RSS

Monthly Archives: जनवरी 2011

घाइते पत्रकार थपलियाको उपचारको लागि प्रवाशीहरुको सहयोग । भुमिसुधार मन्त्री श्रेष्ठले पनि १ महिनाको तलव र भत्ता दिने घोषणा गरे


काठमाण्डौ २६ पौष,
मोटरसाइकल दुर्घटनामा परि दाहिने गोडा गुमाएका अग्निबाँण मासिक तथा अग्निबाँण वेभका प्रकाशक, सम्पादक पत्रकार रविन थपलियाको उपचारको लागि प्रवाशमा रहेका नेपालीहरुले सहयोग गरेका छन् ।
नेपाल लोकतान्त्रीक मञ्च कतारले दोहामा रहेका नेपालीहरुवाट जम्मा गरेको ८० हजार रुपैयाँ तथा नेपाली जनसम्पर्क समिती युएयी ले दुवईमा संकलन गरि पठाइएको रु २०,८४१ गरी कुल १ लाख ८ हजार ४८१ रुपैया आज काठमाण्डौमा आज कार्यक्रम गरि घाइते पत्रकार रविन थपलियालाई हस्तान्तरण गरीएको छ ।
रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रीक मञ्च दोहा कतारका अध्यक्ष रामहरी गैरेले भुमिसुधार तथा व्यवस्था मन्त्री डम्वर श्रेष्ठ मार्फत सो रकम पत्रकार थपलियालाई हस्तान्तरण गर्नुभएको हो । त्यस्तै नेपाली जनसम्पर्क समिती युएयीवाट पठाइएको २०,८४१ समेत सोहि अवसरमा हस्तान्तरण गरियो । जनसम्पर्क समिती युएयीका तर्फवाट अध्यक्ष चित्र केसीको अग्रतामा तुलसि विमली लगायतले सहयोग रकम जम्मा गरि पत्रकार थपलियाको खातामा पठाएका थिए । सो रकम नेपाल दुवयी डट कमका सञ्चालक दामोदर नेपाल मार्फत कार्यक्रमका प्रमुख अतिथी भुमिसुधार तथा व्यवस्था मन्त्री डम्वर श्रेष्ठले थपलियालाई हस्तान्तरण गर्नु भएको हो ।
नेपाल लोकतान्त्रीक मञ्च दोहा कतारले रिपोर्टस क्लवमा आयोजना गरेको कार्यक्रममा वोल्दै भुमिसुधार मन्त्री डम्वर वहादुर श्रेष्ठले लोकतन्त्र पुनस्थापनामा योगदान गरेका पत्रकार थपलियालाई राज्यले उचित सहयोग गर्न नसकेको भन्दै आफनो १ महिनाको तलव तथा भत्ता वापतको रु ५० हजार पत्रकार थपलियाको उचारको लागि दिने घोषणा गर्नुभयो । साथै मन्त्री श्रेष्ठले आगामी मन्त्री परिषदको वैठकमा समेत पत्रकार थपलियाको उचारको लागि केहि रकम निर्णय गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै रिपोर्टस क्लवका अध्यक्ष ऋषी धमलाले क्लवको तर्फवाट रु २० हजार रुपैया सहयोग दिने वताउनु भयो । साथै उहाँले पत्रकार थपलियाको विदेशमा लगेर भएपनि राज्यले कृतिम गोडा राख्नु पर्ने वताउनुभयो ।
त्यस्तै नेपाल लोकतान्त्रीक मञ्च दोहा कतारका अध्यक्ष रामहरी गैरेले पत्रकार थपलियको निम्ती यो रकम निकै थोरै भएकोले पुन कतारमा गएर सहयोग उठाउने वताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रीक आन्दोलनमा योगदान पुर्याएका पत्रकार थपलियाको उपचारको लागि राज्यले सिघ्र सहयोग रकम उपलव्ध गराउनु पर्ने वताउनुभयो ।

भुमिसुधार मन्त्री डम्वर श्रेष्ठ तथा पत्रकार थपलिया


कार्यक्रममा मुस्लीम वेलफेयर सोसाइटी दोहा कतारका महासचिव मोहमद रमदान अलिमियाले पत्रकार थपलियालाई प्रवाशका नेपालीले जस्तै राज्यले सहयोग गर्नुपर्ने वताउनुभयो ।
सहयोग रकम पाएपछि घाइते पत्रकार रविन थपलियाले राज्यले आफुलाई उचित सहयोग नगरे पनि प्रवाशमा रहेका नेपालीहरुले आफनो गुनासो सुनेर सहयोग गरेको भन्दै सहयोग गर्ने प्रवाशी नेपालीहरुलाई धन्यवात दिनुभयो । साहित्यकार तथा पत्रकार रवि रोसीको पहलवाट कतार हुदै अन्यदेशमा पनि आफुलाई सहयोग मिलेको भन्दै थपलियाले आफनो निम्ती सहयोगको पहल गर्ने रोसीलाई धन्यवात समेत दिनु भयो । कृतिम गोडा पुनस्थापना गरेपछि आफु मिडीयामानै र्फकर्ने सोच रहेको भन्दै पत्रकार थपलियाले त्यसको निम्ती उचित वातावरण मिलाईदिन अनुरोध गर्नुभयो ।
पत्रकार रविन थपलियाको २०६६ साल जेष्ठ ३१ गते काठमाण्डौको वालाजुमा भएको मोटरसाइकल दुर्घटनामा परि दाहिने गोडा गुमाएर उपचाररत छन् । थपलियाले आफुलाई हिडडुल गर्न सहज पर्ने प्रकारको कृतिम गोडा राख्नको लागि फेसवुक तथा विभिन्न सामाजीक सञ्जाल मार्फत पहल गदै आएका छन् ।

 

आफु मरेरै भएपनि राजुले दिए मनोरञ्जन ः खेलमैदानमानै ढलेका राजु फिरेनन् परे चिर निन्द्रामा

रविन थपलिया
पौष २१
म खेल हेर्नको निम्ती वढी चासो राख्छु । किनकी म खेल्न सक्दिीन । तर अरुको खेल हेरेरै मनोरञ्जन लिने मेरो वानि छ । तर आज त्यही खेलजिवनमा लागेर केहि गर्ने सोच वनाएका एक नायकको खेल खेल्ने क्रममानै ज्यान गएको दुखदायी समाचार लेख्नु पर्दा मलाई स्तव्ध वनायो । जति अरु मृत्युका समाचार लेख्दा स्तव्ध वनाउने थिएन् । हेटौडामा भइरहेको अन्तर नगरपालीका वक्सिङ प्रतियोगितामा सहभागी भएका वक्सीङ खेलाडी राजु वुढामगर प्रतिस्पर्धा गर्ने क्रममानै धरानका नविन लिम्वुले हानेको प्रहार टाउकोमा लाग्दा उनि गम्भीर घाइते भएका थिए । उनि खेल मैदानमानै रक्ताम्य भएर ढले उनको उपचारको निम्ती काठमाण्डौको वाँसवारी स्थीत न्युरो अस्पतालमा लगियो तर अफसोच उनि वाँच्न सकेनन् । उनको आज मृत्यु भयो । रुकुमको विकट गाँउमा जन्मीएका राजु पढाइको साथसाथै खेलकुदलाई निरन्तरता दिनको निम्ती काठमाण्डौ आएका थिए । उनि काठमाण्डौको सितापाईलामा वस्दै आएका पनि थिए । २० वर्षीय राजु वक्सीङ खेल्नको निम्तीनै काठमाण्डौ देखि हेटौडा पुगेका थिए । तर उनि कुनै पदक र सम्मान लिएर हैन धुकधुकि स्वास लिएर मात्र काठमाण्डौ आइपुगे तर चौविस घण्टा नपुग्दै सदाको लागि विदा भए ।
वक्सीङ खेल हेर्नको लागि जति मनोरञ्जन छ त्यो भन्दा जोखिम खेल्नमा छ । तर पनि खेलाडीहरु आफनो ज्यानैको ख्याल नगरी खेल्छन मात्र नाम र सानो सिल्ड र पदकको लागि । न उनिहरुको खेलको कदर राज्यलेनै गर्न सकेको छ नत अरुलेनै मात्र पाँउछन् धन्यवात र वधाइका शव्दहरु मात्र । तर आफनो पुर्ण समय खेल जिवनमा विताउने लक्ष्य लिएका कर्मठ ति युवक राजु वुढामगरको मृत आत्माको चिर शान्तिको कामना गर्दछु ।
खेलाडी हाम्रा देशका गहना हुन् अनि हाम्रा सम्पत्तीहुन लाग्दैछ आज ति युवकको ज्यान जँदा मैले धेरै चिज गुमाएको महसुस गरेको छु । म आज वढी भावुक वनेको पनि छु तर मलाई लाग्दैछ म किन त्यस्ती भावुक वनें । ति युवक मेरो परिवारका सदस्य पनि होइनन्, साथी पनि होइनन र चिनजानका व्यक्तिपनि होइनन् । तर यहाँ चिनेका, जानेका, साथी र नजिकका नातेदार गुम्दाको क्षणमा मात्र दुख मनाउने चलन छ । आफनै चिज गुम्दा मात्र रुने चलन छ । तर म ठान्छु खेलाडी हाम्रा गहना हुन सम्पत्ती हुन् । नेपाल सरकारका नियुक्ति लिएर चिल्ला पजेरो र घुम्ने कुर्सिमा दिन कटाउने हाम्रा विदेशका राजदुत भन्दा गाँउको ढिडो खाएर झण्डा लिएर मैदानमा कुदने खेलाडीले आफनो देशको पहिचान राख्न सक्छ । त्यसैले म राजदुतलाई भन्दा खेलाडीलाई वढी सम्मान गर्दछु । जे होस आज एउटा राजुको अन्त्य भएपनि भोली यस्ता दर्जनौ राजुहरु जन्मने छन् अनि नेपाली खेल जगतलाई संसारमाँझ चिनाउने छन् ।

 

सन् २०१०लाई नियाल्दा , विश्व राजनीति नयाँ मोडमा

अश्विनी कोइराला
वर्ष २०१० अघि विश्व आतंकवादी एवं युद्धको सन्त्रासमा बाँचेको थियो भने वर्ष २०१० मा विश्वराजनीति आतंकवादी सन्त्रासबाटभन्दा बढी अर्थ राजनीतिका कारण चर्चामा रह्यो । विश्वको तेस्रो आर्थिक शक्ति मुलुक चीन यही वर्षदेखि दोस्रो शक्तिशाली मुलुकमा दरियो । यो वर्ष चीनले अमेरिकादेखि अफ्रिकासम्म व्यापार विस्तार मात्र गरेन, खर्बौं डलर विदेशी लगानी भित्र्यायो । विश्वको दोस्रो आर्थिक शक्ति जापानको अवस्था खस्कँदै गएपछि ५० वर्षदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टीले गत वर्षको आमनिर्वाचनमा नराम्रोसँग पराजित हुनुपरेको थियो । सत्तामा आएको डेमोक्रेटिक पार्टी अफ जापानले पनि खस्कँदो अर्थतन्त्रलाई व्यवस्थापन गर्न सकेन । फलस्वरूप नौ महिना पनि नपुगी प्रधानमन्त्री हातोयामाले पदबाट राजीनामा दिनुपर्‍यो । यही मुद्दालाई व्यवस्थापन गर्न अहिले डेमोक्रेटिक पार्टीका नाओतो कान जापानका प्रधानमन्त्री बनेका छन्, त्यतिमात्र होइन, वर्ष २०१० को अर्थ-राजनीति यति प्रभावकारी भएर आयो, चीन-अमेरिकाले पुराना सबै तिक्ततालाई थाँती राखेर आर्थिक सम्पन्नताका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाए । चिनियाँ-अमेरिकी राष्ट्रपतिले पटक-पटक भेटवार्ता एवं एक-अर्का देशमा मैत्रिपूर्ण भ्रमण गरेर विश्व अब राजनैतिक स्वार्थका आधारमा होइन, आर्थिक स्वार्थका आधारमा चल्न थालेको सन्देश दिए ।

वर्ष २०१० मा अर्को राष्ट्र भारतले विश्व रंगमञ्चमा आफूलाई शक्तिशाली पात्रका रुपमा उभ्यायो । यही वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति हु जिन्ताओ, फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी, रूसका राष्ट्रपति दिमित्री मेदभेदव, बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनसमेतले भारतको औपचारिक भ्रमण गर्दै अर्बौ डलरको व्यापार सम्झौता गरे । यही व्यापार मुद्दाकै कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय संसदमै भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी समितिमा हेर्न चाहेको सार्वजनिक उद्घोष गरे । फ्रान्स, बेलायत, ब्राजिल एवं दक्षिण कोरियाको राजनीतिलाई पनि आर्थिक नीतिले प्रभावित तुल्यायो । विकसित देशहरूको साझा संयन्त्र जी २० मा अमेरिका-चीनबीच भएको मुद्रा विवादले पनि राम्रै चर्चा पायो ।
यति हुँदाहुँदै पनि वर्ष २०१० विकिलिक्स पत्रकारिता, उत्तर-दक्षिण कोरियाको युद्ध अभ्यास, नोबेल पुरस्कारको विवाद, आङसाङ सुकीको रिहाइ, कोपनहेगनमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन, अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा राष्ट्रपति बाराक ओबामाको दलको पराजय, इरानमाथि थप कडा प्रतिबन्ध लगाउने अमे रिकी नीतिलाई संयुक्त राष्ट्रसंघले गरेको अनुमोदन, बेलायतको निर्वाचनमा कन्जरभेटिभ पार्टीको विजय जस्ता घटनाका कारण सम्झन योग्य वर्ष बन्यो ।

विकिलिक्स पत्रकारिता
वर्ष २०१० सानो लगानीमा खुलेको नाफारहित सामाजिक संजाल विकिलिक्स डट इन्फो नामक वेबसाइटले विश्वभरि नै तरंग ल्यायो । विश्वभरि रहेका अमेरिकी दूतावासले उसको सुरक्षा संयन्त्र पेन्टागनलाई गरेको प्रतिवेदनका दस्तावेजहरू यो साइटले सार्वजनिक गरेपछि अमेरिकी कूटनीति नराम्रोसँग तल पर्‍यो । प्रतिवेदन सार्वजनिक भएसँगै विश्वका ठूला-बडा नेता एवं अमेरिकी उच्च निकाय बदनाम हुन पुग्ो । दशकौं लगाएर अमेरिकाले आफ्ना बनाएका विश्वका विश्वासी नेताहरूको राजनीतिमा धक्का पुग्यो । त्यसले कतिसम्म प्रभाव पार्‍यो भने विकिलिक्सले गरेको खुलासाले विश्व नै दुई ध्रुवमा विभाजित भयो । एकथरीले विकिलिक्सका सञ्चालक प्रमुख जुलियन असान्जलाई कुख्यात आतंकवादी बिन लादेनसँग तुलना गरे भने अर्काथरीले खोज पत्रकारितामा नयाँ आयाम थपेको भन्दै उनलाई नोबेल पुरस्कार दिनुपर्ने तर्क गरे । विकिलिक्सलाई बन्द गराउने हजारौं प्रयास भए, तर विकिलिक्स पक्षधरहरूले उक्त साइट बन्द हुन नदिन हजारौं मिरर साइट खोलिदिए । अमेरिकी रक्षा मन्त्रालयले उनको खाता नै बन्द गरायो, तर त्यसका समर्थकहरूले खाता बन्द गराउने स्वीस बैंकको एकाउन्टलाई नै ह्याक गरिदिए । विकिलिक्स प्रमुख असान्जलाई दुईवटा बलात्कारका मुद्दा लगाएर बेलायतमा थुनियो । यति हुँदाहुँदै पनि विकिलिक्सले विश्वका सनसनीखेज प्रतिवेदनहरू सार्वजनिक गर्ने काम जारी नै राख्यो ।
विकिलिक्स सन् २००६ डिसेम्बरमा खुलेको साइट हो । साइट खुलेको बखत नै उसले सोमालियामा भएको सरकारी अधिकारीको हत्यामा त्यहाँका चर्चित व्यक्ति शेख हसिन ददिरको हात भएको खुलासा गरेको थियो । सन् २००८ र ०९ मा केही घटना सार्वजनिक गरे पनि यसले वर्ष २०१० मा पहिलो पटक मार्च १५ मा अमेरिकी रक्षा विभागको ३२ पेज लामो जासुसी प्रतिवेदन सार्वजनिक गर्‍यो । यसले विश्वमै हलचल मच्चायो ।

जलवायु परिवर्तन
यो वर्षको राजनीतिमा जलवायु परिवर्तनको मुद्दाले कम विकसित मुलुकको तराजु भारी बनायो । विश्वका विकसित देशले भोग्ने सेवा सुविधाको मार कम विकसित मुलुकले भोग्नुपर्ने विडम्बना यो वर्ष सतहमा आयो । हरित उत्सर्जनका कारण बढेको तापमानका कारण हिमनदी पग्लने क्रममा भएको वृद्धि एवं समुद्रको बढ्दो सतहले विश्वलाई अप्ठारोमा पारेको कुरा विश्वभरिका प्रकृतिप्रेमी जनता एवं संस्थाले उठाए । त्यसमा संयुक्त राष्ट्रसंघको भूमिका पनि सकारात्मक रह्यो । यो मुद्दालाई विश्वभरि छर्न माल्दिभ्सले समुद्र मुनि मन्त्री परिषद्को बैठक गर्‍यो भने नेपालले सर्वोच्च शिखर सगरमाथाको काला पत्थरमा त्यस्तै बैठक सम्पन्न गर्‍यो । डेनमार्कको कोपनहेगनमा भएको विश्व सम्मेलनमा ५५ विकसित मुलुकले सन् २०५० सम्ममा ग्रीनहाउस ग्याँस कटौतीलाई ४५ प्रतिशत पुर्‍याउने प्रतिबद्धता जाहेर गरे । फेब्रुअरी २ मा गरिएको उक्त प्रतिबद्धतालाई चीन र भारतले एक कदम अघि सर्दै हरित गृह कटौती सन् २०२० मै ४५ प्रतिशत पुर्‍याउने वाचा गरे । विशेषज्ञहरूका अनुसार विश्वका ५५ विकसित देशले गर्ने सेवा र सुरक्षाका लागि ७८ प्रतिशत प्रकृतिको दोहन गरिरहेका छन् । जबकी बाँकी १ सय ४३ देशले जम्मा २२ प्रतिशत मात्र प्रकृतिको दोहन गरिरहेका छन् । यसको क्षतिपूर्तिस्वरूप विकसित मुलुकहरूले अविकसित मुलुकलाई १ सय अरब डलर क्षतिपूर्ति दिन मन्जुर गरेका छन् । उक्त रकममध्ये ३० अरब डलर आगामी एक दशकभित्रमा विभिन्न शिर्षकमा दिइसक्नुपर्नेछ ।

राजनीतिको केन्द्र अमेरिका
वर्ष २०१० विगत वर्षजस्तै अमेरिका केन्द्रित रह्यो । चीनको राजनीति आफ्नो देशको व्यापार बढाउने कुरामा मात्र केन्द्रित भएकाले चीन अमेरिकाजस्तो शक्तिशाली दे खिएन । अमेरिकी कांग्रेसले इरानमाथि थप नाकाबन्दी गर्ने विधेयकलाई पास गर्‍यो । यो विषयमा अमेरिकाको लबिङ यति शक्तिशाली थियो कि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यो विधेयक पास हुनुअघि नै नाकाबन्दी गर्ने प्रस्तावलाई स्वीकृति दिएको थियो, जसलाई जर्मनी र रूसले समर्थन गरेका थिए । यो प्रस्ताव पास भएपछि इरानसँग बैंकिङ कारोबार गर्न एवं तेल किनबेच गर्न चीनजस्ता विश्वका प्रमुख देशहरू वञ्चित भएका छन् ।
यसैगरी सन् २०१० मा अमेरिकाले आफ्नो देशमा गैरकानुनी रूपमा बसोबास गर्ने करिब १० लाख विदेशीलाई देशनिकाला गर्‍यो । तीमध्ये २५ प्रतिशत अपराधी रहेको अमेरिकी सुरक्षा विभागको कथन थियो ।अमेरिकी राजनीतिले आन्तरिक रूपमा पनि प्रभाव पारेको छ । वर्ष २०१० मा भएको सिनेट एवं राज्य गभर्नरको निर्वाचनमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई ठूलो धक्का दियो । उक्त निर्वाचनमा ओबामाको दल डेमोक्रेटिक पार्टीलाई विपक्षी रिपब्लिक पार्टीले पराजित गर्‍यो । यो चुनावमा ३७ सिनेट तथा ३७ राज्य गर्भनरको निर्वाचन भएको थियो ।

चीनद्वारा अमेरिकालाई झड्का
चीनमा अमेरिकी व्यापारको बढ्दो प्रभावलाई रोक्न चीनको राजनीतिक नेतृत्वले अमेरिकाको प्रसिद्ध सर्च इन्जिन साइट गुगल ह्याक गर्‍यो । गुगलको साइट लगातार ह्याक भएपछि वर्ष २०१० को प्रारम्भमै गुगलले आफ्नो चिनियाँ कार्यालय बन्द गरेको थियो । चीनमा अहिले पनि गुगलका ४० करोड प्रयोगकर्ता भएको अनुमान गरिएको छ । गत महिना मात्र विकिलिक्सले सार्वजनिक गरेको गुगल काण्डको रहस्योद्घाटनपछि चीन र अमेरिकाबीच फेरी गुगलको कार्यालय खोल्ने विषयमा कुराकानी प्रारम्भ भएको छ ।

तनावमा कोरिया नै
अमेरिका एवं दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यास प्रारम्भ भएयता सशंकित बनेको उत्तर कोरियाले दक्षिण कोरियाका २७ वटा सिमा क्षेत्रमा फाइरिङ खोलेेपछि वर्ष २०१० मा कोरिया प्रायद्वीप तनावमा रह्यो । दक्षिण कोरियाका दक्षिणी समुद्री तट योङ्प्योङमा उत्तर कोरियाले फाइरिङ खोल्दा दुई सर्वसाधारण एवं दुई सैनिक दक्षिण को रियाले गुमाएको थियो । यी दुई देशबीच सन् ०५० देखि ०५३ सम्म सीमाको विषयमा युद्ध हुँदा हजारौंले ज्यान गुमाएका थिए ।

नोबेल पुरस्कारको राजनीति
विश्वभरी नै सम्मानित मानिने नोबेल पुरस्कार वर्ष २०१० मा विवादित मात्र भएन, यसले विश्व राजनीतिमै तरंग ल्यायो । नर्बेको ओस्लोमा नोबेल पुरस्कार कमिटीले चीनका विद्रोही नेता लियू सिआबेलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेपछि विश्व दुई चीरामा विभाजित भयो । चीनले यसलाई आन्तरिक राजनीति एवं कानुनी प्रणालीमा तिखो हमाला गरेको प्रतिक्रिया मात्र दिएन, उसले आफ्नो प्रभावमा रहेका राष्ट्रलाई त्यसको बिरोध गर्न औपचारिक आग्रह गर्‍यो । फलस्वरूप नेपाललगायत १३ राष्ट्रले चीनको पक्ष लिँदै नोबेल पुरस्कारको विपक्षमा आवाज उठाए । पुरस्कार विजेता लियू सन् ८९ मा चीनको तियाननमेन चौकमा भएको विद्रोहका अगुवा हुन् ।
नोबेल पुरस्कार पाउने लियू चिनियाँ हिरासतमा भएकाले पुरस्कार वितरण समारोहमा उनको कुर्सी खाली रह्यो । उनकी श्रीमतीलाई पुरस्कार वितरण समारोहमा जान बञ्चित गर्न चीनले उनलाई घरमै नजरबन्द गर्‍यो । पुरस्कार वितरण समारोहको प्रसारण मात्र होइन, उक्त समाचारमा पनि चिनियाँ मिडियाले कैची चलाए । उक्त टे लिभिजन च्यानल आउने समयमा बीबीसी, सीएनएनजस्ता विश्वप्रसिद्ध समाचार केही क्षणका लागि बन्द भएका थिए ।

आङसाङ सुकीको रिहाई
वर्ष २०१० प्रजातन्त्र प्रेमीका लागि खुसीको वर्ष रह्यो । यो वर्ष १५ वर्षसम्म घरमै नजरबन्दमा रहेकी बर्माकी प्रजातन्त्रवादी नेत्रीलाई त्यहाँको सैनिक सरकारले रिहा गरिदियो । गत महिना रिहा भएकी आङसाङ सुकीको डेमोक्रेटिक पार्टीले सन् १९९० मा भएको निर्वाचनमा बहुमत हासिल गरेको थियो । उक्त निर्वाचनलाई अवैध घोषणा गर्दै त्यहाँको सैनिक सरकारले सुकीको दललाई प्रतिबन्धित गरी उनलाई हिरासतमा लिएको थियो । पछि उनलाई घरमै नजरबन्द गरियो । बेलायतको अधिनमा रहेको तत्कालीन बर्मालाई स्वतन्त्र गराउन सुकिका पिता जनरल आङ सानले ठूलो भूमिका निर्वाह गरेका थिए । जनरल आङ सानको हत्या पनि सेनाले नै गरेको थियो ।

 
१ टिप्पणी

Posted by on जनवरी 4, 2011 in Uncategorized

 

नयाँ बर्षको आगमान सँगै बिदेशमा पनी रमाए नेपालीहरु

शालीकराम पन्थ, आवुधाबी यूएई
३१ डिसेम्वर २०११को दिन यूएईको राजधानी आवुधाबीको कर्नेस एरियामा सर्वदा वाङ्मय प्रतिष्ठान यूएईले भब्य रुपमा बनभोज कार्यक्रम सम्पन्न ग–यो ।नयाँ बर्षको आगमानको स्वागतसँगै पुरानो बर्षलाई बिदाई गर्दै खुला चौरमा जोडदार साँस्कृतिक कार्यक्रमको गरेको थियो । साँझको ६ बजेबाट सुरु भएको सो बनभोज कार्यक्रममा सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई केन्द्रिय शाखा अध्यक्ष श्री लक्ष्मण सापकोटाको मातृशोक परेको कारण अनुपस्थिती मा श्रेत्रिय अध्यक्ष श्री गजेन्द्र चौधरीले औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालमा आफ्नो एल्वम निकाली सकेका कलाकारहरुको उपस्थिती रहेको थियो ।
मादल, गीटार, सारंङ्गीका धुनहरु यस खुला चौरमा बज्दा अरब मुलुकका मानिस साथै बिभिन्न देशका मानिसहरु नजिक झुम्मिएका थिए । आफ्नो देशको बिषम परिस्थिती देखि बिरक्तिएर कलाकारहरुले देशभक्ति गानाहरु एकपछि अर्को गाईरहेका थिए ।
खुशी परियारको आफ्नै शब्द, स्वरमा ‘हुदैन होला अब त भेट, घर धेरै टाढा छ ’ जस्तो मार्मिक संगीतबाट सुरु भएको सांगितिक कार्यक्रममा शिशिर परियारको आधुनिक गीत तथा बिच बिचमा रिमिक्स भाकाहरुले उपस्थित सम्पूर्ण र्सिजनशील मित्रहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो । अर्का गायक दिपक पर्छाइको जनवादी गीत ‘समयमै नबनेमा नेपालको जन संबिधान प्रवासी नै फर्कनेछन् बाजी थाप्दै आफ्नो जिउ ज्यान’ बोलको गीत पस्किदा न त पत्रकार जेपी सापकोटा सुनेर बस्ने सकें न त प्रतिष्ठान्का केन्द्रिय सचिव चन्द्रचेतूँले मन थाम्न सकें । अपरिचित नेपाली साथीहरुलाई पनि सजिलै परिचय गराई दिने ढाकाको टोपी ढल्काएर जेपी सापकोटा घरि संगीतको लयमा लय मिलाउँथे भने घरि कम्मर मर्काउैदै नाच्न थाल्थे । ६ बजे देखि संचालन भएको कार्यक्रममा खुशी परियार, शिशिर परियार, बिमला तामाङ्ग, जुना पर्छाइ, दिपक पर्छाइ, सन्दिप तामाङ्गले संगीत पस्केका थिए ।
त्यस सुखद् घडीमा जिन्दगीमा पहिलो पटक संगीत गाउँनेहरु तथा जिन्दगी पहिलो पटक नृत्य गर्नेहरु पनि थिए ।
करिब ५० जनाको उपस्थित उक्त कार्यक्रममा सर्वदाका केन्द्रिय सदस्य तथा अर्थिक समितिका संयोजक श्री दिपक अधिकारीले सर्वदाको आउँदो कार्यक्रम जनवरी २१ म हुने जानकारी गराएका थिए । नेपाल पर्यटक बर्षलाई सफल बनाउन हरेक नेपाली दाजुभाईलाई भिजिट नेपाल २०११ अंकित टिसर्ट लगाएर हिंड्न अनुरोध गरिएको थियो । सोही अवसरमा सर्वदा वाङ्मय प्रतिष्ठानको हरेक कार्यक्रममा उपस्थित भई संगीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाउने बिमला तामाङ्ग बिरामी अवश्थामा रहेको जानकारी पाएर केही आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । रातको ११ः०० बजे पछि बनभोज कार्यक्रमको संयोजक दिपक खड्काले बनभोज कार्यक्रम बिधिवत रुपमा समापन भएको घोषणा गरेका थिए ।

 
2 टिप्पणीहरु

Posted by on जनवरी 3, 2011 in Uncategorized

 

संसारका १० धनी व्यक्तिहरू

अमेरिकाबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले प्रत्येक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ। वर्ष २०१०मा संसारमा आफ्नो सम्पत्तिमा वृद्धि गरेर थुप्रै मानिस अर्बपतिको सूचीमा सामेल भएका छन् भने केही व्यक्ति यो सूचीबाट बाहिरिएका पनि छन्। सूचीको पहिलो १० स्थानमा रहेका केही अर्बपति लगातार यो सूचीमा रहँदै आएका छन्। यो वर्ष सूचीमा २ जनाले प्रवेश पाएका छन् भने २ जनाले आफ्नो पूर्वस्थान गुमाएका छन्। सूचीबाट आफ्नो नाम गुमाउनेमा स्वीडेनका इङभार काम्प्राड तथा जर्मनीका थिओ अल्ब्रेच्ट छन्। उनीहरू अघि वर्ष क्रमशः पाँचौं र नवौं स्थानमा थिए।

कार्लोस सिलम हेलु

मेक्सिकोका नागरिक ७० वर्षीय कार्लोस सिलम हेलु वर्ष २०१० मा संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् । अघिल्लो वर्ष उनी तेस्रो नम्बरमा थिए । हेलु मुख्यतः दूरसञ्चारका व्यवसायी हुन् । उनको यो व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिका क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन् । उनको कुल सम्पत्ति ५३ अर्ब ५० करोड डलर बराबर छ । उनका ६ सन्तान छन् । तीमध्ये ३ छोरा उनको कारोबारमा सहयोगीका रूपमा कार्यरत छन् ।

बिल गेट्स

५४ वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन् । उनको सम्पत्ति अहिले ५३ अर्ब डलर छ । अघिल्लो वर्ष यो सूचीको पहिलो स्थानमा रहेका बिल गेट्सले आफ्नो सम्पत्तिको ठूलो हिस्सा बिल गेट्स तथा मेलिन्दा गेट्स फाउन्डेसनलाई दान गरेकाले यो वर्ष उनी दोस्रो स्थानमा झरेका हुन् । बिल गेट्सले सन् २०१० मा आफ्नो सम्पत्तिमा १३ अर्ब डलर थपेका छन्, तैपनि आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेर उनले पर्याप्त चर्चा पाएका छन् । उनी तीन सन्तानका पिता हुन् । उनले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर पढाइ छाडेका थिए । सफ्टवेयरको सानो व्यापारबाट प्रारम्भ भएको उनको व्यवसाय अहिले विश्वव्यापी भएको छ । उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरेटिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन् ।

वारेन बफेट

७९ वर्षीय वारेन बफेट पनि अमेरिकी नागरिक हुन् । उनलाई संसारका धनीको सूचीमा तेस्रो स्थानमा राखिएको छ । उनको कुल सम्पत्ति ४७ अर्ब डलर छ । दुई वर्ष बफेट संसारकै पहिलो धनी थिए । यो वर्ष उनले आफ्नो सम्पत्तिमा ९ अर्ब डलर थपेका छन् । बफेटले पनि आफ्नो सम्पत्तिको ठूलो हिस्सा बिल गेट्स तथा मेलिन्दा गेट्स फाउन्डेसनलाई दान गरेका छन् । उनले युनिभर्सिटी अफ नेब्रास्काबाट आर्टस् र साइन्समा स्नातक तथा कोलम्बिया युनिभर्सिटीबाट साइन्समा स्नातक गरेका छन् । वित्तीय क्षेत्रमा चर्चित बफेटले सेयर, बैंकिङ तथा बिमा क्षेत्रमा लगानी गरेर यत्रो सम्पत्ति हासिल गरेका हुन् । उनको सेयर अमेरिकन एक्सप्रेस, कोकाकोला, जिलेटजस्ता प्रमुख कम्पनीहरूमा छ । बफेट बिमा कम्पनीको प्रमुखसमेत छन् ।

मुकेश अम्बानी

यसै वर्ष आफ्ना लागि संसारकै सबैभन्दा महँगो निजी आवास निर्माण गरेर चर्चामा आएका पेट्रोकेमिकल्सका भारतीय व्यापारी मुकेश अम्बानी फोब्र्स पत्रिकाको सूचीमा चौथो स्थानमा छन् । अघिल्लो वर्ष सातौं स्थानमा रहेका अम्बानीको सम्पत्ति २९ अर्ब डलर भन्दा बढी छ । अम्वानीले आफूलाई प्राप्त पैतृक सम्पत्तिलाई विस्तार गरेर यो स्थान प्राप्त गरेका हुन् । उनको स्वामित्वमा रहेको रिलायन्स पेट्रोकेमिकल्सले सन् २००९को विश्वव्यापी आर्थिक मन्दीमा पनि उल्लेख्य व्यापार गरेको थियो ।

लक्ष्मी मित्तल

भारतको राजस्थानमा जन्मिएका ५९ वर्षीय लक्ष्मी मित्तल हाल लन्डनको किङस्टनमा बस्छन् । उनलाई फोब्र्सले वर्ष २०१० मा विश्वको पाँचौं धनीको सूचीमा राखेको छ । उनको कुल सम्पत्ति २८ अर्ब ७० करोड डलर छ । उनले सानो उमेर विपन्नतामा बिताउनुपरेको थियो । भारतको स्वतन्त्रताभन्दा अघि उनका बुबाले सम्पूर्ण परिवारलाई कलकत्ता लगे । त्यहाँ उनका बुबाले स्टिल कम्पनीको साझेदारका रूपमा काम गरे । लक्ष्मीले कलकत्ताकै सेन्ट जेभियर्स कलेजबाटसन् १९६९ मा कमर्समा स्नातक गरे । त्यसपछि उनी आफ्नो बुबासँगै स्टिलको व्यापार गर्न थाले । सन् १९९४ मा आफ्ना बुबा र दाजुसँग खटपट भएपछि उनले स्वतन्त्र रुपमा व्यापार सञ्चालन गर्न थाले । पछि उनले लन्डनमा आफ्नो कम्पनी स्थापित गरे । उनको मित्तल स्टिल कम्पनीले उत्पादन गरेका स्टिल रोमानिया, बोस्निया हर्जगोभिना, दक्षिण अफ्रिका, अमेरिका आदि देशमा प्रसिद्ध छन् ।

लरेन्स एलिसन

लरेन्स एलिसन अमेरिकी नागरिक हुन् । उनको कुल सम्पत्ति साढे २८ अर्ब डलर छ । फोब्र्स पत्रिकाको सूचीमा छैटौं स्थानमा रहेका एलिसन ओराकल सफ्टवेयरका मालिक हुन् । उनले सन् १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेका थिए । सन् १९८६ देखि यो सार्वजनिक प्रयोगमा आएको थियो । यसको सेयर मूल्य बढ्दै जाँदा उनी सन् २००९ देखि सर्वाधिक धनीको सूचीमा पहिलो दस स्थानभित्र पर्न सफल भएका हुन् । एलिसनले युनिभर्सिटी अफ सिकागोमा भौतिकशास्त्र पढेका थिए, तर स्नातक नगर्दै बीचैमा पढाइ छाडेका थिए । उनको ४ सय ५३ फुट अग्लो राइजिङ सन् नामक पानीजहाज छ, जसलाई एलिसन आफ्नो निजी प्रयोजनका लागि प्रयोग गर्छन् ।

बेर्नाड अर्नल्ट

फ्रान्सका सौन्दर्य प्रशाधनसँग सम्बन्धित एलभिएमएच नामक कम्पनीका मालिक बेर्नाड अर्नल्ट फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा पहिलोपल्ट पहिलो दस स्थानमा आएका छन् । अर्नल्टको सम्पत्ति २७ अर्ब ५० करोड डलर बराबर छ । फ्रान्स बाहिर चिनको सांघाईमा व्यावसायिक लगानी गर्ने अर्नल्टको प्रसिद्धि फेसनको संसारमा समेत छ । भनिन्छ, अर्नल्टको उत्पादनको प्रयोग विना संसारमा फेसनसँग सम्बन्धित कुनै पनि कार्यक्रम संभव हुन सक्दैन । उनका प्रसिद्ध उत्पादनहरूमा लुइस भिटन, मोट तथा क्यान्डोन ब्रान्डका सौन्दर्य सामग्री हुन् ।

आइक बाटिस्टा

खानी तथा तेल व्यापारी एवं ब्राजिलका पूर्वखानी मन्त्रीका छोरा आइक बाटिस्टा फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा पहिलो पटक पहिलो दस स्थानमा परेका हुन् । आगामी केही वर्षभित्र विश्वकै सर्वाधिक धनि व्यक्ति बन्ने दावी गरिरहेका आइक बाटिस्टाको कुल सम्पत्ति २७ अर्ब अमेरिकी डलर छ । सन् २०१० मा मात्रै बाटिस्टाले आफ्नो सम्पत्तिमा १९ अर्ब ५० करोड डलर थपेका थिए । अहिले उनी संसारकै सबैभन्दा ठूलो सुन खानीका समेत मालिक भएका छन् ।

अमान्सियो ओर्टेगा

गत वर्ष फोब्र्स पत्रिकाको अर्बपतिहरूको सूचीमा दसौं स्थानमा रहेका स्पेनका ७४ वर्षीय व्यापारी अमान्सियो ओर्टेगा यो वर्ष नवौं स्थानमा छन् । उनको कुल सम्पत्ति २५ अर्ब डलर बराबर छ । ओर्टेगा मुलत खुद्रा व्यापारी हुन् । स्पेनमा उनको जारा नामक स्टोर छ । यो स्टोरमा विभिन्न सामग्रीहरू पाइन्छन्, जसमा लत्ताकपडादेखि लिएर घरायसी उपभोगसम्मका सामग्रीहरू छन् । विश्वका ७१ देशमा यस्ता ४ हजारभन्दा बढी स्टोर छन् । यसबाहेक ओर्टेगाको ग्याँस, पर्यटन उद्योग, बैंकिङ तथा रियल स्टे टका क्षेत्रमा पनि विश्वका विभिन्न राष्ट्रमा लगानी छ ।

कार्ल अल्ब्रेच्ट

गत वर्ष फोब्र्स पत्रिकाको अर्बपतिहरूको सूचीको छैटौं स्थानमा रहेका जर्मनीका ८६ वर्षीय कार्ल अल्ब्रेच्ट यो वर्ष केही सम्पत्ति थपेर पनि दसौं स्थानमा चित्त बुझाउन बाध्य भएका छन् । उनको कुल सम्पत्ति साढे २३ अर्ब ५० करोड डलर बराबर छ । कार्ल अल्ब्रेच्ट पनि खुद्रा व्यापारी हुन् । जर्मनीलगायत विश्वका विभिन्न मुलुकमा उनका सुपरमार्केटहरू छन् । अमेरिकाका २९ राज्यका १ हजारभन्दा बढी सुपर मार्केटका मालिक अल्ब्रेच्टले सन् २०१० मा मात्र अमेरिकामा ७५ वटा नयाँ सुपरमार्केट थपेका थिए । अर्बपतिहरूको सूचीमा पहिलो दस स्थानमा रहनेहरूमध्ये अल्ब्रेच्ट सबैभन्दा पाका हुन् ।