RSS

नेपालका शक्तिपीठ एवं अन्य देवीमन्दिर

03 Oct

नेपालमा अनेकौं देवी मन्दिर छन् । तीमध्ये कतिपयलाई शक्तिपीठ मानिन्छ भने कतिपयलाई केवल शक्तिकै अनन्त स्वरूपमध्येका भगवती मानिन्छ । शक्तिपीठ के हो ? प्रचलित किम्वदन्तीअनुसार एकपटक प्रजापति दक्षले एउटा यज्ञको आयोजना गरे । उनले यज्ञमा छोरी दाक्षायनी जसलाई सती पनि भनिन्छ र उनका पति महादेवलाई बोलाएनन् । दक्ष महादेवलाई मन पराउँदैनथे र सधैं उनको अपमान गर्न खोज्थे । निम्तो नआए पनि सती यज्ञमा आइन् । सतीलाई देखेपछि दक्षले महादेवको निन्दा गरे । त्यो सहन नसकी सतीले यज्ञकुण्डमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछि महादेवले दक्ष यज्ञ विध्वंश गराई सतीदेवीको मृत देह बोकेर संसार भ्रमण गरे । निकै समयपछि देवताहरूको आग्रहमा विष्णुले सतीदेवीको शरीरमा कीरा पारिदिए । त्यसपछि सतीको शरीर टुक्राटुक्रा भएर यत्रतत्र खस्न थाल्यो । जहाँँँ-जहाँ सतीदेवीको अङ्ग पतन भयो त्यहाँ-त्यहाँ शक्तिपीठ, समीपमा रुद्ररूप भैरव एवं योगिनीको उत्पत्ति भयो । शक्तिपीठ कहाँ-कहाँ छन् भन्ने कुरामा विभिन्न ग्रन्थमा केही फरक कुरा पनि पाइन्छन् । यस्ता शक्तिपीठहरू नेपाल, भारत, बंगलादेश, पाकिस्तान, तिब्बत एवं श्रीलंकामा छन् । धेरैजसो ग्रन्थमा त्यस्ता शक्तिपीठ जम्मा ५२ वटा रहेको बताइन्छ । त्यसबाहेक पनि अनेकौं नामले पुकारिने देवी, महाकाली, महालक्ष्मी एवं महासरस्वतीका विविध रूप र अवतारका अन्य थुप्रै मन्दिर छन् जहाँ देवी स्वयं प्रकट भएको विश्वास गरिन्छ ।

शक्तिपीठहरू

गुह्येश्वरी ः
काठमाडौं उपत्यकामा बाग्मती नदीको दक्षिणी किनारमा गुह्येश्वरीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको गुह्य पतन भएको विश्वास गरिन्छ । त्यहाँ देवीको कुनै मूर्ति छैन । सतीदेवीको गुह्य पतन भएको भनिएको स्थानमा मन्दिरको गर्भगृह छ जहाँ एउटा सानो प्वाल मात्र छ । त्यही श्रद्धालुहरूले भक्तिपूर्वक पूजाआजा गर्छन् । उक्त स्थानमा सर्वप्रथम तेत्तीस कोटी देवताले पूजा-आराधना गरेको विश्वास गरिन्छ । घटस्थापनाको दिनदेखि नै गुह्येश्वरी मन्दिरमा विशेष पूजा-आराधना गरिन्छ ।

दन्तकाली ः
सुनसरी जिल्लाको धरानमा दन्तकाली देवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । बडादसैंको अवसरमा घटस्थापनाको दिनदेखि नै भक्तजनको भीड लाग्ने तथा विशेष पूजा-आराधना गरिने यो मन्दिरमा सर्वप्रथम गंगा प्रभृति नदीहरूले पूजा-आराधना गरेको विश्वास गरिन्छ ।

जालपादेवी ः
नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि करिब ८ किलोमिटर दक्षिणमा त्रिशूली र तादी नदीको सङ्गम देवीघाटमा जालपादेवीको मन्दिर छ । उक्त ठाउँमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । उक्त स्थानमा सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गर्दा देवी प्रसन्न भएर इच्छित वर प्रदान गरेको मानिन्छ । नेपाल अधिराज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिर नजिकैको घाटमा गरिएकाले पनि इतिहासमा यो मन्दिरको विशेष स्थान छ ।

वागीश्वरी ः
बाँके जिल्लाको नेपालगञ्जमा वागीश्वरीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको जिब्रो पतन भएको मानिन्छ । एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाल अधिराज्यमा गाभिएपछि मात्र पत्ता लागेको हो । बडादसैंको अवसरमा घटस्थापनादेखि नै वागेश्वरीमा विशेष पूजाआजा हुन्छ । उक्त स्थानमा सर्वप्रथम किन्नरगणले पूजा-आराधना गरेको विश्वास गरिन्छ ।

भैरवी ः
काठमाडौं जिल्लाको गोकर्णमा भैरवीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको देब्रे कान पतन भएको विश्वास गरिन्छ । बडादसैंको अवसर पारेर यो मन्दिरमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ । उक्त स्थानमा सर्वप्रथम विष्कुम्भकहरूले पूजा-आराधना गरेको बताइन्छ ।

कमलाक्षी ः
सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षी देवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको देब्रे करङ पतन भएको विश्वास गरिन्छ । एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङजस्तै आकृतिहरू देखिन्छन् । बडादसैंको उपलक्ष्यमा घटस्थापनादेखि नै कमलाक्षीदेवीको विशेष पूजा-आराधना गरिन्छ । उक्त स्थानमा सर्वप्रथम योगमार्गीहरूले तपस्या एवं आराधना गरेको विश्वास छ ।

छत्रेश्वरी ः
सल्यान जिल्लाको छायाक्षेत्रमा छत्रेश्वरीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको शरीरबाट पतन भएर शेष रहेका सबै अङ्ग भएको विश्वास गरिन्छ । कुनै समय भगवान् शंकरले विशेष अनुष्ठान गरेकाले यो मन्दिरमा कुनै पनि अवसरमा बलि चढाइँदैन । नेपाल अधिराज्यभित्र रहेका देवी मन्दिरमध्ये यो एक मात्र त्यस्तो मन्दिर हो जहाँ बलि दिइँदैन । उक्त स्थानमा सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेको विश्वास गरिन्छ ।

ज्वालादेवी ः
दैलेख जिल्लाको सदरमुकामदेखि करिब पाँच किलोमिटर पश्चिमतर्फ नाभी र छामगाड खोलाको किनारमा ज्वालादेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । बडादसैंको अवसरमा घटस्थापनादेखि नै ज्वालादेवीको विशेष पूजा-आराधना हुन्छ । उक्त स्थानमा सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको मानिन्छ ।

गलेश्वरी ः
म्याग्दी जिल्लाको राहुघाटमा -कालीगण्डकीको किनार)अवस्थित गलेश्वर महादेवको मन्दिर निकै चर्चित छ । सोही मन्दिरमा अवस्थित गलेश्वरीदेवीको पनि आपmनै विशिष्ट महिमा पाइन्छ । उक्त स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । त्यहाँ सर्वप्रथम पृथ्वीमाताले पूजा-आराधना गरेको विश्वास गरिन्छ ।

आफैं उत्पत्ति भएका श्री भवानीका केही प्रमुख मन्दिर पाथीभरा ः
ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा १२ हजार फिटको उचाइमा पाथीभरादेवीको मन्दिर छ । यहाँ श्रीभवानीको ठूलो मूर्ति छ । यो मन्दिरप्रति हिन्दू एवं बौद्ध धर्मावलम्बीहरूले समान आस्था राखेको पाइन्छ ।

विन्ध्यवासिनी ः
कास्की जिल्लाको पोखरास्थित विन्ध्यवासिनी नेपालमा आगन्तुक देवी मानिन्छिन् । पौराणिक कथनअनुसार दक्षिण भारतको विन्ध्याचल पर्वतबाट श्री भवानी उत्तरको हिमालय पर्वततर्फ जाने क्रममा उक्त स्थानमा रोकिएकी थिइन् । बडादसैंको अवसरमा यो मन्दिरमा निकै भीड लाग्ने गरेको छ ।

चण्डेश्वरी ः
काभ्रे जिल्लाको बनेपास्थित चण्डेश्वरीलाई स्थानीय बासिन्दा शक्तिपीठ नै मान्छन् । बडादसैं तथा चैतेदसैंका अवसरमा निकै ठूलो घुइँचो लाग्ने यो मन्दिरप्रति स्थानीय जनताको श्रद्धाभाव देखिन्छ ।

गढीमाई ः
बारा जिल्लाको सदरमुकाम कलैया बजारदेखि दक्षिणमा पर्ने गढीमाई स्थानीय जनताको ठूलो आस्थाकेन्द्र हो । हरेक पाँच वर्षमा ठूलो मेला लाग्ने यो मन्दिरमा नेपाल अधिराज्यभरमै सबैभन्दा बढी बलि चढाइन्छ । बडादसैंका अवसरमा पनि यहाँ विशेष पूजा-आराधना हुन्छ ।

कन्काइमाई ः
यो मन्दिर झापा जिल्लाको कन्काइ नदीको किनारमा छ । कन्काइमाई झापाका आदिवासी राजवंशीहरूकी आराध्यदेवी हुन् । कन्काइमाईले रोगबाट रक्षा गर्ने जनविश्वास छ ।

सिंहवाहिनी ः
तेर्‍हथुम र पाँचथर जिल्लाको सीमाक्षेत्र यासोकमा सिंहवाहिनीको मन्दिर छ । यो मन्दिर परापूर्वकालमा बटुवाहरूले पत्ता लगाएको विश्वास गरिन्छ । बडादसैंको अवसरमा यो मन्दिरमा टाढाटाढाका श्रद्धालुहरू पुग्छन् ।

बडीमालिका ः
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल यात्रा गरेपछि पुगिने यो मन्दिर समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । बडादसैं एवं चैतेदसैंमा मेला लाग्ने यो मन्दिरमा स्थानीय श्रद्धालुहरू मालिकादेवीकी आमा अर्थात् बडीमालिकाको पूजाआजा गर्छन् । स्मरणीय छ मालिकादेवीको मन्दिर पनि बाजुरा जिल्लामै १४ हजार ४ सय फिटको उचाइमा छ ।

सखडा भगवती ः
सप्तरी जिल्लाको सीमावर्ती इलाकामा सखडा भगवतीको मन्दिर छ । छिन्नमस्ता भगवती समेत भनिने यो मन्दिरलाई तेर्‍हौं शताब्दीमा बंगालका सुल्तान समसुद्दीनले ध्वस्त पारेका थिए पछि पुनर्निर्माण गरिएको यो मन्दिरमा बडादसैंको अवसरमा ठूलो मेला लाग्छ ।

तालबाराही ः
कास्की जिल्लाको पोखरास्थित फेवातालमा रहेकी तालबाराहीलाई सबै किसिमका तालतलाउहरूकी स्वामिनीका रूपमा पूजाआजा गरिन्छ । बडादसैंको अवसरमा यहाँ दर्शन गर्ने भक्तजनको भीड थामिनसक्नु हुन्छ ।

यस्तै धनकुटाकी छिन्ताङ भगवती, सिन्धुलीकी कमलामाई, सप्तरीकी कंकालिनी माई, सिन्धुपाल्चोककी तौथलीमाई, धादिङकी मैदी भगवती, लमजुङकी कालिकादेवी, अर्घाखाँचीकी अर्घाकोटदेवी, सल्यानकी खैराबाङदेवी, सुर्खेतकी देउतीबज्यै, डोल्पाकी त्रिपुरासुन्दरी, अछामकी वरदादेवी, डडेलधुराकी उग्रतारादेवी, कन्चनपुरकी महाकाली, रुकुमकी डिङ्ग्रे भगवती, कैलालीकी नैनादेवी, मकवानपुकी भुटनदेवी, वीरगन्जकी संसारी माई तथा गोरखाकी मनकामनामाई पनि नेपालका प्रसिद्ध देवी मन्दिर हुन् । यी सबै मन्दिरमा वडादसैंका अवसरमा मात्र होइन अन्य समयमा पनि भक्तजनको घुइँचो लाग्छ । यसबाहेक काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पर्ने दक्षिणकाली, शोभाभगवती, बगलामुखी, नक्साल भगवती, मैतीदेवी, नरदेवी, इन्द्रायणी, विजेश्वरी, भद्रकाली, बज्रयोगिनी, धूम्रवाराही, तलेजु भवानी, पलान्चोक भगवती, कालिकादेवी आदि मन्दिरमा पनि निकै ठूलो भीड लाग्ने गरेको छ । नेपालका हरेक गाउँमा ग्रामदेवीका रूपमा अनेकौं देवी मन्दिर छन् । दसैंमा ती सम्पूर्ण देवी मन्दिरमा भक्तजनको ठूलो उपस्थिति हुन्छ ।

 
१ टिप्पणी

Posted by on अक्टोबर 3, 2011 in Uncategorized

 

One response to “नेपालका शक्तिपीठ एवं अन्य देवीमन्दिर

  1. विष्णु प्रसाद गौतम

    मे 14, 2012 at 4:55 बिहान

    सर्व शिक्षा मातृभाषामा नहुनु सुक्ष्म गतिमा दास हुनु हो |

    मातृभाषाको सम्मान राष्ट्रको सम्मान |

    माताको दुध शिशुलाई शिक्षा मातृभाषामा प्रभाव पर्छ सृष्टिलाई प्रकाशको गतिमा |

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: