RSS

नेपाल को यो दुर्दसा कहीले सम्म ?

17 Jun

दसगजा छेउको पिलर एसएसबिले भत्कायो
निर्मल घिमिरे, बर्दिया, असार ३- भारतीय सीमा सुरक्षा बलले गुलरिया नपा-१२ टेपरीस्थित गायत्रि सामुदायिक वनका उपभोक्ताले लगाएको पिलर र तार भत्काएको छ। दसगजादेखि करिब १५ मिटरभित्र नेपाली भूमिमा लगाएको २ सय वटा पिलर र काडे तार भत्काएको हो। सीमामा रहेको सामुदायिक वन असुरक्षित महसुस गरेपछि वनको स्रोतले पिलर गाडेर उपभोक्ताले सिमाकंन गरेका थिए। नेपालको भूमिमा पर्ने हुनाले पिलर गाडेर वनलाई सुरक्षित गरेका थियौं, सामुदायिक वनका एक उपभोक्ताले भने, ‘भारतीय प्रहरीले नेपाली भूमिमा लगाएको पिलर भत्काएर ज्यादति गरेको छ।’ हामीले संरक्षण गरेको वनमा लगाएको पिलर भत्काएर भारतीय पक्षको अतिक्रमण गर्ने योजना भएको उनले बताए। रातिको समयमा ठूलो दलबलसहित आएर उक्त सामुदायिक वनको पिलर भत्काएको स्थानीयले बताए। नेपाली भूमिमा लगाएको पिलर भत्काउँदा उपभोक्ता त्रसित भएका छन्। हामीलाई विभिन्न बाहानामा सीमा बस्ने प्रहरीले दुःख दिइरहँदासमेत स्थानीय प्रशासनले बेवास्ता गरेको स्थानीयको आरोप छ। पोल भत्काएको विरोधमा स्थानीय उत्रेको खबरपछि एसएबीले सीमा आवाजावतमा कडाइ गरेको थियो।

आइरन चक्की र जीवनजल छैन कञ्चनपुरमा
कञ्चनपुर, असार ३- गर्भवती महिलालाई रक्तअल्पताबाट बचाउने आइरन चक्कीको कञ्चनपुरका स्वास्थ्य संस्थामा अभाव भएको छ। स्वास्थ्य संस्थाका लागि वार्षिकरुपमा २४ लाख आइरन चक्की आवश्यक पर्ने भए पनि विभागले छ लाख चक्की मात्रै पठाएकाले अभाव भएको हो। जिल्लामा जीवनजलको पनि अभाव छ। कार्यालयमा रहेका तीन लाख ३० हजार आइरन चक्की एक महिनाका लागिसमेत नपुग्ने भएकाले समस्या परेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवदत्त भट्टले बताए।उनका अनुसार यहाँका प्रत्येक स्वास्थ्य संस्थालाई प्रतिमहिना १० हजार आइरन चक्की आवश्यक पर्दछ। गर्भवती महिलामा देखापर्ने रक्तअल्पताको समस्या हटाउनका लागि स्वास्थ्य विभागले नेपाल परिवार स्वास्थ्य कार्यक्रममार्फत निःशुल्क आइरन चक्की वितरणको व्यवस्था गर्दै आएको छ।

देशकै ठूलो सिमेन्ट उद्योग नियमित सञ्चालन नहुँदा करोडौंको घाटा
गाईघाट (उदयपुर), असार ३- नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुरस्थित जलजले सिमेन्ट उद्योग नियमित सञ्चालन हुन नसक्दा करोडौँको घाटा हुँदै आएको छ। एक महिनाभित्रमा पटकपटक गरी १५ दिनभन्दा बढी सिमेन्ट उद्योग बन्द हुँदै आएपछि पर्याप्त सिमेन्ट उत्पादन हुन नसक्दा उद्योग निरन्तर घाटामा गइरहेको सिमेन्ट उद्योगका कर्मचारीको भनाइ छ।उद्योगको मेसिन पटकपटक बिग्रिँदा पनि उद्योग प्रशासनले मर्मतमा उचित ध्यान नदिएका कारण उद्योग धेरै पटक बन्द हुन पुगेको उद्योगका एक कर्मचारी मानबहादुर राउत बताउँछन्।

हिमाली जिल्ला हुम्लामा समेत खानेपानीको अभाव
हुम्ला, असार ३- हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित बृहत् खानेपानी आयोजनाका मूलहरु खडेरीले सुक्दा त्यहाँ खानेपानीको हाहाकार भएको छ। सदरमुकामका बजार तथा गाउँटोलहरुमा विगत एक हप्तादेखि खानेपानी बन्द हुँदा उपभोक्ताहरुले ठूलो सास्ती बेहोर्नु परिरहेको छ।यसैबीच, नेपाल खाद्य संस्थान शाखा कार्यालयको कोटाअनुसार फागुनमै खाद्यान्न सकिएपछि कर्मचारी तथा सर्वसाधारणले चरम खाद्य सङ्कट भोग्नु परेको छ।सदरमुकाम सिमकोटमा रहेका कर्मचारी र स्थानीय बासिन्दा चीनको सीमा क्षेत्रबाट मैदालगायतका खाद्य सामग्री खरिद गरेर ल्याई खान बाध्य भएका छन्। रासस

आङकाजी एमालेबाट निकालिए
मणि दाहाल, काठमाडौं, असार २ – नेकपा एमाले स्थायी समितिको शनिबार बसेको बैठकले एमालेका सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टी साधारण सदस्यताबाटसमेत निस्कासन गरेको छ। जनजाति महासंघका महासचिवसमेत रहेका उनी जातीय राजनीतिमा चर्कोगरी उत्रेपछि विवादित रहँदै आएका थिए।
स्थायी समितिको बैठकले विपक्षीका सभामा गएर उत्तेजित भाषण गरेको र पत्रकारमाथि आक्रमण गर्न उक्साएको भन्दै कारवाही गरेको हो। शुक्रबार राजधानीमा एकीकृत माओवादीले आयोजना गरेको सभामा जनजाति महासंघतर्फबाट सम्बोधन गरेका थिए। सभामा उनले एमाले र कांग्रेस उत्पीडित जातिको अधिकार विरोधी भएको आरोप लगाएका थिए।

कंग्रेसका जनजाति नेताले पार्टीको कार्यक्रम बहिस्कार गर्ने
गोविन्द परियार, काठमाडौं, असार २ – कांग्रेस निकट विभिन्न जातीय संगठन, पूर्व सभासद् र केन्द्रीय सदस्यहरुले संघीयताका विषयमा पार्टीले स्पष्ट धारणा नबनाएसम्म पार्टीले आह्रावन गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन्। शनिबार कांग्रेस निटक विभिन्न आठ भातृ सस्था, पूर्व सभासद् र सदस्यहरुको भेलाले पार्टी सभापति सुशील कोइरालालाई यसअघि बुझाएको ज्ञापनपत्रका बारेमा सुनुवाई नभएको भन्दै पार्टीको कार्यक्रममा सहभागी नहुने निर्णयमा पुगेका हुन्। ‘हामीले ज्ञापनपत्र बुझाएपछि भएको पार्टी केन्द्रीय समितिको वैठकमा पार्टीको आन्तरिक झगडा र भागवन्डाले मात्रै स्थान पाएको तर हाम्रो ११ वुँदे ज्ञापनपत्रले प्रवेश नै नपाएकोले हामी सम्पूर्ण आदिवासी जनजातिहरुले आफ्नै पार्टीबाट अपमानित भएको महशुस गरेका छौ,’ शनिबार जारी गरिएको सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी जातीय पहिचानको आन्दोलनकमा लागेकाहरु वाध्यभइ हाम्रो पूर्ववत निर्णयअनुसार देशभरि हुन गैरहेको पार्टीको सबै कार्यक्रममा उपिस्थिति नहुने र हाम्रो पार्टीभित्र रहनुभएका पहिचान सहितको संघीयता पक्षधर केन्द्रीय सदस्य, पूर्व सभासद साथै अन्य सबैलाई कुनै पनि कार्यक्रममा उपस्थित नभइदिनुहुन अपील गर्दछौं।

वैद्य पक्षले भोलि नयाँ पार्टी घोषणा गर्ने, नामबारे छलफल जारी
काठमाडौं, असार ३ (नागरिक)- माओवादीका वैद्यपक्षीय कार्यकर्ताको राष्ट्रिय भेलाले भोलि नयाँ पार्टी घोषणा गर्ने भएको छ। बौद्धमा शनिबारदेखि जारी भेलाले अहिले पार्टीको नाम के राख्‍ने भन्नेबारे छलफल गरिरहेको जानकारी एक सहभागीले दिएका छन्।
उनका अनुसार नयाँ पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी राख्‍नेबारे छलफल अघि बढिरहेको छ। यसबाहेक पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्‍नेबारे पनि सुझाव आएको छ। पार्टीको महाधिवेशन फागुन १ गते गरिने निर्णय भएको जानकारी पनि ती सहभागीले दिए।

अध्यादेश जारी नभए मुलुक कालोसूचीमा
काठमाडौँ, असार २ – सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणलगायत तीनवटा विधेयक अध्यादेशमार्फत जारी नभए मुलुक कालोसूचीमा पर्ने जोखिम बढेको छ। सरकारसँग अध्यादेशबाट विधेयक ल्याउनुको विकल्प नभएकाले देशको गरिमा जोगाउन तीनवटा विधेयक जारी गर्नैपर्ने परिस्थिति सिर्जना भएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को आगामी सोमबारदेखि शुक्रबारसम्म इटालीको रोममा हुने बैठक अगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अध्यादेशबाट जारी नभए मुलुक कालोसूचीमा पर्नेछ।वित्तीय कारोबार पारदर्शी बनाउन तथा अन्तर्राष्ट्रियजगतमा व्यक्त प्रतिबद्धता पूरा गर्न नेपालले सम्पत्ति शुद्धीकरण, प्रतिआतङ्कवाद सुपुर्दगी एवम् सङ्गठित अपराध निवारण तथा पारस्परिक सहयोगसम्बन्धी कानुन नबनाउँदा कालोसूचीमा पर्ने जोखिम बढेको हो।

गाउँमा म्याद नाघेका औषधि
पर्वत , अषाढ ३ – जिल्ला स्वास्थ्य कार्यालयले गाउँका उपस्वास्थ्यचौकीमा म्याद सकिएका औषधि पठाएको पाइएको छ । दक्षिणमा पर्ने भोर्ले उपस्वास्थ्यचौकीमा कार्यालयले म्याद सकिएका औषधि पठाएको स्थानीयले बताएका छन् । गाउँ स्वास्थ्य समितिले औषधिको पोको खोल्दा ७ थरीका औषधि प्रयोग गर्ने समय कटेको अवस्थामा फेला परेको समितिका सदस्य तोया भुसालले बताए । भुसालका अनुसार लिगनेट, एमोक्सीलिन, सिप्रोमेक्स, जिङ्क, एमोक्सीलिङ सुप्रामोक्स, मेट्रोनाइजोल र अर्थाडिन औषधि म्याद सकिएको अवस्थामा भेटिएको हो । दैनिक प्रयोगमा आउने धेरैजसो औषधि वैशाखमै म्याद सकिएको पाइएको छ ।

रोपाइका लागि पानी ल्याउन रातभरी डयुटी
जनक केसी, जाजरकोट, असार ३- लामो खडेरीले खोलामा पानी सुकेपछि जाजरकोटका किसानले रोपाइ गर्ने पानी ल्याउन रातभरी डयुटी गर्न थालेका छन्। वाली लगाउने बेला पानी नपरेर हैरान भएका किसानहरु यति वेला पानीको लागि कुलोको मुहानमै रातभरी डयुटी बस्न थालेका हुन्। पानी पर्छ कि भनेर लामो समय सम्म पर्खिदा पनि आकासबाट पानी नपरेपछि व्याडमै विउ सुक्न थालेपछि पानी पैंचो गरेर रोपाइका लागि पानीको जोहो गर्नु परेको खलंगा ६ का किसान कृष्णबहादुर कार्कीले बताए। रोपाइका लागि पानी ल्याउन रातभरि झगडा गर्नु पर्छ यति गर्दा पनि पुग्ने जति पानी आउदैन कार्कीले भने।खडेरी र खोलामा पानीको अभावका कारण केही समय अगाडि लगाइएका धानको विउ व्याडमै सूक्न थालेका किसानहरु बताउँछन्। अहिले रोपाइका लागि कुलोको पानीलाइ पैंचोको रुपमा प्रयोग गर्ने गरिएको छ। जुन दिन जसको रोपाइ हुन्छ त्यसले अघिल्लो दिननै कुलोको मुहानमा गएर पानीको जोहो गर्नु पर्ने वाध्यता रहेको किसान टीकाराम खड्काले बताए।

माछा मार्ने विवादमा झडप भएपछि एक युवकको मृत्यु
रमेश खतिवडा, रामेछाप, असार २- दुई समूहबीच माछा मार्ने विषयमा विवाद भएपछि रामेछाप भलुवाजोर-२ हात्तिटारकाका स्थानीय २५ वर्षीय सोमबहादुर माझीको मृत्यु भएको छ। विगत चार वर्षदेखि तामाकोसीमा माछा मार्ने विषयमा मसानटार र हात्तिटारका स्थानीयबीच एकअर्काको क्षेत्रमा माछा मारेको विषयलाई लिएर विवाद चल्दै आएको थियो। हिजो राति माछा मार्न गएका हात्तिटारका युवालाई ढुंगैढुंगाले प्रहार गरेर मारेको थियो।हत्यामा संलग्न मसानटारका ९ जना युवालाई उनीहरुको घरबाटै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामकुमार माझी, शान्ति माझी, श्यामबहादुर माझी, नरेश माझी, बलराम माझी, सागर माझी, कालुराम माझी, बुद्धिराज माझी र सुतिराज माझी रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी सञ्जीव शर्माले जानकारी दिए।

सात विद्यालयको प्रवेशिका नतिजा शून्य
थप ४ एसएलसी परीक्षार्थीद्वारा आत्महत्या
िराटनगर, असार २-मोरङ जिल्लाका सातवटा विद्यालयको यस वर्षको एसएलसी परीक्षा परिणाम शून्य रहेको छ। तीमध्ये छवटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेका छन्।जिल्ला शिक्षा कार्यालयका अनुसार सामुदायिक विद्यालयमा कल्याणकारी मावि सिंहदेवी, शिक्षा सदन मावि वयरवन, भोगटेनी मावि भोगटेनी, रामपुर मावि भोगटेनी, महेन्द्र मावि मझारे, सार्वजनिक मावि वैजनाथपुर र संस्थागतमा बालवाटिका बोर्डिङ स्कुलबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।कार्यालयबाट उपलब्ध विवरणअनुसार यस वर्ष जिल्लामा नियमिततर्फ ४५ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी कुल १५ हजार ४८६ विद्यार्थीमध्ये ६ हजार ९४२ मात्र उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेहरुमा विशिष्टतर्फ ९१२, प्रथम श्रेणीमा तीन हजार १९७, द्वितीयमा दुई हजार ५३१ र तृतीय श्रेणीमा ३०२ जना उत्तीर्ण भएका बताइएको छ।
काठमाडौं, असार २ (नागरिक)- एसएलसी परीक्षामा असफल थप ४ परीक्षार्थीले आत्महत्या गरेका छन्। बाँके, कञ्चनपुर र सिन्धुपाल्चोकका परीक्षार्थीले आत्महत्या गरेका हुन्। बिहीबार सात परीक्षार्थीले आत्महत्या गरेका थिए। प्रहरी प्रधान कार्यालयका अनुसार बाँके शमशेरगन्ज-७ का १६ वर्षे नेत्रबहादुर थापाले बिषादी खाएर आत्महत्या गरेका छन्। एसएलसी परीक्षामा असफल भएका उनलाई बिहीबार बेलुका बिषादी खाएर असक्त भएको अवस्थामा फेला पारेपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। कन्चनपुर, सुडा-२ की २० वर्षे आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छन्। उनले पनि बिहीबार बेलुका घरको धुरीमा चुन्निको पासो लगाएर आत्महत्या गरेकी हुन्।

पढाइ इन्जिनियरिङ, पेसा कृषि
समुन्द्र पौडेल, तनहुँ, असार २- हरेक नेपाली बाबुआमा आफ्ना सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउन चाहन्छन्। पढेलेखेपछि जागिरै खानुपर्छ खेतीपातीतिर आँखै लाउन हुन्नजस्तो गर्छन् युवाहरु पनि। तर, इलेक्ट्रोनिक इन्जिनियरिङ पढेका यहाँका एक युवा सगुन बाँस्तोला गाउँमै खेतीपाती गरेर नमुना किसान बनेका छन्। खैरेनीटार-७, काउँलेका २१ वर्षे सगुनलाई गाउँमै उत्पादित च्याउ र गोडभेंडा बेच्न भ्याइनभ्याई छ। ‘किन्नेहरु घरमै आउँछन्,’ उनले भने, ‘आम्दानीसमेत निकै राम्रो भइरहेको छ।’ गत असोजबाट व्यावसायिक च्याउखेती गरेका सगुनले ८० हजार रुपैयाँ नाफा गरिसकेको बताए। पोखरा इन्जिनियरिङ कलेजबाट डिप्लोमा तहको परीक्षा सकेलगत्तै उनले घर पुर्ख्यौली जग्गामा च्याउखेती सुरु गरेका हुन्।
‘२ वटा फार्म बनाएर च्याउ खेती गरेको थिएँ,’ उनले भने, ‘राम्रो आम्दानी भएपछि भाडामा जग्गा लिएर फार्मलाई विस्तार गर्दैछु।’ इन्जिनियरिङ पढेर पनि खेतीपाती गर्न तम्सिँदा सगुनसँग बेखुसी भएका बाबुआमाले नै अहिले दिनरात उनलाई सघाइरहेका छन्।

राखेप भ्रष्टाचारको छानविन अलपत्र
अजय फुयाल, काठमाडौं, असार २- संविधानसभा भंग भएपछि सुदूरपश्चिममा फागुनमा भएको छैटौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथिको छानबिन अलपत्र परेको छ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा माओवादीबाहेक सबै राजनीतिक दलका स्थानीय नेतृत्वले छैटौं राष्ट्रिय खेलकुदमा व्यापक भ्रष्टाचार भएको भन्दै चैत पहिलो साता उजुरी गरेका थिए। लेखा समितिले भानुभक्त जैशीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाई छानबिन सुरु गरे पनि अब संसदकै हैसियत समाप्त भइसकेका कारण छानबिन स्वतः निस्क्रिय बनेको छ। राजनीतिक दलका स्थानीय नेतृत्वले सार्वजनिक लेखा समितिका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खेल प्रशासनविरुद्ध उजुरी गरेको थियो। उजुरी परेपछि लेखा समितिले चैत १२ मा एक साताभित्र सबै पेश्की फर्छ्योट गराई चैत २५ सम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। राखेपले एक साता समय कम हुने भन्दै थप समय माग गरी वैशाख पहिलो साता १३ करोड १८ लाख ८ सय ७१ रुपैयाँको पेश्की फर्छ्योट विवरणसहित प्रतिवेदन बुझाएको थियो। लेखा समितिले वैशाख ७ मा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेटका साथ जैशीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमिति सदस्यमा कमला पन्त, अलाउद्दिन अन्सारी, प्रमोद गुप्ता र टेकबहादुर बस्नेत थिए।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: