RSS

आवेशमा नआउन प्रधानमन्त्रीको आग्रह

01 अगस्ट

गायत्री खतिवडा
काठमाडौं, साउन १५ – मन्त्रिपरिषद पुनर्गठन नगरिएकामा असन्तुष्टि जनाउँदै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीको सामूहिक राजीनामा बुझाएपछि प्रधानमन्त्री झलनाथ खनालले प्रमुख दलबीचको संवादबाट निकास खोज्ने जनाउ दिएका छन्।
पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीको सपथ नगराए सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने सन्देश लिएर शनिबार साँझ बालुवाटार पुगेका दाहाललाई प्रधानमन्त्री खनालले आवेशमा आएर निर्णय नगर्न सुझाव दिएका हुन्।’अहिले आवेश र उत्तेजनामा आएर निर्णय गर्ने बेला होइन, संवाद र सहमतिबाटै अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री खनालको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अहिले मूल उद्देश्यमा केन्द्रित भएर अघि बढ्ने समय हो, संवाद र सहमतिबिना शान्ति प्रक्रिया र संविधान निर्माणको मूल उद्देश्य पूरा नहुने भएकाले पनि सुझबुझसाथ अघि बढ्नुपर्छ।’ प्रधानमन्त्री खनालले ‘कांग्रेससहितको छलफल गरेर सहमति प्रयत्न गर्ने’ पनि बताएका थिए। त्यसो गर्दा शान्ति र संविधानका लागि राष्ट्रिय सहमति वातावरण पनि बन्ने धारणा प्रधानमन्त्रीको थियो।

प्रधानमन्त्रीले शान्ति प्रक्रियामा निश्चित काम अघि बढेपछि नया” मन्त्रीलाई सपथ गराउन सहज हुने बताएका थिए। उनले त्यसका लागि दाहाललाई केही दिन पर्खन र शान्ति प्रक्रियाका सवालमा निश्चित कार्ययोजना ल्याउन आग्रह गरेका थिए। दाहालले मन्त्रीहरूको सपथग्रहण भएपछि शान्ति प्रक्रिया अघि बढाउन सकिने बताएका थिए। उनले पार्टीबाट आफूमाथि दबाब परेको उल्लेख गर्दै ‘निर्णय पुनर्विचार गर्न नसकिने’ बताएका थिए।

प्रधानमन्त्री खनाल मन्त्रीहरूको राजीनामा स्वीकृत गर्ने पक्षमा छैनन्। स्रोतका अनुसार प्रधानमन्त्री खनालले ‘मन्त्रीहरूको राजीनामा ज्ञापनपत्रको शैलीमा सामूहिक हिसाबले आएका कारण पनि रीत नपुगेको भन्दै स्वीकृत गर्ने छैनन्।’ मन्त्रीहरूको राजीनामा छुट्टाछुट्टै हुनुपर्ने भन्दै प्रधानमन्त्री एक दिनका लागि भए पनि समय गुजार्ने पक्षमा छन्। दाहालमार्फत आएको राजीनामा स्वीकृतिका लागि भन्दा पनि ‘संवाद, छलफल र सहमतिसाथ निर्णयमा पुग्न दिएको दबाबका रूपमा प्रधानमन्त्रीले बुझेको’ उनी निकट स्रोतको दाबी छ।

त्यसैले पनि प्रधानमन्त्री फेरि पनि ‘सरकारलाई दिएको समर्थन फिर्ता नलिन माओवादीलाई आग्रह गर्ने’ पक्षमै छन्। माओवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता लिए त्यसको सबैभन्दा क्षति माओवादीलाई पर्ने उनले दाहाललाई सम्झाएका छन्। ‘माओवादीले सोचिविचारी नै निर्णय गर्छ भन्ने प्रधानमन्त्रीको बुझाइ हो। आफंैलाई क्षति पुग्ने निर्णय माओवादीले लिदैँनन् भन्ने प्रधानमन्त्रीको बुझाइ हो,’ प्रेस सल्लाहकार थापाले भने। ‘गठबन्धन टुटे सरकारको नेतृत्व माओवादीको पक्षमा नपुग्ने भएकाले पनि उनीहरूले तत्कालै कुनै निर्णय नलिने’ प्रधानमन्त्रीको बुझाइ छ।

प्रधानमन्त्री अझै पनि ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महराको नेतृत्वलाई नै कायम राखी बाँकी ८ मन्त्रीलाई सपथ गराउने’ प्रयत्नमा छन्। महराले दिएको राजीनामा पनि स्वीकृत गरिएको छैन। माओवादीले समर्थन फिर्ता नै लिने अन्तिम परिस्थितिमा भने ‘नारायणकाजी श्रेष्ठकै नेतृत्वमा मन्त्रीहरूको सपथ गराउने’ सम्भावना पनि नकार्न सकिँदैन। प्रधानमन्त्रीले दबाबमा राजीनामा दिने सम्भावना भने छैन। ‘बहुमतीय सरकारका लागि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, सहमति सरकारका लागि मात्रै हो,’ थापाले भने।

माओवादीले समर्थन नै फिर्ता लिएको स्थितिमा भने प्रधानमन्त्रीले राजीनामा दिने स्रोत बताउँछ। ‘त्यस्तो स्थिति आउँछ भन्ने लाग्दैन, त्यसअघि नै संवादबाट निकास निस्कन्छ,’ स्रोतको दाबी छ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: