेता र प्रधानमन्त्री सल्लाहकार समूहका सदस्यले जवाफ थुप्रैलाई चिनाउनुपर्‍यो।

‘लामा लामो समयदेखि पार्टी सम्पर्कमा हुनुहुन्थ्यो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेलले नागरिकसँग भने, ‘समानुपातिक सभासद् पनि हुनुहुन्छ, अपरिचित भन्न मिल्दैन।’ पार्टीभित्र/बाहिरका धेरैले लामाबारे चासो राखेको उनले स्वीकारे।

‘लामालाई किन मन्त्री बनाएको र किन अर्थकै जिम्मेवारी दिइएको भन्ने जवाफ धेरैलाई दिइसकेँ,’ पौडेलले भने, ‘अर्थशास्त्रमा राम्रो दखल भएकाले प्रधानमन्त्रीले उपयुक्त ठान्नुभएको हो।’

लामाकै अनुसार उनले भारत मैसुरको निंगमा विश्वविद्यालयबाट ११ वर्षअघि बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन्। अल्पसंख्यक ह्याल्मो जातिबाट पहिलोपटक मन्त्री भएका उनको जन्मथलो सिन्धुपाल्चोक हो।

वर्षौँदेखि गुम्बामा बसेर बौद्वधर्म प्रचारमा संलग्न उनी कांग्रेस नेता खुमबहादुर खड्का गृहमन्त्री हुँदा २०५८ सालमा गुम्बा विकास समिति अध्यक्ष भएका थिए।

प्रधानमन्त्री निकटका एमाले युवा नेता योगेश भट्टराई पनि मंगलबार दिनभर लामाबारे जिज्ञासाको अधकल्चो जवाफ दिँदादिँदै हैरान भए। ‘समानुपातिकको सभासद् हुन् भन्नेबाहेक पार्टीको हैसियतबारे थाहा नभएकाले कसैको पनि चित्त बुझाउन सकिनँ,’ उनले भने।

संविधानसभामा समानुपातिक कोटाबाट सभासद् भएका लामा संसद्को मानवअधिकार तथा अन्तर्राष्ट्रिय समितिमा सदस्य छन्। संसद्, समिति र संविधानसभा बैठकमा सहभागी हुन नरुचाउने भएकाले उनको ‘ल्याकत’ बारे सहकर्मी/संसद् कर्मचारीसमेत कम जानकार छन्।
प्रधानमन्त्रीको ‘कोटरी’ मात्र होइन, पार्टीका वरिष्ठ नेता पनि अर्थको चुनौतीपूर्ण जिम्मेवारीलाई लामालाई रोजेको देखेर अचम्मित छन्।

एमाले प्रचार विभागप्रमुख प्रदीप ज्ञवालीका अनुसार लामा खनालकै एकलौटी रोजाइमा मन्त्री बनाइएका हुन्। पार्टीका अरू शीर्ष नेता लामाको योग्यता अनभिज्ञ रहेको उनले बताए।

‘राजधानी र जिल्लाका नेता/कार्यकर्ताले लामाको परिचय मागिरहेका छन्,’ ज्ञवालीले भने, ‘स्वतन्त्र तिब्बत अभियानलगायत विवादमा उहाँको नाम जोडिएको पनि छ, तर यसबारे मलाई प्रशस्त जानकारी छैन।’

सिन्धुपाल्चोकका जिल्ला नेताले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार लामा पार्टी नेता अमृत बोहराको सिफारिसमा विवादबीच सभासद् बनेका हुन्। सिन्धुपाल्चोककै बोहराको सिफारिसमा खनालले मन्त्री बनाएको उनीहरूले ठोकुवा गरेका छन्।

सिन्धुपाल्चोक एमाले जिल्ला कमिटी सदस्य टासी लामाले नवनियुक्त मन्त्री पार्टीको संगठित सदस्य रहेको बताएका छन्। पार्टीमा भूमिगतकालदेखि रगत/पसिना सिँचिएका अल्पसंख्यक/जनजातिको भाग काटेर लामालाई सभासद् नियुक्त गर्दा सिन्धुपाल्चोकमा चर्को विरोध भएको थियो।

‘अहिले उनैलाई मन्त्री बनाइएको छ,’ एक जिल्ला नेताले नागरिकसँग भने, ‘पार्टीलाई आर्थिक सहयोगका नाममा उनी फास्ट ट्र्याकबाट मन्त्री भएका छन्।’

लामाले २०६४ सालमा एमाले नेता सरेस नेपाल र हस्त पण्डितबाट पार्टी सदस्यता लिएका हुन्। ‘पार्टीमा उनले वैचारिक, सांगठनिक र अरू के-कस्ता योगदान गरे, थाहा भएन,’ ती नेताले भने।

लामाले नागरिकसँग संक्षिप्त कुराकानी गर्दै सभासद् भएपछि पार्टीको संगठित सदस्यता लिएको बताए। दस वर्षअघि कांग्रेस निकट भएकोमा पछिल्ला केही वर्ष एमालेसँग सम्पर्क बढेको उनले खुलासा गरे।

‘म पहिले शेरबहादुर देउवासँग निकट भएकाले नै खुमबहादुरजीको पालामा गुम्बा समितिमा नियुक्त भएको हुँ’ लामाले भने, ‘एमाले नेताहरूसित सम्पर्क बढेपछि उहाँहरूले पनि मलाई जिम्मेवारी दिनुभएको छ।’

पिछडिएको अल्पसंख्यक समूहबाट संघर्षको शृंखला पार गर्दै आएकाले अर्थको जिम्मेवारी पनि सहजै निर्वाह गर्ने अठोट उनले व्यक्त गरे। ‘जन्मँदै कसैले जानेर आएको हुँदैन,’ लामाले भने, ‘ह्याल्मो जाति हो, जान्दैन भन्ने मानसिकताले हेरिदिनुभएन।’

यसअघि कांग्रेसका महेश आचार्य र राजाको प्रत्यक्ष शासनकालका रूप ज्योति फुल मन्त्रीकै हैसियतमा अर्थ राज्यमन्त्री थिए। महत मन्त्री रहँदा २०५२ मा चिनकाजी श्रेष्ठ र २०५८/५९ मा भरतबहादुर शाह राज्यमन्त्री थिए।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )