RSS

Monthly Archives: सेप्टेम्बर 2010

साइबर जाँदा परिचयपत्र अनिवार्य

रामचन्द्र भट्ट, काठमाडौं, असोज १२ – साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्। साइबर क्याफेबाट अपराधिक घटनालाई बल पुग्ने इमेल, एसएमएस गर्ने प्रवृत्ति देखिएपछि त्यसलाई नियन्त्रण गर्न नियामक निकायले परिचयपत्र हेरेरमात्र साइबर क्याफेमा प्रवेश दिन निर्देशन दिएको छ।
‘साइबरमा आउनेको परिचयपत्र हेरेर मात्र प्रवेश दिनुपर्ने गरी हामीले इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुलाई निर्देशन दिएका छौं,’ नियामक निकाय दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।यो निर्देशनअनुसार अब साइबर क्याफे सञ्चालकले ग्राहकको कुनै पनि किसिमको परिचयपत्र हेरेर मात्र प्रयोग गर्न दिनुपर्नेछ। ‘साइबरमा आउनेको परिचयपत्र हेरेर उनीहरुको पूरा विवरणसहितको लगबुक राखेरमात्र चलाउन दिनुपर्नेछ,’ न्यौपानेले भने।
साइबर क्याफे चलाउनेले हरेक कम्प्युटरलाई नम्बर दिएर ग्राहक कुन कम्प्युटरमा कति समय बस्यो भनेर विवरणसमेत राख्नुपर्नेछ। ‘यस्तो गर्दा यदी कोही कसैले इमेलबाट धम्की दिइहालेको अवस्थामा पनि पत्ता लगाउन सजिलो पर्छ,’ न्यौपानेले भने। सुरक्षा निकायले मागेको समयमा कुन कम्प्युटरमा को बसेको थियो र उसले कति समयसम्म प्रयोग गर्‍यो भन्ने विवरण समेत उपलब्ध गराउनुपर्नेछ। भारतलगायत अधिकांश देशमा साइबर क्याफेले ग्राहकको परिचयपत्रको फोटोकपी राखेरमात्र प्रयोग गर्न दिने नीति छ। नेपालमा भने अहिलेसम्म साइबर क्याफेमा गएर जोसुकैले जुनसुकै साइट खोलेर हेर्नसक्ने सुविधा छ।
साइबर क्याफेहरुले अश्लील साइटहरु नखोल्नको लागि आफ्ना ग्राहकलाई सूचना दिनुपर्ने नयाँ व्यवस्था पनि गरिएको छ। अहिले अश्लील साइट हेर्नेहरुमध्ये अधिकांशले साइबर क्याफेलाई प्रयोग गर्नेगरेको प्रहरीको रिपोर्ट छ। प्रहरीकै सुझावका आधारमा प्राधिकरणले नीति बनाएर आइएसपीहरुलाई यस्तो निर्देशन दिएको हो।’यो नीतिले इन्टरनेटमार्फत हुने अपराधिक घटनालाई कम गर्न सहयोग पुग्छ,’ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहोराले भने। अहिलेकै रुपमा साइबर क्याफेलाई छाड्ने हो भने इन्टरनेटको दुरुपयोग हुने देखिएकोले साइबर क्याफेलाई नियममा बाँध्न यस्तो नीति ल्याइएको हो।
नयाँ नीतिअनुसार साइबर क्याफे सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय वा उद्योग विभाग अन्तर्गतको कुनै पनि निकायमा दर्ता हुनुपर्नेछ। साइबर क्याफेहरु कर कार्यालयमा समेत दर्ता गर्नुपर्ने अनिवार्यता गरिएको छ।प्राधिकरणका अनुसार यो नीति देशभरिका साइबर क्याफेको निम्ति लागु हुनेछ। निजी साइबर क्याफे, सूचना केन्द्रहरुले ग्राहकहरुको लागि आचारसंहिता बनाएर राख्नुपर्ने भएको छ।’इन्टरनेटको माध्यमबाट धम्की, गालीगलौजका घटना हुन नदिन र अश्लिल साइट हेर्ने लतबाट जोगाउन यस्तो नीति ल्याउनुपर्ने आवश्यकता देखिएका हो,’ प्राधिकरणका अर्का एक अधिकारीले भने। नेपालमा अहिले इन्टरनेट सेवा प्रदायक कम्पनी ३८ वटा छन्।
प्राधिकरणका अनुसार साइबर क्याफेमध्ये ९० प्रतिशत नेपाल टेलिकमका छन्। साइबर क्याफेको लागि नेपाल टेलिकमले सुरु गरेको एडिएसएल सेवा सस्तो भएकोले धेरै साइबर क्याफे एडिएसएलका ग्राहक छन्।

Nagarik

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 28, 2010 in Uncategorized

 

उपराष्ट्रपतिका स्वकीय सचिवलाई पाँच दिन थुन्न अदालतको अनुमति

काठमाडौं, असोज ३
उपराष्ट्रपति परमान्द झाका स्वकिय सहसचिव राजेश अहिराजलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। राज्यविरुद्ध अपराध गरेको अभियोग लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंले अहिराजलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतमा पेश गरेको थियो।
प्रहरीले १० दिन थुन्न माग गरेकोमा अदालतले अनुसन्धानका लागि पाँच दिन मात्र थुनामा राख्न अनुमति दिएको हो।

अहिराज शुक्रबार अनामनगरस्थित मधेस मिडियाको कार्यालयबाट पक्राउ परेका थिए। उनी सम्पादक रहेको मधेसवाणि पत्रिकाले तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्तिमोर्चा राजन समूहको सैन्य भर्नासम्बन्धी विज्ञापन प्रकाशित गरेपछि प्रहरीले पक्राउ गरेको थियो।

अहिराज दुई महिनाअघि उपराष्ट्रपति परमानन्द झाका स्वकीय सचिव नियुक्त भएका थिए।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 19, 2010 in Uncategorized

 

अस्पताल र चिकित्सकबाट १९ लाख क्षतिपूर्ति

शिक्षणबाट ५ लाख, ओमबाट ४ लाख ४८ हजार, ओम र शिक्षण अस्पतालका चिकित्सक ध्रुव शर्मा मुडभरी ६ लाख र किरण श्रेष्ठबाट ४ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने

उपपोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँका अनुसार उपचारमा भएको लापरबाहीबाट भएको मृत्युमा तिराउने निर्णय भएको क्षतिपूर्ति रकम यो सबैभन्दा बढी हो

शिक्षण अस्पतालजस्तो साधनस्रोत सम्पन्न अस्पतालमा बिरामीको रगतजस्तो संवेदनशील विषयको जाँच गर्दा लापरबाही गरेर जीवनमा खेलबाड गरेको ठहर

लीलानाथ घिमिरे

काठमाडौ, आश्विन २ – दुर्घटनामा घाइतेको उपचारमा लापरबाही गरेकाले मृत्यु भएको ठहर गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको क्षतिपूर्ति समितिले अस्पताल र चिकित्सकबाट मृतकका परिवारलाई १९ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराउने निर्णय गरेको छ । क्षतिपूर्ति समितिले केही महिनाअघि गरेको निर्णयको पूर्णपाठ हालै तयार भएको हो ।

दुर्घटनामा घाइते सिन्धुली हत्पतेका वैकुण्ठप्रसाद अधिकारीको उपचारमा लापरबाही गरेको ठहरसहित समितिले ओम अस्पताल, ओम र शिक्षण अस्पतालका चिकित्सक ध्रुव शर्मा मुडभरी र किरण श्रेष्ठबाट क्षतिपूर्ति गराउनुपर्ने निर्णय गरेको हो । अधिकारी ताप्लेजुङबाट उदयपुरको सहायक प्रजिअमा सरुवा भएर आउँदै गर्दा चार वर्षअघि -२०६३ भदौ ३० मा) दुर्घटनामा परेका थिए ।

समितिको निर्णयमा शिक्षणबाट ५ लाख, ओमबाट ४ लाख ४८ हजार, मुडभरीबाट ६ लाख र श्रेष्ठबाट ४ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने उल्लेख छ । अध्यक्ष प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल, सदस्यहरू जिल्ला न्यायाधिवक्ता बद्रीप्रसाद ओली, मेडिकल अधिकृत ईश्वरप्रसाद उपाध्याय, उपभोक्ता संस्थाका प्रतिनिधि रामचन्द्र सिंखडा, उद्योग वाणिज्य संघका प्रतिनिधि किशोरकुमार अग्रवाल र सदस्यसचिव घरेलु तथा साना उद्योग कार्यालयका प्रेमप्रसाद पौडेल रहेको क्षतिपूर्ति समितिले यस्तो निर्णय गरेको हो ।

मृतकका परिवारका तर्फबाट क्षतिपूर्तिका लागि मुद्दा दायर गर्ने उपपोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँका अनुसार उपचारमा भएको लापरबाहीबाट भएको मृत्युमा तिराउने निर्णय भएको क्षतिपूर्ति रकम यो सबैभन्दा बढी हो । मञ्चले उपचारमा लापरबाही गर्ने अस्पताल र चिकित्सकबाट १ करोड ४ लाख ७२ हजार २ सय ८० रुपैयाँ क्षतिपूर्ति माग दाबी गर्दै समितिमा निवेदन दिएको थियो । मञ्च क्षतिपूर्ति थोरै भएको भन्दै पुनरावेदन जाने तयारीमा रहेको एक पदाधिकारीले बताए ।

दुर्घटनामा परेका अधिकारीलाई सरकारले हेलिकप्टरबाट उद्धार गरी शिक्षण पर्‍याएको थियो । अस्पतालले आन्तरिक रक्तश्राव नरोकिएकाले रगत परीक्षण गरी बी पोजिटिभ समूहको ६ पोका ल्याउन भनेको थियो । अधिकारीका दाजु दिनेशका अनुसार रगत ल्याएर चढाएपछि चिकित्सकले तुरुन्त शल्यक्रिया गर्नुपर्ने जनाउँदै शिक्षणमा आइसियु र भेन्टिलेटरको सुविधा नभएको भन्दै अन्यत्र लैजान भनेका थिए । त्यसपछि ओम लगिएको थियो । त्यहाँ फेरि रगत जाँच गर्दा उनको समूह एबी पोजिटिभ रहेको पत्ता लागेेको थियो । समितिले समूहभन्दा फरक रगत दिएर शिक्षणले घाइतेको जीवनमाथि हदैसम्मको लापरबाही र खेलबाड गरेको ठहर गरेको छ ।

ओममा चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताएका थिए । तर रकम जम्मा नगरेको भन्दै दुई दिनपछि मात्र शल्यक्रिया गरेका थिए । ‘सरकारले जम्मा गर्नुपर्ने पैसा समयमा नआएको भन्दै चिकित्सकले दुई दिनपछि मात्र शल्यक्रिया गरे,’ अधिकारीका दाजु दिनेशले भने, ‘उपचारमा ढिलाइ भएकाले भाइको मृत्यु भयो ।’ अस्पतालले बिरामीको उपचार समयमै नगरी हेलचेक्राइँ गरेको समितिको ठहर छ ।

मृत्यु भएपछि उनका नाबालक छोराछोरी दिवस र निस्माका तर्फबाट पिता टीकाप्रसाद अधिकारीले २०६३ कात्तिक २७ मा क्षतिपूर्ति समितिसमक्ष निवेदन दिएका थिए । त्यस्तै उपभोक्ता हित संरक्षण समितिले पनि छुट्टै निवेदन दिएको थियो ।

समितिले शिक्षण अस्पतालजस्तो साधनस्रोत सम्पन्न अस्पतालमा बिरामीको रगतजस्तो संवेदनशील विषयको जाँच गर्दा लापरबाही गरेर जीवनमा खेलबाड गरेको ठहर गरेको छ । यो अस्पतालले क्षतिपूर्ति समितिमा परेको निवेदनमा प्रत्युत्तर नफिराई म्याद गुजारेर बसेकाले उसले समितिको निर्णयमाथि पुनरावेदन गर्ने अधिकारसमेत गुमाएको छ । उसले त्यो रकम तत्काल क्षतिपूर्ति तिर्नुपर्ने एक कानुन व्यवसायी बताउँछन् । मृतक अधिकारीका दाजु दिनेश भने अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको बताउँछन् । बाँकी प्रतिवादी भने ३५ दिनभित्र पुनरावेदन जान पाउँछन् ।

kantipur

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 18, 2010 in Uncategorized

 

ह्विलचेयर मोडल

अमृता ज्ञवाली, २१, का आँखा आकर्षक छन्। कपाल रेसमी छ। ओठ फक्रेका छन्। नाकको देब्रे कुनाको कोठीले झनै राम्री देखिएकी छन्। फराकिलो अनुहारमा आकर्षक मुस्कान बोकेर उनी वजनदार कुरा गर्छिन्, मनोविज्ञान र समाजशास्त्रमा स्नातक जो गर्दैछिन्।एसएलसी प्रथम श्रेणी, लक्ष्य- साइकोलोजिस्ट।

तपाईंलाई के लाग्छ, उनी मोडल बन्न सक्दिनन्?

मस्तिष्कबाट शरीरका सारा अंगमा संवेदना सञ्चार गर्ने काम मेरुदण्डका स्नायुले गर्छन्, जसलाई सुषुम्ना भनिन्छ। प्रेमीले हात सुम्सुम्याउँदा तपाईंमा कुनै संवेदना हुनेछैन- मेरुदण्ड नभए!
१८ वर्षअघि सडक दुर्घटनामा अमृताले त्यही मेरुदण्ड गुमाइन्। परिवारका सारा सदस्य पनि गुमे। सात वर्ष उपचार गरेपछि बल्ल उनी ह्विलचेयरमा बस्नसक्ने भइन्। अहिले हिँडडुलको एउटै माध्यम ह्विलचेयर हो। नक्सालस्थित एसओएसको होस्टलबाट त्रिचन्द्र कलेज पुग्न उनलाई ह्विलचेयरमा आधा घन्टा लाग्छ।

तपाईंलाई के लाग्छ, उनी मोडल बन्न सक्छिन्?

जवाफ पाउन अर्को आइतबार (असोज ३ गते) साँझ सोल्टी होटल आउनुस्, जहाँ एउटा फेसन सोमा अमृता र्‍याम्पमा देखिनेछिन्, मोडलका रूपमा। उनीसँगै मेरुदण्ड सग्लो नभएका अरू सातजना ह्विलचेयरमै र्‍याम्पमा उत्रिनेछन्। सिक्वेन्सको नाम हुनेछ- इन्स्पाइरेसन। अर्थात् प्रेरणा।

धन्यवाद छ भगवानलाई, जसले अमृताको आधा मेरुदण्डमात्र नष्ट गरिदिए। मेरुदण्डको आधा भाग काम नगर्ने भएकाले अमृताका खुट्टामा कुनै संवेदना हुँदैन तर हातसम्म मस्तिष्कको तरंग पुग्छ। अर्थात उनको सुम्सुम्याइमा झंकार हुन्छ।

तिनै राम्रा हातका लाम्चा औंला नचाउँदै कुसेऔंसीका दिन जोरपाटीस्थित एसओएस बालग्राममा बुबाको मुख हेर्न आएकी अमृताले भनिन्, ‘मेरा खुट्टा चल्दैनन् भन्दैमा म मोडल नै बन्न सक्दिनँ?’

परिवार गुमाएपछि जोरपाटी एसओएसको छोरी भएर हुर्केकी अमृताका लागि त्यहीँका निर्देशक रविन नेपाली बुवा हुन्, अरू सयौं एसओएसका छोराछोरीले मानेजस्तै। आफू हुर्केको ब्लकमा आफूजस्तै दस शारीरिक रूपमा कमजोर बालबालिकाको हेरचाह गर्ने महिला उनकी आमा हुन्। एसएलसीपछि जोरपाटीबाट नक्साल सरे पनि उनी चाडबाडमा बुबाआमा भेट्न आइरहन्छिन्।

जोरपाटी एसओएसकी काउन्सिलर नर्स रमा कार्कीले झन्डै एक वर्षअघि उनलाई मोडल बन्न हौस्याइन्। ‘मोडलिङमा रुचि छ भने किन यो क्षेत्रको ढोका ढक्ढक् नगर्ने’ भन्दै अमृताका तस्बिर साइबर संसार डटकमलाई पठाइदिइन्। साइबर संसारका अभिनव कसजु अमृताको व्यक्तित्वबाट प्रभावित भए। मोडलका तस्बिर राख्ने यो वेबसाइटले गत पुसमा उनको कभरेज गर्‍यो- सम्भवतः नेपालकै पहिलो ह्विलचेयर मोडलका रूपमा। गोदावरीमा फोटोसुट हुँदा अमृता मख्ख परिन्, मोडल बन्ने चाहना जो पूरा भएको थियो।

त्यसपछि रमा र अमृताले नमुना कलेज अफ फेसन टेक्नोलोजीको ढोका ढक्ढक्याए जसले यी सुन्दरीको र्‍याम्पमा उत्रिने धोको पूरा गर्दैछ, अर्को साता। कलेजकी विद्यार्थी तथा आयोजकमध्ये एक ऋतु श्रेष्ठका अनुसार पहिरन प्रदर्शनीका पाँचवटा सिक्वेन्समध्ये ‘स्पेसल’ खन्डमा अमृताको टोली र्‍याम्पमा देखिनेछ।

संगीतकार न्ह्यु बज्राचार्यले आफ्नो आगामी सिर्जनाको भिडियोमा अमृतालाई लिँदैछन्। न्ह्युका अनुसार वसन्त चौधरीले लेखेका गीतको आगामी एल्बमको कुनै भिज्युअलमा अमृतालाई लिइनेछ। अमृताले भनिदिइसकेकी छन्, ‘असहाय, दुःखी, निराश गीतमा म खेल्दिनँ है, आशा, प्रेम र उत्साहका गीतमा मात्र खेल्ने हो!’
मोडलिङलाई पेसाचाहिँ नबनाउने?

‘नबनाउने, म त साइकोलोजिस्ट बन्ने हो,’ अमृता मुस्काइन्।

एकै निमेषमा गम्भीर हुँदै बोलिन्, ‘शारीरिक रूपमा अक्षम भएपछि मानिसमा विभिन्न मनोवैज्ञानिक जटिलता आउँछन्। मजस्तो स्पाइनल कर्ड इन्जर्डले नै उनीहरूको मनोविज्ञान बुझ्न सक्छ। मैले त आफ्नो अवस्था स्वीकार गरिसकेकी छु, तर सबैले यस्तो अवस्था उही रूपमा स्वीकार गर्न सक्दैनन्। त्यसैले म साइकोलोजिस्ट बन्नुपर्छ, शारीरिक अशक्तलाई समाजमा पुनर्स्थापित गर्न।’

स्पाइनल कर्ड इन्जर्डका लागि काम गर्ने एउटा संस्थाकी फोकल पर्सन पनि हुन् उनी।

जोरपाटी एसओएसको चौरमा ह्विलचेयर गुडाउँदै अमृताले ब्लकहरूमा बाबुको मुख हेर्ने दिन मनाइरहेका शारीरिक अशक्त बालबालिकातिर औंला तेर्स्याउँदै भनिन्, ‘यी सबैमा आशा र साहस जगायो भने यहाँ नहुने के छ?’

मनोज दाहाल

 
१ टिप्पणी

Posted by on सेप्टेम्बर 12, 2010 in Uncategorized

 

फेसबुकमा ६ लाख नेपाली

काठमाडौं, – सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा आवद्ध हुने नेपाली झण्डै ६ लाख पुगेका छन्। फेसबुकका प्रयोगकर्ता गणना गर्ने साइट फेसबेकर्सका अनुसार, आइतबारसम्म नेपाली प्रयोगकर्ता ५ लाख ८७ हजार पुगेका छन्। यो मध्य पुरुष तीनलाख ९९ हजार नौसय र महिला एकलाख ८० हजार सातसय ४० छन्। इन्टरनेटको पहुँच भएका ९० प्रतिशतभन्दा बढी नेपाली फेसबुकमा छन्।

सबैभन्दा बढी ४६ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका छन्। २५ देखि ३४ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता नेपाली २७ प्रतिशत छन्। फेसबुक प्रयोगकर्ता नेपालीमध्य ३५ देखि ४४ वर्ष समूहका ७ प्रतिशत छन् भने १६ देखि १७ वर्ष समूहका नौ प्रतिशत छन्। ६५ वर्षभन्दा माथि उमेर भएका फेसबुक प्रयोग गर्ने नेपाली एक प्रतिशत छन्।

‘फेसबुकको जुन खालले प्रयोगकर्ता बढी रहेका छन्, त्यसले गर्दा साइबर सुरक्षामा निकै ठूलो चुनौति थपिएका छन्,’-प्रमाणिकरण नियन्त्रक राजनराज पन्तले भने। फेसबुक जस्ता सामाजिक सञ्जालबाट सम्बन्ध बढाएर चाँडै विश्वासमा पारेर ह्याकिङ गर्ने समस्या बढ्दै गएको छ।

प्रमाणिकरण नियन्त्रक कार्यालयले आयोजना गरेको मासिक ‘मिडिया टेक’ कार्यक्रममा पन्तले जोकसैलाई छिट्टै विश्वास गरेर इमेल, डेबिट र क्रेडिट कार्डको ’boutमा जानकारी अरुलाई नदिन सुझाव दिए।

फेसबुक, ट्विटर, हाइफाइभ जस्ता साइटबाट मित्रता गाँसेर चाँडै विश्वासमा लिन प्रयास हुन्छ। त्यसपछि विभिन्न सूचना मागेर इमेल, क्रेडिट कार्ड, एटिएम कार्ड ह्याकिङ गर्ने प्रवृत्ति धेरै देशमा सुरु भएको छ। ‘ यस्ता प्रवृत्तिबाट अर्काको सूचना लिएर दुःख दिन सजिलो भएको छ,’ पन्तले भने।

यस्तो ह्याकिङबाट जोगिन अरु मानिसको छिट्टै विश्वासमा परेर सूचनाहरु नदिने, पासवर्डहरु हरेक ६/६ महिनामा फेरिरहनुपर्ने सुझाव सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरुको छ।

नागरिक

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 7, 2010 in Uncategorized