RSS

माओवादी ‘नपर्खने’, प्रधानमन्त्री ‘नहच्कने’

30 Jul

हरी राम भेटुवाल
काठमाडौं, साउन १४ – ‘पाँचबुँदेको प्रतिकूल नहुने गरी प्रमुख तीन दलको सहमतिमा मात्रै माओवादीले प्रस्ताव गरेका मन्त्रीलाई शपथग्रहण गराउन सकिने’ भन्दै प्रधानमन्त्री झलनाथ खनाल पन्छिएपछि माओवादीले ‘अब पर्खन नसक्ने’ जनाउ दिएको छ।
शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदम अशोभनीय भएको निष्कर्ष निकाल्दै छिनोफानोका लागि शनिबार १ बजे स्थायी समिति बैठक डाकेको छ।

‘सरकार बनाउँदा निर्णायक भूमिका खेलेको र संविधानसभामा सबैभन्दा ठूलो दलले मन्त्रिपरिषद्मा गरेको सामान्य हेरफेरलाई प्रधानमन्त्रीबाट भएको उपेक्षालाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे भने, ‘यो अशोभनीय हो। यसबारे भोलि (शनिबार) स्थायी समितिले आवश्यक निर्णय गर्नेछ।’

सचिव सिपी गजुरेलले पनि ‘प्रतीक्षा गर्दागर्दै हद नाघेको’ टिप्पणी गरेका छन्। ‘अब पर्खन सकिँदैन। शनिबारको स्थायी समितिबाट एउटा निर्णय लिन्छौं, विकल्प अनेक छन्,’ गजुरेलले भने। गजुरेलले विकल्प उल्लेख गर्न भने चाहेनन्। ‘थुप्रै विकल्प छन्, अहिले के गर्ने भनेर नभनौं। हामीले गठबन्धन नबिग्रियोस् भन्नेमात्रै चाहेका हौं,’ उनले भने।

माओवादी नेताहरूको भनाइबाट उनीहरू ‘गठबन्धन तोडिहाल्ने पक्षमा’ नपुगेको देखिन्छ। स्रोतअनुसार ‘माओवादीले स्थायी समितिबाट निर्णय कार्यान्वयनका लागि अल्टिमेटम दिने नै हो, सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छैन।’ प्रधानमन्त्री पक्षले फेरि पनि केही समय पर्खिन आग्रह गर्ने भएकाले पनि माओवादीले तत्कालै कठोर निर्णय लिने सम्भावना नरहेको स्रोतको दाबी छ। त्यसैले पनि मन्त्रीको हेरफेर गर्ने माओवादी निर्णयले उत्पन्न राजनीतिक गतिरोध अझै लम्बिने देखिएको छ।
माओवादी नेताले ‘प्रधानमन्त्री खनालले गठबन्धन संस्कृतिलाई उपेक्षा गरेको’ बताएका छन्। मन्त्रीहरू सिफारिस गर्ने अधिकार सम्बन्धित पार्टीको भएको र त्यस्तो सिफारिसलाई प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने उनीहरूको जिकिर छ। गठबन्धनमा नभएको दल नेपाली कांग्रेसको समेत सहमति हुनुपर्ने प्रधानमन्त्री धारणाप्रति उनीहरूको आपत्ति छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने जेठ १४ पछि सरकार सञ्चालनको आधार फेरिएको तर्क गर्छन्। ‘अहिले सरकार सञ्चालनको आधार गठबन्धन नभएर प्रमुख तीन दलको सहमति हो,’ थापाले भने, ‘गठबन्धन विगतको महत्वपूर्ण सन्दर्भ हो। सरकार सञ्चालनको अहिलेको प्रमुख आधार र यथार्थ पाँचबुँदे सहमति हो।’ त्यसैले पनि प्रधानमन्त्रीले माओवादीको सिफारिसअनुसार तत्कालै निर्णय नलिएको उनको भनाइ छ।

पाँचबुँदे सहमतिले शान्ति, संविधान र राष्ट्रिय सहमतिलाई मार्गनिर्देशित गरेकाले सहमतिको वातावरण बनाउने प्रधानमन्त्रीको प्रयत्न जारी रहेको पनि थापाले बताए। प्रधानमन्त्री खनाल शान्ति प्रक्रियाका माओवादी प्रतिबद्धता ‘देखिने गरी’ कार्यान्वयन भएको हेर्न चाहन्छन्। कम्तीमा ‘लडाकुहरूको पुनर्वर्गीकरण गर्न माओवादी तयार भए प्रधानमन्त्री शपथग्रहण गराउने पक्षमा रहेको’ उनीनिकट नेताहरूले बताएका छन्।
माओवादीको आन्तरिक कलहका कारण शान्ति प्रक्रिया अघि नबढेका कारण यतिखेर माओवादीलाई प्रतिबद्ध बनाउन सकिने बुझाइ खनालको छ। पाँचबुँदे कार्यान्वयन माग राख्दै नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएका कारण पनि प्रधानमन्त्रीलाई शान्ति प्रक्रियाबारे माओवादीलाई दबाब दिन सहज भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमितिमा शान्ति प्रक्रियालाई अघि बढाउने जनाउ दिएका छन्। शान्ति प्रक्रिया र संविधान निर्माणलाई सँगसँगै लैजाने र त्यसका लागि आइतबारदेखि छलफललाई तीव्रता दिने उनले बताएका छन्। दाहालको यो भनाइलाई माओवादीले शान्ति प्रक्रियाका विषयमा थप निर्णय लिन लागेको रूपमा लिइएको छ।

माओवादीले शान्ति प्रक्रियामा प्रतिबद्धता व्यक्त गर्नेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री निकट स्रोतहरूले बताएका छन्। प्रधानमन्त्री खनालले ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महराको नेतृत्वलाई नै कायम राखी बाँकी ८ मन्त्रीलाई शपथग्रहण गराउने’ प्रयत्नमा छन्। महराले दिएको राजीनामासमेत स्वीकृत गरिएको छैन। नारायणकाजी श्रेष्ठकै नेतृत्वमा मन्त्रीहरूको शपथग्रहण गराउने विषयलाई भने प्रधानमन्त्री खनालले दोस्रो विकल्पका रूपमा मात्रै राखेका छन्।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: