RSS

मुसहर पुरुष नियोजन गर्न मान्दैनन्

25 जुलाई

बिश्वमित्र पौडेल
चितवन, साउन ९- २० वर्षको उमेरमै मेघौली-६ दद्रेनीकी माया मुसहरका ३ सन्तान छन्। पतिले परिवार नियोजन गर्लान् भन्ने आशैआशामा तेस्रो सन्तान जन्मियो। ‘एक दिन घुम्ती शिविरमा बन्ध्याकरण गर्दै छ भन्ने थाहा पाएँ,’ उनले भनिन्, ‘फेरि बच्चा बस्ला भनेर हतारमै बन्ध्याकरण गरेँ।’

पुरुषले नमानेपछि चितवन, मेघौलीका मुसहर महिला आफैं स्थायी बन्ध्याकरण गर्न थालेका छन्। गहु्रँगो भारी भोक्नुपर्ने बहानामा पुरुषले स्थायी परिवार नियोजन गर्दैनन्।

नारायणी नदी छेउको ऐलानी जग्गामा बस्दै आएका मुसहरको गुजारा चलाउने माध्यम माछा मार्नु र ज्याला मजदुरी गर्नु हो। वर्षातको पानी नथेग्ने अस्थायी छाप्रो र हाँसका ट्युराबाहेक उनीहरुको कुनै पनि सम्पत्ति छैन।

‘हामीले गहु्रँगो काम गनुपर्छ, भारी बोक्नुपर्छ,’ राजु मुसहरले भने, ‘बुढियाहरु हलुका खेत रोपाइँ मात्र गर्छन्,त्यसैले हामीले बन्द (बन्ध्याकरण) नगरेको।’ राजुकी पत्नी २० वर्षे संगीता मुसहरले नियोजन गरिसकिन्। ‘माग्न जाँदा गाउँलेले कति आएको भनेर झर्कंन्थे,’ संगीताले भनिन्, ‘त्यही पिरले पनि बन्द गरेँ।’

दद्रेनीकै ६० वर्षे चिंगारी मुसहर पनि पुरुषले बन्ध्याकरण गर्नै नहुने दाबी गर्छन्। त्यसैले चार सन्तानकी आमा धनकुमारी आफैं अग्रसर भइन्। यहाँका मुसहर परिवारमा अधिकांश महिलाले नै बन्ध्याकरण गराएका छन्।

मुसहर समुदायमा १२ देखि १५ वर्षभित्रै विवाह गर्ने चलन छ। ‘मन परेर भागेर आएकी,’ २० की सुमित्रा मुसहरले सुर्ती मुखमा हाल्दै भनिन्, ‘यो तेस्रो बच्चा (पेटको) पाएपछि म पनि बन्द गर्छु।’ बन्ध्याकरण नगरेकी ४५ वर्षे भोकला मुसहरका ६ सन्तान छन्। उनीजस्तै सानैमा बिहे गरेका भोकलाका छोरा किरणले धेरै सन्तान भएकै कारण पढ्न पाएनन्। ‘घरमा खानेकुरा ल्याउन सानैदेखि काम गर्नुपर्‍यो, कहाँ पढ्न जानू?’ उनले सुनाए, ‘म मेरी श्रीमतीलाई बन्द गर्न लगाउँछु।’ उनीजस्तै मुसहर बस्तीका अधिकांश बालबालिकाले अझै स्कुल देखेका छैनन्।

मुसहर समुदायमा कक्षा ५ भन्दा बढी पढेका पुरुष भेटिंदैनन्। ‘बन्ध्याकरण गर्न जाऊँ भनेको भन्यै थियौं,’ बस्ती नजिकैकी महिला नेत्रकुमारी चौधरीले मुसहर टोलका ’boutमा सुनाइन्, ‘पुरुषहरु नगएपछि महिलालाई नै फकाएर पठाउँथ्यौं। ‘ मुसहर बस्तीमा खानेकुरा, सरसफाइ र सफा खानेपानीको टड्कारो अभाव छ।
‘के गर्ने हामी पनि किसान, सधैं खानेकुरा दिन सकिन्न,’ चौधरीले भनिन्, ‘महिलाले भए पनि बच्चा पाउन बन्द गरे बालबच्चाको बिचल्ली त हुँदैन।’

थारु समुदायका महिलाले आफै बन्ध्याकरण गराएका छन्। ‘अहिले चाहिँ केही सुधार भएको छ,’ आफै बन्ध्याकरण गरेका स्थानीय नारायण श्रेष्ठले भने, ‘थारु पुरुषहरु पनि बन्ध्याकरणमा अघि सर्छन्।’
थारु, कुमाल, बोटे र माझीको बाहुल्य रहेको मेघौलीमा मुसहरका ३० घर छन्।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: