RSS

अपांग र सपांगको सहयात्रा असम्भब छर ?

01 Aug

प्रेमकृष्ण श्रेष्ठ
मेरो घरनिर एक अपांग दम्पती बस्छन् । श्रीमान् कतै जानुपरे बैशाखी टेकेर हिँड्छन् । उनलाई साथ दिन्छिन्, श्रीमती । उनी पनि शारीरिक रूपमा कमजोर छिन्, खुट्टा खोल्च्याएर हिँड्छिन् । यो जोडीलाई देख्दा मनमा प्रश्न उठ्छन्, के एउटा अपांगले अपांगसँग नै जीवन गुजारा गर्नुपर्ने हो ? के अपांग र सपांगको जीवनयात्रा सम्भव छैन ?

दृष्टीबिहीन सुरेश खडका तथा उनको परिबार

मेरो घरनिर एक अपांग दम्पती बस्छन् । श्रीमान् कतै जानुपरे बैशाखी टेकेर हिँड्छन् । उनलाई साथ दिन्छिन्, श्रीमती । उनी पनि शारीरिक रूपमा कमजोर छिन्, खुट्टा खोल्च्याएर हिँड्छिन् । यो जोडीलाई देख्दा मनमा प्रश्न उठ्छन्, के एउटा अपांगले अपांगसँग नै जीवन गुजारा गर्नुपर्ने हो ? के अपांग र सपांगको जीवनयात्रा सम्भव छैन ?

अपांगले केही गर्न सक्दैन भन्ने भ्रममा बाँचेका छौँ, हामी । इतिहास खोतल्ने हो भने त्यहाँ भेटिन्छन्, कवि जोन मिल्टन र होमर । उनीहरू बाहिरी आँखा देख्दैनथे । तैपनि, मनका आँखाले संसार नियाले । र, अलौकिक काव्य सिर्जना गरिदिए । टाढाको कुरा किन गर्नु, हाम्रै साहित्यकार पारिजात वैँशमा कुजी थिइन्, मनको शक्तिले ‘शिरीषको फूल’ जस्तो उपन्यास लेखिन् । जुन फूल आज विश्वमै ढकमक्क फुलिरहेको छ ।

‘जसको खुट्टा छैन, ऊ दौडिनै सक्दैन’ भनी अपांग व्यक्तिलाई सपांगभन्दा एक तह तलको सोच्ने यो अभिव्यक्तिमा अब कुनै सत्यता रहेन । सन् १९३० को रोम ओलम्पिकका एक प्रतियोगी, २० वषिर्या अश्वेत बालिका बिल्मा रुडोल्फले सपांग खुट्टाहरूलाई पछि पारेर दौडमा तीनवटा स्वर्णपदक छातीमा झुन्ड्याइन् । बिमा रुडोल्फको त्यो सफलताले अपांग मानिस पनि सपांग मानिसको तुलनामा कमजोर नभएको व्यक्त गर्छ । नेपालको बैसठ्ठी-त्रिसठ्ठीको जनआन्दोलनमा दृष्टिविहीनहरूले निभाएको भूमिका अतुलनीय छ । हातमा सेता छडी लिएर सडकमा आएका दृष्टिविहीनहरूले पनि निरंकुशताविरुद्ध आवाज उठाएका थिए । नेपालमा जनआन्दोलन उत्कर्षमा पुग्नुमा दृष्टिविहीनहरूको आन्दोलनको पनि ठूलो भूमिका थियो । समष्टिमा भन्न सकिन्छ

— सेता छडी, एयरफोन र बैशाखी होइनन्, सपांग र अपांगको मापदण्ड । समाजमा कोही सपांग भएर पनि अपांग जिन्दगी बाँचिरहेका छन् भने कोही अपांग भएर पनि सपांग । कोही जन्मजात अपांग हुन्छन् त कोही जीवनमा आइपर्ने भवितव्यका कारण । जीवनमा जो पनि अपांग बन्न सक्छ । त्यसैले अपांगलाई हेला होइन, माया गर्न आवश्यक छ । के सपांग, के अपांग जीवनमा एक भएर हिँड्न आवश्यक छ । हरेक कुरामा सपांगजति अपांग व्यक्तिको योगदान छ भने अपांग व्यक्ति र सपांग व्यक्तिको सहयात्रामा किन सम्भावना छैन ? के कुनै खुट्टा नभएकी अपांग पत्नीले आफ्नो पतिको खुम्चिएको लुगामा आइरन लगाउन सक्दिनन् ? कानमा श्रवणशक्ति नभएकी बुहारीले आफ्नी सासूका लागि तातो चियाको व्यवस्था गर्न सक्दिनन् ? फेरि किन हाम्रो समाजमा सपांग र अपांगको रेखा खिचेर भेद गरिन्छ ? किन उनीहरूको सहयात्रालाई अपराधका रूपमा हेरिन्छ ? संयुक्त राष्ट्रसंघीय महासभाले सन् २००६ को डिसेम्बर १३ तारिखका दिन जारी गरेको अपांगता भएको व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलाई नेपालले पनि जनवरी ३, २००८ मा हस्ताक्षर गरी आफ्नो सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको छ । राष्ट्रिय जनगणना ०५८ अनुसार नेपालमा एक प्रतिशतभन्दा कम जनसंख्या मात्र अपांगता भएका व्यक्तिका रूपमा रहेका छन् भने युनिसेफले २००१ मा गरेको एक अध्ययनअनुसार एक दशमलव ६३ प्रतिशत जनसंख्या अपांगता भएका छन् । अपांगता भएको व्यक्तिहरूको तथ्यांक संकलन गरे पनि अपांगता भएका व्यक्तिलाई जीवनसाथीका रूपमा स्विकार्ने सपांगको कुनै आधिकारिक तथ्यांक संकलन गरिएको पाइएको छैन ।

स्नातकोत्तर छिचोलेकी एक शिक्षित महिलाले केही वर्षअघि दृष्टिविहीन युवक शैलेन्द्र ढकाललाई जीवनसाथी स्विकारेको घटना नेपाली अखबारमा तातै बहसको विषय बनेको थियो । यो जोडीलाई पछयाएर केही अरू जोडीले पनि यस्तो दाम्पत्य जीवनलाई नपछयाएका होइनन् । यद्यपि, नेपालजस्तो अन्धविश्वासले ग्रस्त समाजमा यस्तो आदर्श सहयात्रा कमै भएको पाइन्छ । नेपालमा कमै शैलेन्द्र ढकालजस्ता भाग्यमानी पुरुष र महिला छन्, जो शारीरिक रूपमा अपांग भएर पनि सपांग व्यक्तिबाट जीवनसाथी स्विकारिए । प्रायजसो सपांग व्यक्ति अपांग व्यक्तिलाई जीवनसाथी स्विकार्नै चाहँदैनन् । अपवादका केही व्यक्तिले स्विकार्न चाहे पनि उनीहरूले सामाजिक स्वीकृति पाउँदैनन् । फलस्वरूप सपांगसँग सपांगको वैवाहिक सम्बन्ध र अपांगसँग अपांगको वैवाहिक सम्बन्ध एक लिखित ऐनजस्तो अक्षरशः मान्नैपर्ने व्यवस्था हो कि जस्तो देखिएको छ । समाजको निषेधलाई कुल्चने हिम्मत कमै मानिसले गरेका छन् । हिम्मत गर्ने आदर्श जोडीलाई नेपालजस्तो परम्परागत समाजमा प्रोत्साहित गर्नुको बदलामा छिः छिः र दुरदुर गर्ने परिपाटी अझै जीवन्त छ । उनीहरूको निर्णय जति सही भए पनि समाजको नजरमा त्यो एउटा अपराध बन्छ । उनीहरू समाजबाट बहिष्कृत हुन्छन् । उनीहरूलाई घरपरिवारले पनि त्यति साथ दिएको पाइँदैन । शारीरिक रूपले अपांग व्यक्तिलाई जीवनमा साथ दिनु कुनै अपराध होइन, न पाप नै हो । विकसित मुलुकमा यस्तो वैवाहिक सम्बन्धको अभ्यास थुप्रै भएका पाइन्छन् । प्रकृतिले दिएको अपांगता निर्मूल गर्न सकिँदैन, परन्तु उनीहरूलाई जीवनमा साथ दिएर त्यो अपांगता खोस्न सकिन्छ भनी त्यहाँका सपांग मानिसमा चेतना विकसित भएको पाइन्छ । युरोपका प्रायजसो देशमा यस्तो आदर्श विवाह गर्ने जोडीलाई राज्यले पुरस्कृत गर्ने चलन छ । नेपालको छिमेकी मुलुक भारतको महाराष्ट्रमा पनि अपांग व्यक्तिलाई जीवनसाथी स्विकार्नेलाई राज्यबाट ५० हजार रुपैयाँ राशिले पुरस्कृत गर्ने व्यवस्था गरिएको छ । भारतको महाराष्ट्रमा यस्तो राशिले पुरस्कृत हुन राज्यले ४० प्रतिशत अपांगता भएको भनी प्रमाणित गरेको हुनुपर्ने व्यवस्था गरेको छ । २००१ को तथ्यांकअनुसार भारतमा १५।६९ लाख मानिस अपांग छन् । भारतमा योभन्दा दस वर्षपहिले नै कणर्ाटक र गोवा राज्यमा अपांग व्यक्तिलाई जीवनसाथी बनाउने सपांग व्यक्तिलाई पुरस्कृत गर्ने व्यवस्था आइसकेको थियो । ती राज्यमा आर्थिक सहुलियत नदिए पनि यस्ता आदर्श जोडीलाई राज्यबाट कर छुट र अरू सुविधा दिने व्यवस्था गरेको थियो । अपूर्ण शरीरलाई अपांगताको मापदण्ड बनाउनु गलत हो । शरीरले अपूर्ण भएर पनि मनले पूर्ण भएका मानिस यहाँ धेरै छन् । दृष्टिविहीनहरूले संसार नियाल्न सक्दैनन्, तर उनीहरूको रुद्रघन्टीमा अड्किरहेको मीठो स्वर ईश्वरीय देन हुन सक्छ । उनीहरूको मीठो स्वरमा संगीत बहेको हुन सक्छ ।
समाजमा अपांग हुनुलाई पूर्वजन्मको फलका रूपमा चित्रण गरिन्छ । त्यस्तो रूढिवादको निर्मूल हुन आवश्यक छ । सपांगले अपांगलाई जीवनमा हरतरहको सम्बन्ध गाँसेर साथ दिनुपर्छ । जीवनयात्रामा अपांगलाई जीवनसाथी बनाउने सपांगलाई राज्यबाट पुरस्कृत गर्नुपर्छ, फलस्वरूप राज्यमा अपांग र सपांगको भेद तुहेर अपांगभित्र जरा गाडेको हीनतामा रूपान्तरण भएर त्यो हीनता सिर्जना बन्छ र देश सिर्जनात्मक भएर सिर्जनाले सम्पन्न बन्छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: