RSS

Monthly Archives: जुलाई 2011

नर्सिङ कलेजले बढाएका शुल्क लिन नपाउने, आज रोकिएको परीक्षा पर्सि

अजय गुणी
सानोठिमी (भक्तपुर), साउन १३- सिटिइभिटीअन्तर्गतका शैक्षिक संस्थाले बढाएका शुल्क हाललाई लिन नपाउने भएका छन्। यही विषयमा सहमति भएपछि नर्सिङको आज रोकिएको प्रवेश परीक्षा पर्सि लिइने सहमति भएको छ। नर्सिङको भोलिको प्रवेश परीक्षा भने यथावत् हुने जानकारी पनि दिइएको छ।

सिटिइभिटी र आफूहरुबीच यस्तो सम्झौता भएको जानकारी अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले दिए। नर्सिङ कलेजले बढाएका शुल्क खारेज हुनुपर्ने भन्दै केही दिनदेखि अखिल क्रान्तिकारीले सिटिइभिटीमा ताला लगाएको थियो। यसअघि पनि विभिन्न विद्यार्थीले विभिन्न माग राखेर यो कार्यालयमा ताला लगाइरहेका छन्।

 

नेपाललाई २ स्वर्ण, १२ रजत र २२ कास्य

दीपक खडका
काठमाडौं, साउन १४ – शान्तिका लागि जुडो भन्ने नारासाथ सञ्चालित प्रथम दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा नेपालले शुक्रबार २ स्वर्ण जितेको छ। त्यससँगै नेपालले १२ रजत र २२ कास्य पनि हात पार्‍यो।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा भारत ९ स्वर्णसाथ अग्रस्थानमा छ। बंगलादेशले पनि १ स्वर्ण र २ कास्य जित्यो। प्रतियोगिताको पहिलो दिन १० देखि १३ वर्षमुनिको पुरुषतर्फ २६ केजीमा भारतका औराविन्दा घोस पहिला भए। उनले नेपाल ‘सी’ का अजय राइलाई हराए। पुरुष ३० केजीको फाइनलमा नेपाल ‘ए’ का विकास भुजेलले नेपाल ‘डि’ का रोशन दोङलाई हराउँदै शीर्ष स्थान कब्जा गरे।

पुरुषको ३४ केजीमा नेपाल ‘सी’ का रुपेश शाहीले शीर्ष स्थान कब्जा गरे। फाइनलमा उनले नेपाल ‘ए’ का विधान रोका मगरको चुनौती समाप्त पारे। पुरुषको ३८ केजीमा भारतका अनुपम पाल पहिलो भए। उनले नेपाल ‘ए’ का राज राईलाई पाखा लगाए।

पुरुषको ४२ केजीमा भारतका मोहनमहादेव गाधीले बाजी मारे। उनले नेपाल ‘ए’ का अनिल तामाङलाई निराश पारे। पुरुषको ४२ केजीमाथिको उपाधि भिडन्तमा भारतका यम्नाम हिरोजित सिंहले नेपाल ‘ए’ का कृष्ण जिएमलाई पन्छाएर स्वर्ण चुमे।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको १३ देखि १६ वर्षको महिलातर्फ ३६ केजीमा भारतकी दिवयानी सिंह पहिलो भइन्। दिव्यानीले नेपाल ‘डि’ की स्वस्तिका अदुवालाई पाखा लगाइन्।

महिलाको ४० केजीमा भारतकी ऐश्वर्य कुक्रेतीले पहिलो स्थान कब्जा गरिन्। फाइनलमा ऐश्वर्यले नेपाल ‘ए’ की प्रियंका थापालाई निराश पारिन्। महिलाको ४४ केजीमा भारतकी रुकुल शेरावत पहिलो भइन्। रुकुलले नेपाल ‘ए’ की विष्णु खड्कालाई पन्छाइन्। महिलाको ४८ केजीमा अस्रफी अख्तर त्रिसियाले बंगलादेशलाई पहिलो स्वर्ण दिलाइन्। उनले नेपाल ‘ए’ की सीता सार्कीलाई पाखा लगाइन्।

महिलाको ५२ केजीमा भारतकी पूजालक्ष्मण गवाडे अगाडि रहिन्। फाइनलमा पूजाले नेपाल ‘बी’ की कुमारी तामाङलाई रोकिन्। महिलको ५२ केजीमाथि भारतकी कृष्णादेवी भिजिनोल सनिलले फाइनलमा नेपाल ‘ए’ की सिमला तामाङलाई हराई शीर्ष स्थान ओगटिन्।

प्रतियोगितामा नेपालका ९६, भारतका १८ र बंगलादेशका ९ गरी जम्मा १२३ खेलाडी सहभागी रहेको प्रतियोगिता निर्देश राजेश कर्माचार्यले बताउनुभयो। शनिबारसम्म चल्ने प्रतियोगितामा १२ स्वर्ण, १२ रजत तथा २४ कास्यसहित ४८ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ। यसैबीच जुडो संघकै आयोजनामा शुक्रबार सेमिनार सकिएको छ।

 

माओवादी ‘नपर्खने’, प्रधानमन्त्री ‘नहच्कने’

हरी राम भेटुवाल
काठमाडौं, साउन १४ – ‘पाँचबुँदेको प्रतिकूल नहुने गरी प्रमुख तीन दलको सहमतिमा मात्रै माओवादीले प्रस्ताव गरेका मन्त्रीलाई शपथग्रहण गराउन सकिने’ भन्दै प्रधानमन्त्री झलनाथ खनाल पन्छिएपछि माओवादीले ‘अब पर्खन नसक्ने’ जनाउ दिएको छ।
शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदम अशोभनीय भएको निष्कर्ष निकाल्दै छिनोफानोका लागि शनिबार १ बजे स्थायी समिति बैठक डाकेको छ।

‘सरकार बनाउँदा निर्णायक भूमिका खेलेको र संविधानसभामा सबैभन्दा ठूलो दलले मन्त्रिपरिषद्मा गरेको सामान्य हेरफेरलाई प्रधानमन्त्रीबाट भएको उपेक्षालाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकको निर्णय’bout भने, ‘यो अशोभनीय हो। यस’bout भोलि (शनिबार) स्थायी समितिले आवश्यक निर्णय गर्नेछ।’

सचिव सिपी गजुरेलले पनि ‘प्रतीक्षा गर्दागर्दै हद नाघेको’ टिप्पणी गरेका छन्। ‘अब पर्खन सकिँदैन। शनिबारको स्थायी समितिबाट एउटा निर्णय लिन्छौं, विकल्प अनेक छन्,’ गजुरेलले भने। गजुरेलले विकल्प उल्लेख गर्न भने चाहेनन्। ‘थुप्रै विकल्प छन्, अहिले के गर्ने भनेर नभनौं। हामीले गठबन्धन नबिग्रियोस् भन्नेमात्रै चाहेका हौं,’ उनले भने।

माओवादी नेताहरूको भनाइबाट उनीहरू ‘गठबन्धन तोडिहाल्ने पक्षमा’ नपुगेको देखिन्छ। स्रोतअनुसार ‘माओवादीले स्थायी समितिबाट निर्णय कार्यान्वयनका लागि अल्टिमेटम दिने नै हो, सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छैन।’ प्रधानमन्त्री पक्षले फेरि पनि केही समय पर्खिन आग्रह गर्ने भएकाले पनि माओवादीले तत्कालै कठोर निर्णय लिने सम्भावना नरहेको स्रोतको दाबी छ। त्यसैले पनि मन्त्रीको हेरफेर गर्ने माओवादी निर्णयले उत्पन्न राजनीतिक गतिरोध अझै लम्बिने देखिएको छ।
माओवादी नेताले ‘प्रधानमन्त्री खनालले गठबन्धन संस्कृतिलाई उपेक्षा गरेको’ बताएका छन्। मन्त्रीहरू सिफारिस गर्ने अधिकार सम्बन्धित पार्टीको भएको र त्यस्तो सिफारिसलाई प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने उनीहरूको जिकिर छ। गठबन्धनमा नभएको दल नेपाली कांग्रेसको समेत सहमति हुनुपर्ने प्रधानमन्त्री धारणाप्रति उनीहरूको आपत्ति छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने जेठ १४ पछि सरकार सञ्चालनको आधार फेरिएको तर्क गर्छन्। ‘अहिले सरकार सञ्चालनको आधार गठबन्धन नभएर प्रमुख तीन दलको सहमति हो,’ थापाले भने, ‘गठबन्धन विगतको महत्वपूर्ण सन्दर्भ हो। सरकार सञ्चालनको अहिलेको प्रमुख आधार र यथार्थ पाँचबुँदे सहमति हो।’ त्यसैले पनि प्रधानमन्त्रीले माओवादीको सिफारिसअनुसार तत्कालै निर्णय नलिएको उनको भनाइ छ।

पाँचबुँदे सहमतिले शान्ति, संविधान र राष्ट्रिय सहमतिलाई मार्गनिर्देशित गरेकाले सहमतिको वातावरण बनाउने प्रधानमन्त्रीको प्रयत्न जारी रहेको पनि थापाले बताए। प्रधानमन्त्री खनाल शान्ति प्रक्रियाका माओवादी प्रतिबद्धता ‘देखिने गरी’ कार्यान्वयन भएको हेर्न चाहन्छन्। कम्तीमा ‘लडाकुहरूको पुनर्वर्गीकरण गर्न माओवादी तयार भए प्रधानमन्त्री शपथग्रहण गराउने पक्षमा रहेको’ उनीनिकट नेताहरूले बताएका छन्।
माओवादीको आन्तरिक कलहका कारण शान्ति प्रक्रिया अघि नबढेका कारण यतिखेर माओवादीलाई प्रतिबद्ध बनाउन सकिने बुझाइ खनालको छ। पाँचबुँदे कार्यान्वयन माग राख्दै नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएका कारण पनि प्रधानमन्त्रीलाई शान्ति प्रक्रिया’bout माओवादीलाई दबाब दिन सहज भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमितिमा शान्ति प्रक्रियालाई अघि बढाउने जनाउ दिएका छन्। शान्ति प्रक्रिया र संविधान निर्माणलाई सँगसँगै लैजाने र त्यसका लागि आइतबारदेखि छलफललाई तीव्रता दिने उनले बताएका छन्। दाहालको यो भनाइलाई माओवादीले शान्ति प्रक्रियाका विषयमा थप निर्णय लिन लागेको रूपमा लिइएको छ।

माओवादीले शान्ति प्रक्रियामा प्रतिबद्धता व्यक्त गर्नेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री निकट स्रोतहरूले बताएका छन्। प्रधानमन्त्री खनालले ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महराको नेतृत्वलाई नै कायम राखी बाँकी ८ मन्त्रीलाई शपथग्रहण गराउने’ प्रयत्नमा छन्। महराले दिएको राजीनामासमेत स्वीकृत गरिएको छैन। नारायणकाजी श्रेष्ठकै नेतृत्वमा मन्त्रीहरूको शपथग्रहण गराउने विषयलाई भने प्रधानमन्त्री खनालले दोस्रो विकल्पका रूपमा मात्रै राखेका छन्।

 

अब तालिम लिएर विदेश

राजेन्द्र भट्ट
काठमाडौं, साउन १४- औपचारिक तालिम नलिई कम सेवासुविधामा वैदेशिक रोजगारमा गइरहेका युवाहरूका निम्ति विश्व बैंकको सहयोगमा ‘व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना’ सुरु भएको छ।
शिक्षामन्त्री गंगालाल तुलाधरले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरी परियोजनाको थालनी गरेका हुन्। छ करोड अमेरिकी डलरको लागतमा सुरु गरिएको परियोजनाबाट ७५ हजार युवालाई तालिम दिने लक्ष्य रहेको परियोजना निर्देशक एवं शिक्षा मन्त्रालयका उपसचिव लेखनाथ पौड्लले बताए।
कुल लागतमध्ये विश्व बैंकले ५ करोड डलर लगानी गर्नेछ भने नेपाल सरकारबाट ५५ लाख र स्थानीय स्रोतबाट ४५ लाख डलर बेहोरिनेछ। परियोजना सन् २०१६ अक्टोबरसम्म सञ्चालन हुनेछ। यसले खासगरी गरिब, पिछडिएका क्षेत्रका बासिन्दा, महिला, दलित, सुविधाविहीन जनजाति र अपांगता भएका व्यक्तिलाई प्राविधिक तथा व्यावसायिक तालिम दिने उनले जानकारी दिए।

यसअन्तर्गत छोटो र लामो अवधिका निःशुल्क तालिम दिइनेछ। छोटो तालिम ३ देखि ६ महिनाको हुन्छ। यसमा ४७ हजार ५ सय युवालाई तालिम दिने लक्ष्य छ। लामो अवधिको तालिममा २७ हजार ५ सयलाई समावेश गरिनेछ।

छोटो अवधिको तालिम लिने युवाले एसएलसी तथा स्नातक तहको प्राविधिक शिक्षा प्राप्त गर्नेछन्। आवश्यकताअनुसार रोजगारमूलक तालिम पनि दिइनेछ। लामो अवधिमा इन्जिनियरिङ, नर्सिङ, होटल व्यवस्थापन, कम्प्युटर, कृषि, सूचना तथा प्राविधिक शिक्षामा स्नातकसम्मको तालिम दिने व्यवस्था गरिएको छ।

परियोजनाको कुल बजेटमध्ये ४० प्रतिशत सुदूर तथा मध्यपश्चिम क्षेत्रमा खर्च गरिने निर्देशक पौडेलले जानकारी दिए। ‘श्रम बजार व्यवस्थित गरी दक्ष जनशक्ति उत्पादन गर्नु यसको उद्देश्य हो,’ उनले भने। विद्यार्थीहरूको मागबमोजिम विषय थप्दै लग्ने योजनाअनुसार पाठयक्रम बनाउने तयारी भइरहेको उनले बताए।

श्रम विभागका महनिर्देशक मानबहादुर विकले यसबाट वैदेशिक रोजगारमा जाने युवाहरू लाभान्वित हुने उल्लेख गरे। रोजगारमूलक तालिम लिएर गएपछि राम्रो तलबसुविधा पाउने उनको भनाइ छ। श्रम विभागका अनुसार प्रत्येक वर्ष डेढ लाख युवा वैदेशिक रोजगारमा जान्छन्। त्यसमध्ये ८० प्रतिशतले कुनै सिपमूलक तालिम लिएका हुँदैनन्। दक्षताकै कमीले नेपालबाट जाने कामदार अरू देशको भन्दा कम तलबसुविधामा काम गर्न बाध्य छन्।

आन्तरिक बजारको दक्ष जनशक्ति अभावलाई पनि आयोजनाले केही हदसम्म भरथेग गर्ने अपेक्षा गरिएको छ। ‘आन्तरिक बजारमै पनि दक्ष कामदार अभाव छ,’ विकले भने, ‘थुप्रै सिलाइ कारखाना बन्द भएका छन्।’
सिटिइभिटीका निर्देशक राजेन्द्र कार्कीले ८० प्रतिशत युवाको माध्यमिक शिक्षामा पहुँच नभएकाले यस्तो दीर्घकालिन परियोजनाले दक्ष जनशक्ति उत्पादन गर्न सघाउ पुर्‍याउने बताए।

 

मुसहर पुरुष नियोजन गर्न मान्दैनन्

बिश्वमित्र पौडेल
चितवन, साउन ९- २० वर्षको उमेरमै मेघौली-६ दद्रेनीकी माया मुसहरका ३ सन्तान छन्। पतिले परिवार नियोजन गर्लान् भन्ने आशैआशामा तेस्रो सन्तान जन्मियो। ‘एक दिन घुम्ती शिविरमा बन्ध्याकरण गर्दै छ भन्ने थाहा पाएँ,’ उनले भनिन्, ‘फेरि बच्चा बस्ला भनेर हतारमै बन्ध्याकरण गरेँ।’

पुरुषले नमानेपछि चितवन, मेघौलीका मुसहर महिला आफैं स्थायी बन्ध्याकरण गर्न थालेका छन्। गहु्रँगो भारी भोक्नुपर्ने बहानामा पुरुषले स्थायी परिवार नियोजन गर्दैनन्।

नारायणी नदी छेउको ऐलानी जग्गामा बस्दै आएका मुसहरको गुजारा चलाउने माध्यम माछा मार्नु र ज्याला मजदुरी गर्नु हो। वर्षातको पानी नथेग्ने अस्थायी छाप्रो र हाँसका ट्युराबाहेक उनीहरुको कुनै पनि सम्पत्ति छैन।

‘हामीले गहु्रँगो काम गनुपर्छ, भारी बोक्नुपर्छ,’ राजु मुसहरले भने, ‘बुढियाहरु हलुका खेत रोपाइँ मात्र गर्छन्,त्यसैले हामीले बन्द (बन्ध्याकरण) नगरेको।’ राजुकी पत्नी २० वर्षे संगीता मुसहरले नियोजन गरिसकिन्। ‘माग्न जाँदा गाउँलेले कति आएको भनेर झर्कंन्थे,’ संगीताले भनिन्, ‘त्यही पिरले पनि बन्द गरेँ।’

दद्रेनीकै ६० वर्षे चिंगारी मुसहर पनि पुरुषले बन्ध्याकरण गर्नै नहुने दाबी गर्छन्। त्यसैले चार सन्तानकी आमा धनकुमारी आफैं अग्रसर भइन्। यहाँका मुसहर परिवारमा अधिकांश महिलाले नै बन्ध्याकरण गराएका छन्।

मुसहर समुदायमा १२ देखि १५ वर्षभित्रै विवाह गर्ने चलन छ। ‘मन परेर भागेर आएकी,’ २० की सुमित्रा मुसहरले सुर्ती मुखमा हाल्दै भनिन्, ‘यो तेस्रो बच्चा (पेटको) पाएपछि म पनि बन्द गर्छु।’ बन्ध्याकरण नगरेकी ४५ वर्षे भोकला मुसहरका ६ सन्तान छन्। उनीजस्तै सानैमा बिहे गरेका भोकलाका छोरा किरणले धेरै सन्तान भएकै कारण पढ्न पाएनन्। ‘घरमा खानेकुरा ल्याउन सानैदेखि काम गर्नुपर्‍यो, कहाँ पढ्न जानू?’ उनले सुनाए, ‘म मेरी श्रीमतीलाई बन्द गर्न लगाउँछु।’ उनीजस्तै मुसहर बस्तीका अधिकांश बालबालिकाले अझै स्कुल देखेका छैनन्।

मुसहर समुदायमा कक्षा ५ भन्दा बढी पढेका पुरुष भेटिंदैनन्। ‘बन्ध्याकरण गर्न जाऊँ भनेको भन्यै थियौं,’ बस्ती नजिकैकी महिला नेत्रकुमारी चौधरीले मुसहर टोलका ’boutमा सुनाइन्, ‘पुरुषहरु नगएपछि महिलालाई नै फकाएर पठाउँथ्यौं। ‘ मुसहर बस्तीमा खानेकुरा, सरसफाइ र सफा खानेपानीको टड्कारो अभाव छ।
‘के गर्ने हामी पनि किसान, सधैं खानेकुरा दिन सकिन्न,’ चौधरीले भनिन्, ‘महिलाले भए पनि बच्चा पाउन बन्द गरे बालबच्चाको बिचल्ली त हुँदैन।’

थारु समुदायका महिलाले आफै बन्ध्याकरण गराएका छन्। ‘अहिले चाहिँ केही सुधार भएको छ,’ आफै बन्ध्याकरण गरेका स्थानीय नारायण श्रेष्ठले भने, ‘थारु पुरुषहरु पनि बन्ध्याकरणमा अघि सर्छन्।’
थारु, कुमाल, बोटे र माझीको बाहुल्य रहेको मेघौलीमा मुसहरका ३० घर छन्।

 

परम्परागत घर बनाउनेलाई अनुदान

सरोज शर्मा

भक्तपुर, श्रावण १ – मध्यपुरथिमी नगरपालिकाले पुरानो बसोबास क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्नेलाई अनुदान दिने भएको छ । नगरपालिकाको शुक्रबार भएको १८ औं परिषद्ले नगरभित्रको पुराना संरचना जोगाउन पुरानो बस्ती -कोर क्षेत्र) मा घर बनाउनेलाई अनुदानको व्यवस्था गर्न लागेको हो ।

नक्सा पास गर्दा लाग्ने रकम सहुलियतको रूपमा अनुदानको रूपमा दिन लागेको नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले बताए । ‘पुरानो बस्तीभित्रको घर भत्काएर त्यही ठाउँमा बनाउन खोज्नेलाई नक्सा पास गर्दा लिने रकम अनुदानको रूपमा दिन लागेको हो,’ उनले भने, ‘विगतको परिषद्मा पनि यस्तो ल्याए पनि यस वर्षबाट लागू गर्न लागेको हो ।’

सहुलियत दिँदा घर बनाउनेलाई पनि प्रोत्साहन हुने र परम्परागत घरको संख्या पनि थपिन सक्ने उनले बताए । सहरी अवधारणाअनुरूप नगरको बस्ती विकासका लागि आवश्यक नीति बनाई कार्यान्वयन गर्ने भएको छ ।

नगरपालिकाको विकासका लागि करिडोर चक्रपथ निर्माणका यसै वर्षदेखि पहल गर्ने कार्यक्रम रहेको कार्यकारी अधिकृत रामकृष्ण उप्रेतीले बताए । ‘नगरको चारैतिर सिमाना खोला रहेकोले त्यसको किनारमा सडक बनाएर चक्रपथको रूपमा विकास गर्न लागेको हो,’ उनले भने ।

नगरपालिकाबाट सञ्चालित कोरिया-नेपाल मैत्री अस्पताललाई व्यवस्थित गर्न विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिने र थप स्रोतका लागि स्थानीय विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने भएको छ । त्यस्तै अस्पतालको क्षमता विकासका लागि नर्सिङ कलेज खोल्ने प्रक्रिया सुरु गर्ने भएको छ । नगरलाई सांस्कृतिक पर्यटकीय नगरको रूपमा विकास गर्ने नगरपालिकाले उद्देश्य लिएको उनले बताए ।

नापी कार्यलाई व्यवस्थित गरी नगरवासीलाई सरलरूपमा धनीपुर्जा वितरण गर्ने, धनीपुर्जा लिन छुट भएको हकमा पुनः धनीपुर्जा वितरणको व्यवस्थाका लागि सरकारसँग माग गर्ने नीति बनाएको छ ।

त्यस्तै, नगरपालिकाको आन्तरिक स्रोत वृद्धिका लागि राजस्व असुलीका लागि गस्ती परिचालन गर्ने, सार्वजनिक जग्गा, बाटो, भौतिक संरचनाको संरक्षणका लागि नीति ल्याउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०६८/०६९ का लागि १६ करोड २५ लाख ४१ हजारको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

यो बजेट आर्थिक वर्ष २०६७/०६८ को तुलनामा २२ दशमलव ७४ प्रतिशतले बढी रहेको उप्रेतीले बताए । नगरपालिकाले प्रस्तावित आयतर्फ आन्तरिक स्रोतबाट पाँच करोड २५ लाख ४१ हजार, बाह्य स्रोतबाट नौ करोड रुपैयाँ र मौज्दात दुई करोडको बजेट रहेको छ ।