RSS

जेष्ठ १४ मा संविधान जारी नभए जनविद्रोह गर्ने तयारी स्वरुप नुवाकोटमा ३ दिने वाईसिएल तालिम

17 अप्रिल

उत्तम घिमिरे ,नुवाकोट, ४ बैशाख
आगामी जेष्ठ १४ गते संविधान जारी नभए जनविद्रोह गर्ने भन्दै आएको एकिकृत नेकपा माओवादीले जनविद्रोहको तयारी स्वरुप नुवाकोटमा वाईसिएल तालिम गरेको छ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी .(माओवादी) नुवाकोटले ताम्सालिङ्ग जागरण अभियान अन्तर्गत चार छुट्टाछुट्टै स्थानमा सो तालीम सञ्चालन गरेको थियो । ३ दिन सम्म चलेको योङ कम्युनिष्ट लिगको प्रशिक्षण आज सम्पन्न भएको छ ।
नुवाकोटको निर्वाचन क्षेत्र नं २ अन्तर्गतका बिभिन्न चार स्थानमा भएको उक्त कार्यक्रममा बेैचारिक, राजनैतिक तथा शारीरिक प्रशिक्षण भएको ईञ्चार्ज सुवास तामाङ्गले जानकारी दिनुभएको छ । कम्तीमा दुई गाबिसका युवाहरुलाई केन्द्रीत गरी सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा सयौंको संख्यामा युवाहरु सहभागी भएको एकीकृत माओवादी नुवाकोटले जनाएको छ । सो प्रशिक्षण कार्यक्रम यसै साताबाट शुरु भएको थियो । एकीकृत माओवादीका जिल्ला सेक्रेटरी अरुणले जिल्लाका विभिन्न स्थानमा प्रशिक्षण भैरहेको जानकारी दिदै शान्ति र संविधानका पक्षमा जनतालाई जागरुक गर्न कार्यक्रम सञ्चालन गरिएको जनाउनु भएको छ । देशी बिदेशी षडयन्त्र तिब्र गतिले बढिरहेको बताउदै वहाँले जनबिद्रोहको लागि तयार रहन समेत प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यस अघि नुवाकोट ३ नं. कमाण्डका विभिन्न ६ स्थानमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भै सकेको बताईएको छ । उक्त क्षेत्रमा पनि हजारौ युवाहरुले राजनैतिक,बैचारिक तथा शारीरिक प्रशिक्षण लिएको बताईएको छ ।
यसैक्रममा नुवाकोट क्षेत्र नं १ विभिन्न स्थानमा समेत प्रशिक्षण सञ्चालन हुने बताईएको छ । प्रशिक्षणमा बिदुर नगरपालिका सहित १८ वटै गा.बि.स.का युवाहरु सहभागी हुनेछन् । देशमा यथास्थितिवादी शक्तिहरुले संविधान बनाउन नचाहेको भन्दै माओवादीले संविधान नबने जनबिद्रोहका गर्ने तयारी स्वरुप प्रशिक्षण सञ्चालन गरेको बताएको छ । प्रशिक्षण पश्चात माओवादीले ताजा अभियान सफल बनाउनका लागि घरदेैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत १ नं. निर्वाचन क्षेत्रको दुईपिपल, कुमरी ओखरपौवा, भद्रुटार, सिक्रे, महाकालीमा अभियान चलिरहेको सभाासद् बिमला सुवेदीले बताउनुभयो । नुवाकोट १ नं निर्वाचन क्षेत्रमा अभियान चलिरहेको, २ निर्वाचन क्षेत्रमा आईतवारबाट तथा ३ नं. निर्वाचन क्षेत्रमा छिट्टै अभियान सञ्चालन हुने माओवादीले जनाएको छ ।

 
 

टिप्पणी छोड्नुहोस्